कर्णालीमा फेरि दोहोरिन सक्छ …त्यो जाजरकोट घटना, समयमै सचेत हुनुपर्ने

 1193 पटक हेरिएको

♦  जाजरकोटको बारेकोट गाउँपालिका–४ की प्रेमकला रावत २०६६ सालको झाडापखालामा आमा गुमाउँदा ५ बर्षको मात्र हुनुहन्थ्यो । झाडापखालाले ३५ वर्षीया आमा मैनकली रावतलाई गुमाउनु भएकी प्रेमकला झाडापखाला भने पछि निक्कै सचेत बन्नुभएको छ । आफ्नो २ वर्षीय छोराले पातलो दिसा गरेपछि उपचारका लागि घर नजिकैको स्वास्थ्य चौकीमा पुग्नुभएकी प्रेमकला भन्नुहुन्छ ‘पखाला लागेर आमा गुमाए पछि बालबच्चालाई झाडापखालाको लक्षण देखा पर्ने वित्तिकै आतिन्छु ।’ तर दुषित पानीकै कारण झाडापखाला लाग्ने भए पनि बारेकोट गाउँपालिकाका अधिकांश बासिन्दा खोलाकै पानी पिउन बाध्य छन् । जाजरकोटमा २०६६ सालमा फैलिएको झाडापखालाले ३ सय ५० जनाको ज्यान लिएको थियो ।

♦ जाजरकोट मजकोटकी सरिता कार्कीले पनि त्यही सालको झाडापखालामा आमा गुमाउनुभयो । झाडापखालाका बेला अति सामान्य स्वास्थ्य समस्यामा उपचारै नपाएर आमाको ज्यान गएको कुरा उहाँले पछि मात्र थाहा पाउनुभयो । सदरमुकाम खलंगाबाट दुई दिन पैदल हिँडेपछि पुगिने मजकोटमा ०६६ सालमा फैलिएको झाडापखालाको महामारीमा ४६ बर्षीया आमा गुमाउँदाको पीडा सरितामा नराम्ररी बिझायो । त्यसपछि उहाँले आफ्नो वरपर अब कसैलाई यस्तो पीडाको आहालमा डुब्न दिइने छैन भनेर प्रण त गर्नुभयो । तर झाडापखालाको महामारी फैलिएको १३ बर्ष भईसक्दा पनि झाडापखालाको श्रृङ्खला रोकिएको छैन ।

♦  खलंगाबाट करिब ६ घन्टा पैदल यात्रापछि पुगिने पुन्माका बासिन्दा हुनुहुन्छ, जयबहादुर बिसी । त्यो महामारीमा ३५ बर्षीया जेठी सासू जयसरा बुढामगरलाई बचाउन नसके पनि उहाँले ५५ वर्षीया आमा महेसरा रोकायालाई भने समयमै उपचार गराएर बचाउन सफल हुनुभयो । आफ्नै आँखा अगाडि जेठीसासूको मृत्यु देख्नुभएका बिसी त्यसपछिका दिनमा सरसफाइमा केही परिवर्तन आए पनि खानेपानीको अवस्थामा सुधार आउन नसकेको बताउनुहुन्छ ।

जाजरकोटमा २०६६ जेठमा फैलिएको झाडापखालाबाट पाठ सिकेर सरकारले त्यसको २ बर्षपछि ‘सरसफाइ गुरुयोजना’ ल्यायो । सरसफाइ र शुद्ध खानेपानीको अभावमा फैलिन सक्ने झाडापखाला लगायत पानीजन्य रोगको रोकथामकै लागि सरकारले ‘सरसफाइ गुरुयोजना २०६८’ जारी गरेको थियो ।

जाजरकोटमा फैलिएको झाडापखालाको महामारीको जगमा सरसफाइ गुरुयोजना निर्माण भएको र सरसफाइ गुरुयोजनाकै मार्गदर्शनमा देश खुला दिसामुक्त घोषणा हुँदा पनि झाडापखालाजन्य महामारीको जोखिम अझै कायमै रहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुर्खेतका आयोजना प्रमुख ई.देवेन्द्र झाले बताउनुभयो ।

अझै पनि खोलाकै पानी पिउनुपर्ने बाध्यता रहेको र ती खानेपानी शुद्धिकरण नगरी पिउँदा झाडापखाला फैलिने जोखिम कायमै रहेको आयोजना प्रमुख झाले बताउनुभयो । उहाँका अनुसार उपभोक्ता समितिले वितरण गरेको पानीको गुणस्तर परिक्षण गरी गुणस्तर सुनिश्चित गरेको पनि पाईदैन । ‘धेरैजसोले आफूखुसी जहाँ मूल छ, त्यहीको पानी पिउन बाध्य छन्, बर्षायाममा जताततै पलाएको पानीको स्रोतमा समेत भर पर्नुपर्दा १३ बर्ष पहिलेको झाडापखालाको महामारी नदोहोरिएला भन्न सकिन्न?’ उहाँले भन्नुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुर्खेतले आयोजना क्षेत्रमा सञ्चालित खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरुलाई खानेपानी योजना सञ्चालन, गुणस्तर परिक्षण र सरसफाइ सम्बन्धी तालिम तथा गोष्ठीहरु आयोजना गरिएको आयोजना कार्यालयका लेखा प्रमुख एवं सिए वसन्त श्रेष्ठले बताउनुभयो । यसबाट सुरक्षित खानेपानीको महत्व दर्शाई सुरक्षित खानेपानी वितरणका लागि खानेपानी उपभोक्ता समितिहरुलाई जिम्मेवार बनाएको उहाँले बताउनुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुर्खेतले कर्णाली प्रदेशका जिल्लाहरु जाजरकोट, सुर्खेत, दैलेख, डोल्पा, सल्यान र रुकुम पश्चिममा संघीय स्तरका खानेपानी तथा सरसफाइ आयोजनाहरु निर्माण गरिरहेको छ ।

 

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुर्खेतले जाजरकोटमा मात्र संघीय स्तरका करिब १५ वटा खानेपानी आयोजना सञ्चालन गरिरहेको छ । जाजरकोटमा सहलगानी खानेपानी आयोजना सम्पन्न भईसकेको छ भने केन्द्रिय खानेपानी आयोजनाका ३ वटा र खानेपानी सेवा विस्तार तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत करिब १० वटा खानेपानी आयोजना निर्माणाधीन अवस्थामा छन् ।

पानी परीक्षण प्रयोगशाला स्थापना कुरा मात्रै

प्रदेश सरकारले गत वर्ष खानेपानी तथा सरसफाइ शीर्षकमा १ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेको थियो । उक्त बजेट मध्येबाट प्रदेश सरकारको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले कर्णालीका १० वटै जिल्लामा पानी परीक्षण प्रयोगशाला स्थापना गर्ने योजना बनाएको थियो ।

तर पानी परीक्षण प्रयोगशाला अहिलेसम्म पनि स्थापना हुन सकेको छैन । पानी परीक्षण गर्ने प्राविधिक कर्मचारीको अभाव देखाउँदै बजेट खर्च गर्न नसकेको मन्त्रालयका सूचना अधिकारी प्रेमबहादुर ओलीले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म कर्णालीका बासिन्दाले कति गुणस्तरयुक्त पानी प्रयोग गर्छन् भन्ने तथ्यांक समेत निकाल्न सकेको छैन ।

दैलेखको नारायण नगरपालिका–४ सिलाडीकी ४५ वर्षीया मैसरा विकले आधा उमेर खोलाको पानी बोक्नमै गएको बताउनुभयो । उहाँ दुई घण्टाको बाटो हिँडेर पानी लिन जानुहुन्छ बाह्रैमास खानेपानीको हाहाकारले गर्दा बालबच्चाले सरसफाइ समेत गर्न नपाएको उहाँले बताउनुभयो । ‘स्वच्छ पानी खान पाउने हाम्रो सपना अझै साकार भएको छैन।’ उहाँले भन्नुभयो । भैरवी गाउँपालिका–१ रावतकोटमा पनि पानीको समस्या उस्तै छ । जहाँका झन्डै ३ हजार बासिन्दा घैंटोमा जम्मा गरेको पानी पिउन बाध्य छन् ।

झाडापखालाले बर्षेनी लाखौं बिरामी

♦ प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हुम्लामा २०७५ मा झाडापखाला लागेर मात्र ६ हजार ८ सय १३ जना विरामी भर्ना भए । अस्पताल पुगेका ७५ हजार १ सय ८० जना मध्ये झाडापखालाका मात्र ९.१ प्रतिशत बिरामी थिए । यसको प्रमुख कारण थियो दूषित पानी र खाद्यान्न अभाव ।

♦ ०७६/७७ मा ६ हजार १ सय २३ जना बिरामीहरूमध्ये ८ प्रतिशत, ०७७/०७८ मा ५ हजार ७ सय ५६ मध्ये ६.८ प्रतिशत र ०७८/०७९ मा अस्पताल पुगेकामध्ये ६.४ प्रतिशत अर्थात २ हजार ९ सय ९७ जना झाडापखालाका कारण अस्पताल भर्ना भएका थिए ।

♦ यस्तै कर्णालीका विभिन्न अस्पतालमा २०७५/७६ मा १६ लाख २७ हजार ७ सय ७८ जना अस्पताल पुगेकामध्ये ६.३ प्रतिशत अर्थात १ लाख २ हजार ३ सय ३८ जना बिरामी झाडापखालाका थिए ।

♦ ०७६/७७ मा १८ लाख १० हजार ५ सय ९६ जना अस्पतालमा भर्ना भएका मध्ये १ लाख १ हजार ६ सय ४१ जना दुषित पानी र खाद्यान्नका कारण बिरामी भएका थिए ।

कर्णाली प्रदेशमा बर्षेनी झाडापखाला लागेर अस्पताल भर्ना हुने बिरामीको आँकडाले पनि देखाउँछ कि कर्णालीमा सुरक्षित पानीको प्रबन्ध छैन र बर्षेनी झाडापखालाको महामारी फैलिरहन्छ । नेपाल नगरपालिका संघले सन् २०१९ मा गरेको एक सर्वेक्षणले पनि कर्णाली प्रदेशका ९६.५ प्रतिशत नागरिकले दूषित पानी पिउने गरेको देखाएको छ । भौगोलिक विकटता र पानी शुद्धिकरण गर्ने घरेलु प्रविधिबारे पर्याप्त सचेतनाको अभावमा स्वच्छ खानेपानीबाट वञ्चित भएको उक्त सर्वेक्षणमा उल्लेख छ ।

कर्णाली प्रदेशका सबैजसो जिल्लामा पानीका कारण लाग्ने रोगका बिरामीको संख्या बढ्दै गएको कर्णाली प्रदेश अस्पतालका डा. नवराज केसीले बताउनुभयो । ‘चैतदेखि भदौको अन्तिमसम्म पानीकै कारण झाडापखाला, लुतो, आउँ र टाइफाइडजस्ता बिरामीले अस्पताल भरिने गरेको उहाँले बताउनुभयो । सुरक्षित खानेपानीको अभाव हुनु, खोलाको पानी शुद्धिकरण नगरी पिउन बाध्य हुनु र कतै कतै कुवामा जमेको पानी पिउँदा समेत पानीजन्य रोगका बिरामी बढेको उहाँको भनाइ छ । त्यसमा मृत्यु हुनेको संख्या पनि बढिरहेको उहाँले बताउनुभयो ।

कर्णाली प्रदेश अस्पतालका अर्का डाक्टर केएन पौडेलले दुर्गममा आपतकालीन उपचार नपाएर ज्यान जानेहरू मध्ये झाडापखाला प्रमुख कारण भएको बताउनुभयो । झाडापखालाका विरामी अन्तिम अवस्थामा मात्र अस्पताल ल्याईपु¥याउने र त्यो बेला हाइ डोजको औषधि लगाउनुको विकल्प नरहेको बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार