पाँच बर्षमा पाँच हजार घरमा ‘एक घर एक धारा’

फाइल फोटो

म्याग्दी : म्याग्दीमा चारवर्षको अवधिमा पाँच हजार भन्दा बढी घुरधुरीमा खानेपानीको सुविधा पुर्‍याईएको छ । गण्डकी प्रदेश सरकारले प्रदेशको प्रत्येक घरमा खानेपानीको धारा पुर्‍याउन चार वर्ष अगाडि सुरु गरेको ‘एक घर एक धारा’ कार्यक्रम अन्तर्गत प्रदेश सरकारको बजेटमा खानेपानी,जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय म्याग्दीले यो अवधिमा पाँच हजार एक सय ३७ घरधुरीमा खानेपानीका धारा जडान गरेको हो ।

गण्डकी प्रदेश सरकारले प्रदेशवासीलाई सफा र स्वच्छ खानेपानीको सुविधा विस्तारका लागि २०७५ देखि ‘एक घर एक धारा’ कार्यक्रम अघि सारेको थियो । चारवर्षको अवधिमा साना ठूला गरि १४ वटा योजना मार्फत उक्त घरधुरीहरुमा खानेपानीको लागि निजी धारा जडान गरिएको खानेपानी,जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । प्रत्येक घरधुरीमा मिटर सहितको धारा जडान गरिएको उहाँले बताउनुभयो । खानेपानी योजनालाई दिगो र भरपर्दो बनाउनुका साथै जिल्लावासीलाई सफा खानेपानी उपलब्ध गराउन एक घर एक धारा जडान कार्यक्रम प्रभावकारी भएको उहाँले बताउनुभयो ।

यो अवधिमा प्रदेश सरकारले लिएको लक्ष्य पुरा भएको छ उहाँले भन्नुभयो ‘धेरै योजना निर्माणधिन अवस्थामा छन्, योजना सम्पन्न भएपछि यो संख्या अझै बढ्छ ।’ प्रदेश सरकारले चालु आर्थिक वर्षमा पनि कार्यक्रमलाई निरन्तरता दिएर बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।

प्रदेश सरकारको बजेटबाट यसअघि निर्माण सम्पन्न भएका योजनाहरुमा थावन खानेपानी योजना अन्नपूर्ण गाउँपालिका ८, बेगखोला खानेपानी योजना रघुगंगा १, बेनी नगरपालिका ९ स्थित गलेश्वर पम्पीङ खानेपानी योजना, निलदह खानेपानी योजना र वडा नम्बर ४ मा सिंगा खानेपानी योजना सम्पन्न भई घरघरमा धारा निर्माण भएका छन् । यस्तै अन्नपूर्ण गाउँपालिका ६ मा घारा खानेपानी योजना सम्पन्न भएको छ ।

मंगला गाउँपालिका २ मा हिदी खानेपानी योजना,१ म कुहुँ खानेपानी योजना र मालिका गाउँपालिकाको २ रुममा सेतखोला खानेपानी योजना सम्पन्न भएर घरघरमा धारा निर्माण भएको कार्यालय इन्जिनियर राजेश उलकले बताउनुभयो ।

यसैगरी आर्थिक वर्ष २०७८/७९ मा चारवटा खानेपानीका योजना सम्पन्न भई एक हजार तिनसय ४७ घरधुरीमा खानेपानीको सुविधा पुगेको कार्यालयका इन्जिनियर उलकले जानकारी दिनुभयो । उहाँले दिएको जानकारी अनुसार बेनी नगरपालिका २ मा ज्यामरुककोट अर्जम रत्नेचौर खानेपानी योजना र मालिका गाउँपालिका ५ मा देविस्थान खानेपानी योजनाको एउटा स्किम सम्पन्न भएको छ । यसैगरी मंगला गाउँपालिका १ मा भर्जुला सल्यान खानेपानी योजना र अन्नपूर्ण गाउँपालिका ६ घारामा न्यापाने खोनेपानी योजना सम्पन्न भएको छ ।

जिल्लामा संघीय सरकारबाट प्रदेशमा हस्तान्तरण भएका १० वटा योजना र प्रदेश सरकारका २२ योजना गरी ३२ वटा खानेपानीका योजना सञ्चालित छन् । संघीय सरकारबाट हस्तान्तरण भएका दुईवटा योजना सम्पन्न भइसकेका छन् भने ८ वटा योजना निर्माणधिन अवस्थामा छन् । प्रदेश सरकारका १८ वटा योजना हाल निर्माणधिन अवस्थामा रहेको कार्यालयले जनाएको छ ।

चारवर्षको अवधिमा प्रदेश सरकारले अघि सारेको ‘एक घर एक धारा’ कार्यक्रम लक्ष्य अनुसार सफल भएको कार्यालयका प्रमुख पौडेलले बताउनुभयो । भौगोलिक कठिनाई र दक्ष जनशक्तिको अभाव योजना कार्यान्वनयका चुनौतीका रुपमा लिएको उहाँले बताउनुभयो । कार्यालयको तथ्याङ्क अनुसार ९६ प्रतिशत घरधुरीमा आधारभूत खानेपानीको सुविधा पुगेको छ । गोरखापत्र अनलाइनबाट साभार गरिएको ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार