भीरबाट खसेको ढुंगाले ट्यांकी भत्काएपछि २ सय घरमा पानी आपूर्ति बन्द

रुकुम पूर्व : भीरबाट खसेको ढुंगाले खानेपानीको ट्यांकी भत्किएपछि २ सय ५ घरको खानेपानी आपूर्ति पूर्ण रुपमा बन्द भएको छ । पहाड टुक्रिएर खसेको ढुंगाले ट्याङ्की पूर्ण रुपमा भत्किएपछि रुकुम पूर्वको सिस्ने गाउँपालिका – ३ का २ सय ५ घरको खानेपानी सेवा बन्द भएको हो ।

पहाड टुक्रिएर झरेको ठूलो ढुंगाले गाउँमा आउने खानेपानीको मुख्य ट्यांकीमा लागेपछि पूर्णरुपमा भत्किएको हो । बुधबार दिउँसो गाउँभन्दा माथिबाट बडेमानको ढुंगा झरेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष डीलबहादुर केसीले बताउनुभयो । एक घर एक धारा अन्तर्गतको आयोजनाको खानेपानी ट्यांकी भत्किएपछि स्थानीय समस्यामा परेको वडाध्यक्ष हेराम खड्काले बताउनुभयो ।

तत्काल पानी आपूर्तिको पहल भइरहेको भए पनि माथिबाट आएको ढुंगा स्वास्थ्यचौकी नजिकै परेको छ । केही दिनअघि माथिबाटै आएको ढुंगाले वडा कार्यालयमा क्षति पुगेको छ । पटकपटक ढुंगा झर्न थालेपछि स्थानीय त्रसित हुनु परेको स्थानीय युवा लोकेन्द्र खड्काले बताउनुभयो ।

स्थलगत अनुगमनपछि पालिका अध्यक्ष कृष्ण रेग्मीले खानेपानी आपूर्तिका लागि दिगो समाधानको पहल गर्ने बचन व्यक्त गर्नुभएको छ । पटकपटक ढुंगा झरिरहने समस्या समाधानका लागि गर्न सकिने कार्यक्रम र योजनाका विषयमा समेत छलफल गरिने अध्यक्ष रेग्मीले बताउनुभयो ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार