भेरी पम्पिङ खानेपानी आयोजनाको डीपीआर पुनरावलोकन गरिने

  वास खवर सम्वाददाता  951 पटक हेरिएको

काठमाडौ : भेरी पम्पिङ खानेपानी आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पुनरावलोकन गरिने भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागले ठूलो लगानीको आयोजना भएकाले यसको डीपीआर पुनरवलोकनका लागि विज्ञहरूसँग परामर्श गर्न लागेको हो।

दुई चरणमा गरी रु ६ अर्ब लागतमा सम्पन्न हुने यस आयोजनाको डीपीआर तयार भइसकेको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागले अहिले उक्त डीपीआरको ‘रिभ्यू’ गर्न समय थप गरेको हो । आयोजनाको डीपीआर पुनरावलोकनका लागि दुई–तीन महिना समय लाग्ने विभागका सिनियर डिभिजनल इञ्जिनियर (सीडीई) मधु खनालले जानकारी दिनुभयो ।

यसको कुनै डिजाइन बीचमै फेल भए ठूलो नोक्सानी बेहोर्नु पर्ने भन्दै निर्माणपूर्व नै हामीले पर्याप्त रिभ्यू गर्न आवश्यक भएकाले पुनरावलोकन गर्न लागेको खनालले बताए। आयोजना कार्यान्वयनको प्रारम्भमा भेरी नदी किनारमा इन्टेक निर्माण गर्न बोलपत्र आह्वान गरिनेछ ।

खानेपानी मन्त्रालयले विश्व बैंकको ऋण सहयोगमा आव २०७९र८० देखि संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा १०० मिलियन अमेरिकी डलर लागतमा ‘खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना’ सञ्चालन गर्दै छ । उक्त आयोजना अन्तर्गत कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आगामी ३० वर्षसम्म बढ्न सक्ने जनसंख्यालाई ध्यानमा राखेर भेरी पम्पिङ खानेपानी आयोजना निर्माण गर्न लागिएको हो ।

कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले ‘म्युचुअल फण्ड’ स्थापना गर्न बजेट विनियोजन गरिसकेका छन् । प्रदेश सरकारले चालू आवमा रू ५ करोड छुट्ट्याएको छ भने नगरपालिकाले पहुँचमार्ग निर्माण लगायत आवश्यक पूर्वाधारका कार्यका लागि रू ५० लाख विनियोजन गरेको छ । आयोजना कार्यान्वयनका सम्बन्धमा गत फागुनमै तीन ओटै तहका सरकारका प्रतिनिधिबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भइसकेको थियो ।

खानेपानी मन्त्रालयले ‘खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना’सुर्खेतको बीरेन्द्रनगर नगरपालिका सँगै सल्यानको शारदा नगरपालिका, डोटीको दिपायल सिलगढी नगरपालिका, कैलालीका बर्दगोरिया, जोशीपुर र जानकी गाउँपालिकामा यो आयोजना सञ्चालन गर्दैछ । आयोजनाका लागि संघीय सरकारले ८० प्रतिशत र प्रदेश सरकार तथा सम्बन्धित स्थानीय तहले २० प्रतिशत रकम जुटाउनुपर्नेछ ।

आयोजनाले दिगो तथा सुधारिएको खानेपानी आपूर्ति र सरसफाइ सेवा उपलब्ध गराउनुका साथै सेवा प्रवाहको स्थानीय क्षमतामा अभिवृद्धि गर्ने लक्ष्य लिएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार