काठमाडौ : काठमाडौ महानगरपालिकाको वडा नं. ३२ नरेफाँटमा पानी पँधेरो सञ्चालनमा आएको छ । पानी पँधेरो सञ्चालनको स्वमित्व कोटदेवी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई दिईएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरको ९० प्रतिशत अनुदान र स्थानीय बासिन्दाको १० प्रतिशत गरी ४७ लाख १४ हजार ६७१ रुपैयाँ ६९ पैसाको लागतमा निर्मित पानी पँधेरोको सोमबार बाग्मती प्रदेशका सभामुख सानु कुमार श्रेष्ठले उदघाटन गर्नभयो ।

नरेफाँटमा सञ्चालन भएको पानी पँधेरो सहित काठमाडौ उपत्यकामा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरले निर्माण गरेको पँधेरोको संख्या ६ पुगेको छ ।
पानी पँधेरोबाट १० रुपैयाँमै अन्तर्राष्ट्रिय गुणस्तरको पानी उपभोग गर्न पाए पछि पानी पँधेरोको माग सबैतिर बाट आएको सभामुख श्रेष्ठले बताउनुभयो । पानीको अभाव रहेको काठमाडौमा पानी पँधेरोले केही हदसम्म भएपनि पानीको माग आपूर्ति गर्न सफल भएको उहाँको भनाइ थियो । काठमाडौका थप स्थानहरुमा समेत जग्गा प्राप्ति एवं बजेट व्यवस्थापन गरी चालु आर्थिक बर्षभित्रै निर्माण गर्न डिभिजन कार्यालयसँग छलफल भईरहेको सभामुख श्रेष्ठले बताउनुभयो ।

डिभिजन कार्यालयले लुसेन ड्रप नेपालको प्राविधिक सहयोगमा पानी पँधेरो निर्माण गरेको हो । सुरुमा पानी बोरिङ गरेपछि अन्तर्राष्ट्रिय प्रविधिमा आधारित विभिन्न चरणको प्रशोधन संयन्त्रबाट प्रशोधन भएपछि सुरक्षित पानी मात्र वितरण हुने भएकाले पानी पँधेरोको पानी बोतलमा विक्री गरिने पानी भन्दा पनि बढी सुरक्षित रहेको मानिन्छ ।
पानी पँधेरोको उदघाटन कार्यक्रममा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरका प्रमुख अनिल केसरीले खानेपानीको गुणस्तरको सवालमा कुनै शंका नगर्न आग्रह गर्नुभयो । उहाँले आफूले ल्याएको जारको सफाइ, हातको स्वच्छता र पानी खन्याउने तथा पिउने भाँडा पनि सफा र सुरक्षित भए पानी पँधेरोको पानी पूर्ण सुरक्षित रहेको बताउनुभयो । डिभिजन प्रमुख केसरीले जमिन मुनिको पानी पुनर्भरण गर्न आग्रह गर्दै आकाशेपानीलाई पुर्नभरण नगर्दा बर्षातमा बाढीको प्रक्रोप झेल्नु परेको बताउनुभयो ।

पानी पँधेरोमा सिक्का र कार्डको प्रयोग गरी स्वचालित तरिकाले पानी भर्न सकिन्छ भने हातकै सहायताले पनि खोल्न बन्द गर्न सकिने विकल्प राखिएको छ । उपभोक्ता समितिले प्रत्येक जारबाट १० रुपैयाँ शुल्क लिनुपर्ने र उक्त रकमबाट कार्यालय सञ्चालन, मर्मत सम्भार एवं पानी शुद्धिकरणका लागि निश्चित समयमा फेर्नुपर्ने मेडियाहरु फेर्न लाग्ने खर्च व्यहोर्नुपर्ने डिभिजन प्रमुख केसरीले बताउनुभयो ।
उदघाटन कार्यक्रम कोटदेवी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष बलभद्र राउतको अध्यक्षतामा सम्पन्न भएको थियो ।



फोटोहरु : ई. कुल प्रसाद शर्मा


693 पटक हेरिएको 

