
जुम्ला : जुम्लामा खानेपानी, सिँचाइ, नदी नियन्त्रण र ऊर्जा विकासका १ सय ८१ योजना निर्माण सम्पन्न भएका छन् । खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय जुम्लाले गत आर्थिक बर्ष २०७८/०७९ मा १ सय ८१ वटा योजना निर्माण सम्पन्न गरेको जनाएको हो ।
जिल्लाभर सञ्चालित कुल २ सय २३ वटा योजना मध्ये आर्थिक बर्ष २०७८/०७९ मा १ सय ८१ वटा योजना निर्माण सम्पन्न भएका हुन् । जसमा समानीकरण तर्फ सिँचाइ, खानेपानी, नदी नियन्यन्त्र र ऊर्जा विकासका १ सय ९४ वटा योजना मध्ये १ सय ६० योजना लक्ष्य अनुसार काम सम्पन्न भएका छन् । त्यस्तै ससर्त सिँचाइतर्फ नौ र ससर्त खानेपानीका २० वटा मध्ये १२ वटा गरी २१ वटा योजना निर्माण सम्पन्न भएका छन् भने समानीकरण शीर्षकको नदी नियन्त्रणतर्फ ५४ वटा योजना मध्ये ४९ वटा, ऊर्जा विकासतर्फ तीन वटामध्ये १ योजना र खानेपानीतर्फ ५८ योजना मध्ये ४० वटा योजना निर्माण सम्पन्न भएको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय जुम्लाका प्रमुख अनुप श्रेष्ठले बताउनुभयो।
उहाँका अनुसार ससर्त अनुदानतर्फको सिँचाइतर्फ नौवटा योजना र खानेपानीका २० योजना मध्ये १२ वटा योजना निर्माण भएका छन् । जिल्लाका आठवटै पालिकाका दुर्गम बस्तीमा आवश्यकतामा आधारित छनोट भएका योजनाको कार्यान्वयन गरिएको प्रमुख श्रेष्ठको भनाइ छ ।
कार्यालयको प्रगति विवरणअनुसार गत आवमा जुम्लाको ३ सय ५२ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउन १४ किलोमिटर पक्की नहर निर्माण गरिएको छ । १४ किलोमिटर पक्की नहर निर्माणले सिँचाइ पहुँच वृद्धिसँंगै उत्पादन बढ्ने र किसानलाई राहत पुग्ने अपेक्षा गरिएको छ
त्यस्तै ४ सय ८ घनमिटरका २५ वटा पानी ट्यांकी, ६ सय ६५ घनमिटरका ६ वटा आरसीसी पानी ट्यांकी निर्माण गरिएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो।
“गत आवका जम्मा १९४ वटा योजना मध्ये १ सय ६० वटा लक्ष्यअनुसार निर्माण सकिएका छन् । हिउँदमा काम नहुनु, उपभोक्ताले ढिलासुस्ती गर्नु, अख्तियारी समयमै नआउनु जस्ता समस्याले पूर्णयोजना कार्यान्वयनमा चुनौती देखिएको हो । यद्यपि भौतिक प्रगति ८० प्रतिशतभन्दा बढी हासिल गरेका छौं ।”उहाँले भन्नुभयो ।
वित्तिय प्रगति ८१ प्रतिशत
खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय जुम्लाले गत आर्थिक बर्षमा ८१.८४ प्रतिशत वित्तिय प्रगति हासिल गरेको छ । न्यून जनशक्ति, भौगोलिक विकटता, मौसम प्रतिकूलता, उपभोक्ताको ढिलासुस्तीका बीच पनि कार्यालयले वित्तीय प्रगति ८१ प्रतिशत गरेको हो ।
जसमा संघ ससर्त अनुदान खानेपानीतर्फ, संघ ससर्त सिँचाइ, समानीकरण र चालू गरी चार वटा शीर्षकमा कुल विनियोजित ३७ करोड ४३ लाख ५५ हजार बजेटमध्ये जम्मा खर्च ३० करोड ६३ लाख ५८ हजार ३ सय १७ रुपैयाँ खर्च भएको छ ।
जसमा चालूतर्फ विनियोजित ७९ लाख ९० हजारमध्ये ७२ लाख ३९ हजार ९ सय ६४ रुपैया खर्च भएको प्रगति प्रतिवेदनमा उल्लेख छ । त्यस्तै ससर्त सिँचाइतर्फ विनियोजित कुल १ करोड ५० लाख मध्य १ करोड ३६ लाख ३७ हजार, खानेपानीतर्फ विनियोजित कुल ३ करोड १४ लाख १ करोड ८२ लाख ५० हजार खर्च भएको छ ।
भने समानीकरणतर्फ विनियोजित ३१ करोड ९९ लाख ६५ हजार बजेटमध्ये असार मसान्तसम्म जम्मा २६ करोड ७३ लाख ३२ हजार ७ सय ५० रुपैयाँ खर्च भएको छ । यसरी चारवटा शीर्षकमा विनियोजित कुल ३७ करोड ४३ लाख ५५ हजार मध्य ३० करोड ६३ लाख ५८ हजार अर्थात् ८१.८४ प्रतिशत बजेट खर्च भएको कार्यालयले जनाएको खबर कारोबार दैनिकले छापेको छ ।
विभिन्न चुनौतीका बीच पनि कार्यालयको बजेट खर्च सन्तोषजनक देखिएको छ । पुँजीगत बजेट खर्चलाई प्रभावकारी बनाउन चालू आवमा जशक्ति परिचालनदेखि समयमै योजना सम्झौता, अनुगमन निरिक्षणको कामलाई प्राथमिकता दिइने प्रमुख अनुप श्रेष्ठले जानकारी दिनुभयो।


739 पटक हेरिएको 

