लाखौंको योजना सम्पन्न भएपनि धारामा पानी नआउँदा स्थानीयका समस्या उस्तै

  रासस  725 पटक हेरिएको

बागलुङ : बागलुङ नगरपालिका–१ माझीबस्तीमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङले तीन वर्षअघि सुरु गरेको माझी बस्ती लिफ्ट योजनाको पूर्वाधार निर्माण सम्पन्न भएको एक वर्ष भयो। तर धारामा पानी आएको छैन। योजना सम्पन्न भएपनि माझी समुदायलाई पानी लिन कालीगण्डकी नै पुग्नुपर्ने बाध्यता छ।

बागलुङ नगरपालिकाको पहलमा रामरेखा स्थित कालीगण्डकी किनारामा तीन वर्षअघि मात्रै जग्गा खरिद गरेर नयाँ घर व्यवस्थापन गरिएको थियो। माझी बस्तीमा १४ नमुना घर बने पनि अन्य सेवा सुविधा पाउन सकेका छैनन्। नमुना बस्तीमा एक घर एक धारा वितरणका लागि तीन वर्षअघिदेखि सुरु भएको खानेपानी आयोजना सकिए पनि पानी भने खस्न सकेको छैन।

उपभोक्ता समिति, वडा कार्यालय र खानेपानी तथा सरसफाइ कार्यालयको समन्वय अभावमा योजना सम्पन्न भए पनि पानी आउन नसकेको हो। ‘एक घर एक धारा’ पुर्‍याउने माझी बस्ती खानेपानी आयोजना निर्माण गर्दै झण्डै ३० लाख रुपैयाँ खर्च भइसकेको छ। कालीगण्डकी किनाराको खानेपानीलाई लिफ्ट मार्फत करिब ५०० मिटर माथि तानेपछि नमूनामा बस्तीमा खानेपानी वितरण गर्ने योजना अधुरै बनेको बागलुङ नगरपालिका–१ का वडाध्यक्ष जयबहादुर केसीले बताउनुभयो। उहाँले आफूहरू निर्वाचित भएर आएसँगै आयोजना अघि बढाउन काम थालेको बताउनुभयो ।

माझी बस्ती खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष कृष्ण माझीले कोरोना महामारीका कारण खानेपानी योजना समयमै नसकिएको र अहिले विद्युत् जडानको काम नहुँदा पानी आउन नसकेको बताउनुभयो। माझीले कोरोनामा आफैँ बिरामी भएर महिनौँ बस्दा आयोजनामा समय दिन नसकेको भन्दै खानेपानी कार्यालयसँग समन्वय गरेर विद्युत् जडान गरी पानी तान्नका लागि पहल गर्ने उहाँको भनाइ छ ।

उहाँले १४ घरमा धारा निर्माण, ट्याङ्की तथा वितरण पाइप लगायत भौतिक पूर्वाधारमा खानेपानी कार्यालयको ३० लाख रुपैयाँ खर्च भइसकेको जानकारी दिनुभयो । अध्यक्ष माझीले माझी बस्तीमा हिउँदमा खानेपानी अभाव भएको भन्दै हिउँदसम्म खानेपानी धारामा ल्याउने गरी सरोकारवाला निकायलाई जवाफदेही बनाउने बताउनुभयो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी तथा इन्जिनियर ईश्वरीप्रसाद शर्माले हिउँदभित्रै माझी बस्तीमा खानेपानी ल्याउने गरी कार्यालयले काम गर्ने बताउनुभयो। ‘हामीले आयोजना सम्पन्न भयो भन्ने हिसाबले अघिल्लो दुई आर्थिक वर्षअघिको योजनालाई हेर्‍यौँ, पानी खसाल्ने काम उपभोक्ता समितिको समन्वयममा हुन पर्थ्यो, अब हामी स्थलगत अनगुमन पछि आवश्यक बजेट खर्चेर पानी तान्ने उपकरण जोड्नेछौँ’, शर्माले भन्नुभयो, ‘हिउँदभित्रै माझी बस्तीमा लिफ्ट मार्फत खानेपानी पुर्‍याउँछौँ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार