
धनकुटा : पर्यटकीयस्थल भेडेटारमा लिफ्ट प्रणालीबाट खानेपानी ल्याइएको छ। प्रदेश सरकार अन्तर्गतको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धनकुटा र स्थानीयबासीको लागत सहभागितामा ३ करोड ७५ लाख रुपैयाँ खर्च गरेर लिफ्ट प्रणालीबाट खानेपानी ल्याइएको हो।
खानेपानीको खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री रामकुमार राईले हालै उद्घाटन गरेका छन् । खानेपानी आयोजनाबाट भेडेटार बजारसहित कान्फेक, कार्कीछाप, साँगुरी लगायत स्थानका तीन सयभन्दा बढी घरधुरी लाभान्वित हुनेछन्।
यसअघि भेडेटारका व्यवसायीले प्रतिलिटर दुई रुपैयाँका दरले टयाङ्करको पानी किनेर होटल चलाउनुपर्ने बाध्यता थियो। अब खानेपानी अभावबाट छुटकारा मिल्ने होटल व्यवसायीको विश्वास छ। भेडेटार तथा आसपासका स्थानमा सानाठूला गरी डेढसयभन्दा बढी होटल सञ्चालनमा छन्।
खानेपानी संकलन ट्याङ्की रहेको स्थान रमिते डाँडादेखि करिब १७ सय १० मिटर तलदेखि लिफ्ट प्रणालीबाट पानी ल्याइएको भेडेटार खानेपानी तथा सरसफाई व्यवस्थापन समितिका कोषाध्यक्ष गोविन्द थापाले बताए। उनका अनुसार सिरिसे, सौर्य, वोझेनी गरी तीन खोलामा रहेको पानीको मुहानलाई साउनेमा एकै ठाउँ संकलन गरिएको छ। संकलन गरिएको पानीलाई दुई स्थानबाट लिफ्ट गरिएको छ।
पहिलो लिफ्ट साउनेदेखि करिब ७ सय ५० मिटरको उचाइको खर्कडाँडासम्म ल्याइएको छ। त्यसपछि खर्कडाँडादेखि ९ सय ६० मिटरको उचाइमा रहेको रमितेडाँडामा ल्याइएको छ। खर्कडाँडामा एक लाख लिटर क्षमताको ट्याङ्की निर्माण गरिएको खबर अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।
त्यस्तै माथिल्लो भाग रमितेडाँडामा पनि एकरएक लाख लिटर क्षमताको दुईवटा ट्याङकी निर्माण गरिएको छ। संकलन भएको पानी सबै घरधुरीलाई पुग्ने गरी वितरण गरिनेछ। अहिले १ सय ६० घरधुरी समेटिएको छ। अब चाँडै नै नयाँ एक सय घरधुरी समेटिनेछन्।
खानेपानी आयोजना स्चालन भएसँगै पर्यटकीयस्थल भेडेटारलगायत आसपासका क्षेत्रमा विगत केही वर्ष यता देखिएको खानेपानी समस्या समाधान हुने साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए।


804 पटक हेरिएको 

