
काभ्रेपलाञ्चोक : पाँचखाल सहरी खानेपानी तथा सरसफाइ आयोजनामा पाइप अभाव भएको छ । पाइप अभावमा आयोजना निर्माणको काम निर्धारित समयमा सम्पन्न नहुने भएको उपभोत्ता समितिका अध्यक्ष कुमारप्रसाद लामिछानेले बताउनुभयो । उहाँका अनुसार आयोजना निर्माणको काम तीव्र रुपमा अघि बढे पनि सामग्री अभावका कारण समयमै आयोजना सम्पन्न नहुने भएको हो ।
निर्माण कम्पनीले खानेपानी वितरणका लागि पोलेथिन पाइप अभावको कारण देखाउँदै आएका कारण निर्धारित समयमा आयोजना सम्पन्न नहुने देखिएको छ। केही स्थानमा पाइप विछ्याउने तथा धारा वितरणका क्रममा विवाद भएको छ। वि.सं २०७६ भदौमा सम्झौता भएको आयोजना आउँदो पुस महिनामा सम्पन्न गर्नुपर्ने समय सीमा तोकिएको थियो।
परियोजनाको २०७६ भदौ १२ गते सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोत्ताबीच एक अर्ब ३४ करोड ६६ लाखमा सक्ने गरी सम्झौता भएको थियो । आयोजनाको काम नेपाली कम्पनी कन्काई विल्डर्स् र चिनियाँ कम्पनी हुवाछे (ज्वाइन्ट भेन्चर) ले गरिरहेका छन् ।
अध्यक्ष लामिछानेका अनुसार संरचना निर्माणको काम ७० प्रतिशत सम्पन्न भएको छ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरका १० वडाका सात हजारलाई खानेपानी पुर्याउने लक्ष्यका साथ हाल आयोजना कार्यान्वयनको चरणमा रहेको छ।
पाँचखाल नगरमा खानेपानी व्यवस्थापनका लागि भुम्लु गाउँपालिका–१० विमीरेस्थित सुनकोशी नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधिका साथै सडक निर्माणको काम भइसकेको छ । हाल मूल र रिजर्भ ट्याङ्कीसम्म पहुँचमार्गको काम भइरहेको अध्यक्ष लामिछानेले बताउनुभयो । उहाँका अनुसार कोरोना सङ्क्रमणका लहर तथा गत असार–साउनमा सुनकोशी नदीको बाढीले मुहान क्षेत्रका संरचनामा क्षति पुर्याएका कारण पनि आयोजनाको काममा ढिलाइ भएको हो ।
सरकारले चालू आवको बजेट वक्तव्यमा २०७९ भित्र पाँचखाल सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम सक्ने उल्लेख छ ।
यसैबीच खानेपानी विभागका महानिर्देशक रमाकान्त दुवाडीले सरकारले दिएको समय सीमाभित्रै आयोजना सम्पन्न गर्न निर्देशन दिनु भएको छ । उहाँले आयोजना अनुगमनका क्रममा निर्माण कम्पनीलाई गुणस्तरीय सामग्री प्रयोग गरी तोकिएकै समय भित्र कार्यसम्पन्न गर्न निर्देशन दिनुभयो ।


736 पटक हेरिएको 

