सौर्य उर्जाको प्रयोगले खानेपानी उत्पादन लागत घट्यो, महसुलमा पनि कटौती

झापा : झापाको गौरादह खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानीको महसुल घटाएको छ। पानी तान्नेदेखि वितरण गर्नेसम्मको काम सौर्य ऊर्जाबाट गर्न थालेको उपभोक्ता समितिले खानेपानीको उत्पादन लागत घटेकाले पानीको महसुल पनि घटाएको हो। साबिकमा न्यूनतम आठ युनिट पानीको महसुल एक सय ३० रुपैयाँ तिर्दै आएका उपभोक्ताले सौर्य ऊर्जाको उपयोगपछि अब आठ युनिट पानीको एक सय पाँच रुपैयाँ मात्र तिरे हुने भएको छ ।

सौर्य ऊर्जाबाट पम्प तथा कम्प्रेसर समेत सञ्चालन गरेर पानी वितरण गरिएको छ। विसं २०५२ मा स्थापना भएको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा दुई हजार तीन सय ५० जना सदस्य छन्। गौरादह– १ मा रहेका दुई ट्याङ्कीबाट समितिले पानी वितरण गर्दै आएको छ। साढे पाँच लाख लिटर क्षमताका दुई वटा ट्याङ्कीमा पानी भर्ने तथा धारासम्म पुर्‍याउने काममा दिनको समयमा सौर्य ऊर्जाको उपयोग हुन्छ। उक्त दुई वटा ट्याङ्कीबाट दैनिक चार लाख ५० हजार लिटर पानी उत्पादन हुँदै आएको छ।

रातमा भने विद्युत्कै प्रयोग गर्ने गरिएको छ। सौर्य ऊर्जाबाट चार्ज गर्ने ब्याट्री नराखिएको र सोझै प्रयोग गर्ने गरिएकाले रातको समयमा विद्युत्कै उपयोग हुने गरेको समितिले बताएको छ।

सामाजिक विकास कोषमा पाँच रुपैयाँ

समितिले उठाएको महसुलबाट पाँच रुपैयाँ संस्थाको सामाजिक विकास कोषमा जम्मा हुने गरेको छ। महसुल त एक सय रुपैयाँ हो, संस्थाको सामाजिक विकास कोषमा जम्मा भएको पाँच रुपैयाँबाट सामाजिक उत्तरदायित्व अन्तर्गतका काम हुने गरेको संस्थाले जनाएको छ।

सौर्य ऊर्जाको उपयोगपछि दुई हजार ४०० उपभोक्ताको महसुल बापत मासिक रु ६० हजार बचत भएको छ। समितिले विद्युत् प्राधिकरणलाई मासिक तिर्नुपर्ने महसुल पनि आधा कम भएको छ।

यस अघि मासिक एक लाख ३० हजार रुपैयाँसम्म विद्युत् महसुल समितिले तिर्ने गरेको थियो। तर सौर्य ऊर्जाको उपयोग पश्चात् ४५ प्रतिशत कम महसुल तिर्ने गरेको छ। संस्थाको तथ्याङ्कअनुसार अहिले प्रति लिटर पानी उत्पादनमा एक दशमलव १५ पैसा लाग्ने गरेको छ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार