
तनहुँ: तनहुँको व्यास नगरपालिकाले लिफ्टिङ खानेपानी र सडक बत्तीको महसुलमा ५० प्रतिशत अनुदान दिने भएको छ । व्यास नगरपालिका अन्तर्गत टोल विकास संस्थाबाट सञ्चालित लिफ्टिङ खानेपानी र सडक बत्तीको विद्युत् महसुलमा ५०/५० प्रतिशत अनुदान दिने निर्णय भएको व्यास नगरपालिकाका सूचना प्रविधिक अधिकृत विशाल पण्डितले जानकारी दिनुभयो ।
नगरपालिकाले महसुल अनुदान दिने निर्णय बारे सम्बन्धित टोल विकास संस्थालाई पत्राचार गरिसकेको छ । नगरपालिकाको मुख्य बजार क्षेत्र वडा नं १, २, ३, ४ का विद्युत् लाइन र दूरसञ्चार सेवा प्रदायक संस्थाका तार भूमिगत गर्न नेपाल विद्युत् प्राधिकरण र सम्बन्धित निकायलाई अनुरोध गर्ने समेत नगरपालिकाले निर्णय गरेको छ । आर्थिक ऐन, २०७९/०८० को व्यवस्था अनुसार भवन निर्माण कन्सल्टेन्सीमा लाग्ने दस्तुर कार्यान्वयन नगर्ने निर्णय पनि नगरपालिकाले गरेको छ ।
यस्तै नगरपालिकाभित्रका शैक्षिक बेरोजगार र वैदेशिक रोजगारबाट फर्किएका युवा व्यवसायीलाई अनुदान दिने प्रक्रिया अघि बढाइने भएको छ । व्यास नगरपालिकाभित्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गतका वडामा सुरक्षित आवास अन्तर्गत दुई सय घर थप भएकाले सो घर छनोट प्रक्रिया अघि बढाउने नगरपालिकाले जनाएको छ ।


822 पटक हेरिएको 

