
धरान : पानीको मुद्दा उठान गरेरै धरानको नगर प्रमुखमा निर्वाचित हर्क साम्पाङको नेतृत्वमा धरानमा थप पानी ल्याइएको छ । धरान उपमहानगरपालिका, वडा नं. १३ मा खर्दू र निशाने खोलाबाट ल्याइएको पानी झारेर हर्षोल्लास गरिएको हो । धरानमा पानी आपूर्ति भएसँगै स्थानीयले हर्षबढाइँ गरेका थिए ।
नगर प्रमुख साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा भिडियो पोष्ट गर्दै खर्दू र निशानेबाट पानी धरान आइपुगेको बताउनुभएको हो । “खर्दू र निशानेलाई मात्रै जोडेका छौं यहाँ । सर्दू जोड्न बाँकी छ । सर्दूसँग त झन् ठूलो आउनेछ फोहोरा”, सञ्जालमा भिडियो पोष्टसँगै उहाँले लेख्नुभएको छ ।
खानेपानीमा सुशासनको सवाल उठान गरेरै धरानमा एक दशकयता क्रियाशील साम्पाङ सोही मुद्दाकै कारण गत स्थानीय निर्वाचनमा धरानको नगर प्रमुखमा निर्वाचित हुनुभएको थियो । नगर प्रमुख निर्वाचित भएपश्चात् पनि निरन्तर जनश्रमदान गरी धरानमा पानी ल्याउनका लागि क्रियाशील हुनुहुन्छ ।

आयोजनाको बाढी, एक तीहाइलाई मात्र ढुक्कले पानी
स्थानीय तहको पुनःसंरचनाको क्रममा अद्यावधिक गरिएको तथ्यांक अनुसार धरान उपमहानगरपालिकामा करिब ३३ हजार घरधुरी रहेका छन् । जसमध्ये, हालसम्म सञ्चालनमा रहेका खानेपानी आयोजनाबाट करिब १२ हजार घरधुरीलाई मात्र पूर्ण रुपमा पानीको आपूर्ति भैरहेको छ ।
धरान उपमहानगरपालिकामा हालसम्म साना ठूला गरी ८१ खानेपानी आयोजना सञ्चालनमा रहेको तथ्यांक राष्ट्रिय सूचना प्रणालीमा अद्यावधिक गरिएको छ । यसमध्ये, एक हजार घरधुरीभन्दा बढी लाभान्वित हुने खानेपानी आयोजना तीन वटामात्र रहेका छन् । साविकको नेपाल खानेपानी संस्थान (हालको खानेपानी बोर्ड) अन्तर्गत रहेको खानेपानी आयोजनाबाबट १ हजार ९ सय १० घरपरिवार लाभान्वित भएका छन् । हाल यस आयोजनामा समेत लक्ष्य अनुरुप पर्याप्त पानी नआउँदा धारा जोडिएका घरधुरीमा समेत पानीको पर्याप्त आपूर्ति हुँदैन ।
यसैगरी पानवारी खानेपानी आयोजनाबाट १ हजार ७ सय ८७ घरधुरी र देउराली खानेपानी आयोजनाबाट १ हजार ५ सय २६ घरधुरी लाभान्वित भएका छन् ।
यसैगरी, ५ सयभन्दा बढी घरधुरी लाभान्वित हुने खानेपानी आयोजना २ वटा रहेका छन् । जसमध्ये, मंगलबारीमा रहेको खानेपानी व्यवस्थापन समिति अन्तर्गतको आयोजनाबाट ५७१ र जोर सखुवा खानेपानी आयोजनाबाट ६ सय घरधुरी लाभान्वित भएका छन् ।
संख्यात्मक रुपमा खानेपानी आयोजनाको संख्या ठूलो देखिए पनि अधिकांशतः २० घरधुरीभन्दा कमलाई पुग्ने आयोजना रहेका छन् । डुम्रेमा रहेको डुम्रे खानेपानी आयोजनाबाट ९ घरधुरी लाभान्वित भएका छन् भने स्याङखोला खानेपानी आयोजनाबाट १० घरधुरी, यसैगरी साल्बोटे खानेपानी आयोजनाबाट ११ घरधुरी लाभान्वित भएका छन् भने सहदेव मुहान खानेपानी आयोजनाबाट १५ घरधुरी लाभान्वित भएका छन् । आपटार खानेपानी आयोजनाबाट १०, बाखेप खानेपानी आयोजनाबाट १० र ओडारे खानेपानी आयोजनाबाट ९ घरधुरी लाभान्वित भएका छन् ।

लाहुरेको सहर, सधैं काकाकुल
लाहुरेहरुको सहरको रुपमा चिनिने धरानले सधैंभरी पानीको हाहाकार भोग्दै आएको छ । विजयपुरमा धेरै अघिदेखि मानव बसोबास भएको भए तापनि आधुनिक धरानको इतिहास भने त्यति लामो छैन । वि.सं. १९५० तिर घना जंगल फडानी गरेर समतल क्षेत्रमा सानो बस्तीबाट सुरु भएको धरान वि.सं. १९५९ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र समशेरले चन्द्रनगर (हालको पुरानो बजार) र वि.सं. १९९० तिर जुद्ध समशेरले जुद्धनगर (हालको नयाँ बजार) बसालेपछि धरानमा बस्ती विस्तार हुन थालेको पाइन्छ ।
वि.सं. २०१० सालमा पूर्वाञ्चलका लागि ब्रिटिश गोर्खा भर्ती केन्द्र धरानमा स्थापना भएपछिमात्र धरानमा चहलपहल तथा बसोबास ह्वात्तै बढेको पाइन्छ । वि.सं. २०१७ सालमा नगरपालिका घोषित भएको धरान २०१८ सालको पुनःसंरचनाका क्रममा कोशी अञ्चलको सदरमुकाम समेत घोषित भएको थियो ।
धरानमा सहरीकरणसँगै बढ्दै गएको खानेपानी समस्या समाधानका लागि बेला बखतमा प्रयासहरु हुँदै आएको देखिन्छ । आसपासका क्षेत्रमा पर्याप्त पानीको दिगो श्रोत नभएका कारण स–साना आयोजनामा भर पर्नुपरेको र यसले खानेपानी समस्याको दिगो समाधान हुन नसकेको देखिन्छ ।
खानेपानी संकटको दिगो समाधान गर्नका लागि धरान एकीकृत सहरी विकास कार्यक्रम अन्तर्गत एशियाली विकास बैंक परियोजना १० वर्षअघि सुरु भएको थियो । एडिबीको ३५ प्रतिशत ऋण तथा २६ प्रतिशत अनुदानमा सुरु भएको सो खानेपानी आयोजना निर्माण सम्पन्न गर्न नेपाल सरकारको २४ प्रतिशत अनुदान र तत्कालीन धरान नगरपालिकाको १५ प्रतिशतसहित करिब २ अर्ब १६ करोड रुपैयाँ लगानी भएको थियो ।
चारकोशे झाडीमा डिप बोरिङ गरी पानी निकालिएको यस आयोजनाले समेत खानेपानी आपूर्तिको दिगो समाधान दिन नसकेपछि खानेपानीका लागि धरानका सामाजिक अगुवाहरु निरन्तर आन्दोलित छन् ।



752 पटक हेरिएको 

