खानेपानी आयोजनै पिच्छे ‘क्लोरिन ट्याङ्क’ जडान

दोलखा : दोलखाको शैलुङ र कालिञ्चोक गाउँपालिकामा निर्मित खानेपानी योजनाहरुमा क्लोरिन ट्याङ्क जडान गरिएको छ । खानेपानी परिक्षणका क्रममा ती खानेपानी कोलिफर्म देखिएपछि क्लोरिन ट्याङ्क जडान गरिएको हो ।

वाटर एड नेपालको आर्थिक सहयोगमा सामुदायिक विकास मञ्च (सीडीएफ) दोलखाले सञ्चालन गरेको खानेपानी सुरक्षा तथा वास उत्थानशीलता परियोजनाले कालिञ्चोक गाउँपालिकामा करिब १७ लाख रुपियाँमा तीनवटा र शैलुङ गाउँपालिकामा आठ लाख भन्दा बढीको लगानीमा तीन वटा क्लोरिन ट्याङ्की निर्माण गरी सञ्चालनमा ल्याईएको हो।

हाल क्लोरिन ट्याङ्कमा क्लोरिनसन गरेर मात्र खानेपानी वितरण गर्न थालिएको शैलुङ गाउँपालिका–४ स्थित मजुवा–निगाले खानेपानी तथा सरसफाइ योजना निर्माण समितिका अध्यक्ष कृष्णप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।

राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ ले खानेपानीमा कोलिफर्मको मात्रा शून्य हुनुपर्ने प्रावधान राखेको छ ।

परियोजनाले पहिलो र दोस्रो चरणमा पालिका, उपभोक्ता श्रमदान र वाटर एड नेपालको गरी १३ करोड ३१ लाख ८६ हजार रुपियाँको लागतमा खानेपानी आयोजना निर्माण गरेको छ। शैलुङ गाउँपालिकामा व्यक्तिगत ८१२, संस्थागत १६ र कालिञ्चोक गाउँपालिकामा व्यक्तिगत ७०३ र संस्थागत १२ गरी एक हजार ५४३ वटा धाराबाट छ हजार ६५५ घरपरिवार लाभान्वित भएका सीडीएफका निर्देशक प्रेमप्रसाद अधिकारीले जानकारी दिनुभयो।

घर–घरमा धारा जडान भएपछि स्थानीयको घण्टौं लगाएर पानी लिन जानुपर्ने बाध्यता हटेको शैलुङ गाउँपालिका–४ स्थित मजुवा–निगाले खानेपानी तथा सरसफाइ योजना निर्माण समितिका अध्यक्ष कृष्णप्रसाद ढुङ्गेलले बताउनुभयो। उहाँका अनुसार वाटर एड नेपालको आर्थिक सहयोग र सीडीएफ दोलखाको समन्वयमा व्यक्तिगत ४४ र सामुदायिक दुईवटा धाराबाट १५८ जना लाभान्वित भएको खबर गोरखापत्र अनलाइनले यो खबर प्रकाशन गरेको छ ।

वाटर एड नेपालको ३६ लाख दुई हजार ७१५, गाउँपालिकाको पाँच लाख ८० हजार २७९ र उपभोक्ता जनश्रमदान छ लाख ९४ हजार १०९ गरी ४८ लाख ७७ हजार १०३ रुपियाँ लगानी रहेको जानकारी दिँदै सीडीएफका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “आयोजनालाई दिगो, भरपर्दो र पारदर्शी बनाउन ५७ हजार रुपियाँको मर्मत कोष व्यवस्था गरिएको छ।” घरमै खानेपानीको धारा पुगेपछि खानेपानी बोक्नुपर्ने दैनिकी फेरिएकोमा खुसी व्यक्त गर्दै उपभोक्ता चेतबहादुर नेपालले भन्नुभयो, ‘घरबाट टाढाको अर्बौं खोला भन्ने ठाउँको कुवाको पानी पिउनुपर्थ्यो ।”


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार