गोर्खा वेलफेयरद्वारा खानेपानीका लागि ३ करोड बढी अनुदान स्वीकृत

१ महिनामा स्टिमेट, ६ महिनामा योजना सम्पन्न गर्ने लक्ष्य

सुनसरी : गोर्खा वेलफेयर ट्रष्टले धरानको खानेपानी समस्या समाधान गर्न ३ करोड बढीको अनुदान रकम स्वीकृत गरेको छ। गोर्खा वेलफेयर ट्रष्टले पूर्व ब्रिटिश आर्मीहरुको रेजिमेन्टल एशोसिएशन (नेपाल) पूर्वक्षेत्रको अनुरोधमा खानेपानी योजनाको लागि २ लाख १२ हजार पाउण्ड (ने.रु. ३ करोड २९ लाख) अनुदान स्वीकृत गर्ने निर्णय गरेको हो।

सिनियर वेलफेयर अफिसर पुर्ण लिम्बुका अनुसार मेयर हर्क साम्पाङले भूपू सैनिकहरुलाई खानेपानी समस्या हल गर्न अनुरोध गरेको कारण एशोसिएशन मार्फत ट्रष्टलाई खानेपानी योजनाको लागि आग्रह गरिएको थियो। ‘भुपु लाहुरेहरुको घना बसोबास भएको धरानमा खानेपानीको समस्याको लागि केही गर्ने सोच थियो। यसपाली प्रमुख ज्युले अनुरोध गर्नुभएपछि काम गर्ने अवसर पायौं’उहाँले भन्नुभयो ।

वेलफेयरका अनुसार केही समयअघि ब्रिटिश गोर्खा नेपालका कमाण्डर कर्नेल पौल स्मिथ मार्फत एशोसिएशनले ट्रष्टलाई खानेपानीको लागि सहयोग गर्न आग्रह गरिएको थियो। उक्त आग्रह पछि बोर्ड अफ ट्रष्टी डाइरेक्टरहरुको गत साता बैठक बसेर अनुदान स्वीकृत भएको जानकारी स्मिथ मार्फत आएको एशोसिएशनका सचिव क्याप्टेन विष्णुकुमार राईले जानकारी दिनुभयो । ‘यो अनुदान रकमले धरानको खानेपानी आपूर्तिको लागि आवश्यक संरचना निर्माणमा खर्च गछौं,’उहाँले भन्नुभयो ।

१ महिनामा स्टिमेट, ६ महिनामा योजना सम्पन्न गर्ने लक्ष्य

वेलफेयरका अनुसार आपगाछी क्षेत्रमा पर्ने खर्दुबाट ३ वटा इन्टेक निर्माण हुनेछ भने एउटा कलेक्सन च्याम्बर पनि बनाइनेछ। यस्तै, २.८ किलोमिटर पाइपलाइन विस्तार गरिने ईञ्जिनियर एवं आर.डब्लु.एफ.ई.पि.पि.को पुर्वक्षेत्रीय कार्यालय प्रमुख कृष्णमान गुरुङले जानकारी दिनुभयो।

यस्तै, फुस्रेस्थित पानी प्रशोधन गर्ने प्रणालीको पनि क्षमता बढाइने उहाँले बताउनुभयो। ‘यो योजना १२ महिनाको लागि होइन। बर्षामा पनि जंगलमा बोरिङ गरेर पम्पमार्फत पानी वितरण गर्दा विजुलीको धेरै खर्च भइरहेको छ, त्यो खर्च घटाउन यो योजनाले मद्दत गर्छ । कम्तीमा ५, ६ महिना सहजरुपमा सुद्ध पानी वितरण गर्ने लक्ष्य छ ।’उहाँले भन्नुभयो ।

वेलफेयरका अनुसार डिटेल सर्वे, डिजाइन लगायतको काम एक महिनाभित्र पुरा हुनेछ भने निर्माण कार्य ६ महिनाभित्र सम्पन्न हुनेछ। यस बाहेक भूपू सैनिकहरुकै पहलमा अहिले निशाने सर्दु दोभानमा अढाई लाख लिटरको खानेपानी रिजर्ब ट्यांकी पनि निर्माण भइरहेको छ।

गोर्खा पिस फाउण्डेशन र हर्क साम्पाङ सपोर्ट कमिटी युकेको आर्थिक सहयोगमा उक्त ट्यांकी निर्माण भइरहेको छ। धरानमा ४३ हजार ८१५ परिवार बसोबास रहेको छ भने जनसंख्या १ लाख ७३ हजार छ। तीमध्ये गोर्खा पेन्सनरहरुको संख्या ३ हजार ४ सय रहेको वेलफेयरले जानकारी दिएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार