हेल्भेटासले बनायो खानेपानीको हाहाकार हुने थापा गाउँमा घरघरै धारा

  वास खवर सम्वाददाता  813 पटक हेरिएको

दैलेख : दैलेखको डुङ्गेश्वर गाउँपालिका–४ थापा गाउँमा खानेपानीको समस्या समाधान भएको छ । हेल्भेटास नेपालको एकीकृत जलश्रोत व्यवस्थापन कार्यक्रम र डुङ्गेश्वर गाउँपालिकाको साझेदारी तथा सोसेक नेपालको प्राविधिक तथा सामाजिक सहजिकरणमा थापा गाउँमा खानेपानी सुविधा पुगेको हो ।

योजनाको कुल लागत २६ लाख १९ हजार ३ सय रुपैयाँ रहेको सोसेक नेपालका फिल्ड प्राविधिक जयबहादुर विष्टले जानकारी दिनुभयो। हालै निर्माण सम्पन्न थापा गाउँ खानेपानी तथा सरसफाइ योजनाबाट गाउँका ३४ घरधुरीमा खानेपानीको सुविधा पुगेको छ । फिल्ड प्राविधिक विष्टका अनुसार ३४ घरधुरीका लागि घरैपिच्छे खानेपानीको धारा जडान गएिको छ ।

योजना निर्माणसँगै थापा गाउँमा सरसफाइको विभिन्न गतिविधि समेत सञ्चालन भइरहेका छन् । हरेक घरमा फोहोर फाल्ने खाडल र चाङ निर्माण गरिएको थापा गाउँ खानेपानी तथा सरसफाइ योजनाका अध्यक्ष गोविन्दबहादुर थापाले बताए । योजनाबाट लाभान्वित ३४ घरधुरीलाई फिल्टर समेत वितरण गरिएको अध्यक्ष थापाको भनाई छ ।

खानेपानी योजना निर्माण हुनु अघि थापा गाउँका स्थानीयले खानेपानीको समस्या झेल्दै आएका थिए । योजनाका कोषाध्यक्ष समेत रहेकी रेखा थापाले योजना निर्माण सम्पन्न भएपछि खानेपानीको समस्या समाधान भएको बताउनुभयो ।

‘योजना निर्माण हुनु अघि फोहोर पानी प्रयोग गनुपथ्र्यो, टाढा टाढाबाट खानेपानीको जोहो गर्नुपर्ने बाध्यता थियो, चैत्र वैशाखमा त खानेपानीको हाहाकार हुन्थ्यो, उहाँले भन्नुभयो । एक घर एक धारा निर्माण भएपछि खानेपानीको सबै समस्या हटेर गएको उहाँको भनाइ छ । घरमै धारा जडान भएपछि व्यक्तिगत तथा घरायसी सरसफाइमा पनि सहज भएको छ थापाले भन्नुभयो ।

थापा गाउँ खानेपानी तथा सरसफाइ योजनाका सचिव सुरेन्द्रबहादुर थापाका अनुसार खानेपानी योजनालाई दिगो बनाउन बेला बखत बिग्रे भत्किएमा मर्मत सम्भार गर्न मर्मत सम्भार कोषको समेत व्यवस्था गरिएको छ । उपभोक्ताहरूबाट संकलन हुने खानेपानी महसुलको निश्चित रकम मर्मत सम्भार कोषमा जम्मा गरिने कोषाध्यक्ष रेखा थापाले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार