चार पटक म्याद थप गरिएको खानेपानी आयोजनाले बल्ल थाल्यो पानी परिक्षण

मंसिर भित्र खानेपानी उपलब्ध गराउने प्रतिबद्धता

  वास खबर सम्वाददाता  558 पटक हेरिएको

दोलखा : दोलखाको भीमेश्वर नगरपालिकाको मुख्य बजार केन्द्रमा खानेपानी आपूर्ति गर्ने उद्देश्यले सञ्चालित चरिकोट खानेपानी आयोजनाले पानी परीक्षण गरिएको छ । नगरपालिकाको ६ वटा वडामा खानेपानीको दीर्घकालीन समस्या समाधान गर्ने लक्ष्य सहित सुरु गरिएको खानेपानी आयोजनाले घरघरको धारामा पानी छाडेर परीक्षण गरिएको हो । हात्तीछहरा पानीको नामले चिनिने आयोजनाको पानी चरिकोट बजारसहित चार हजार बढी घरका धारामा झर्न थालेको छ ।

खानेपानी आयोजनाले आफ्नो संरचना पूरा गरी पहिले मुहानदेखि तयार गरिएका संरचना, प्रशोधन केन्द्र र अहिले परीक्षणका रूपमा धारामा पानी छाडे तापनि नियमित रूपमा भने मंसिरदेखि मात्र घरघरमा धारामा पानी आउने आयोजनाका परामर्शदाता वीरेन्द्र महर्जनले जानकारी दिनुभयो ।

निर्माणाधीन सहरी खानेपानी तथा सरसफाइ क्षेत्रगत आयोजना अन्तर्गतका प्रतिक्षित हात्तीछहराको योजना पूरा भएपछि नयाँ पाइप लाइनबाट उपभोक्ताले नयाँ धाराको पानी प्रयोग गर्न पाउने छन् । यो आयोजनामा हात्तीछहरा सहित नौ वटा मुहानबाट पानी संकलन गरिएको छ । घरघरमा शुद्ध पानी पुर्‍याउन भुतपोखरी, भ्यूटावर क्षेत्र र वर्खे वन क्षेत्रमा तीनवटा अत्याधुनिक प्रशोधन केन्द्र तयार गरिएका छन् ।

९७ करोड ७४ लाख लागत अनुमान गरेको आयोजनाबाट भीमेश्वर नगरपालिकाको वडा नं २ देखि ७ सम्मका चार हजार पाँच सय घरमा नयाँ धाराबाट पानी घरघरमा जोडिएको छ । “विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको गुणस्तरीय पानी उपभोक्ताले पाउने छन्, मुहानबाट आएको पानीलाई तीनवटा छुट्टाछुट्टै ठाउँमा पानी सफा गर्ने संरचना तयार भएको छ ।”परामर्शदाता महर्जनले भन्नुभयो ।

आयोजना एसियाली विकास बैंकको ऋण लगानीमा निर्माण भएको हो । आयोजनाको लागत एसियाली विकास बैंकको ७० प्रतिशत ऋण र २५ प्रतिशत नगर विकास कोषको २५ वर्षे सहुलियतपूर्ण ऋण छ । ५ प्रतिशत उपभोक्ताबाट नगद सहभागिता हुनुपर्नेमा ३ प्रतिशत भूकम्पका कारण सरकारले छुट गरेको छ ।

आयोजनाबाट सबैभन्दा बढी भीमेश्वर नगरपालिका–३, र ६ को चरिकोट बजार, र वडा नं. ४ को जिरीबासी सबैभन्दा बढी लाभान्वित हुनेछन् । त्यसैगरी वडा नं. ५ र ७ वडाबासीले आधाभन्दा बढीले यही आयोजनाको पानी उपभोग गर्न पाउँछन् । अहिले सुक्खा समयमा व्यावसायिक उपभोक्ताले पानीको समस्या समाधानका लागि गाडीमा अन्यत्रबाट पानी ढुवानी गर्नुपर्ने अवस्था छ ।

नयाँ लाइन जोडे पनि केही पुराना लाइनबाट पानी उपभोग गर्ने उपभोक्ताले पुराना लाइनबाट समेत पानी उपभोग गर्न पाउने चरिकोट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष रामकृष्ण केसीले जानकारी दिनुभयो ।

यो आयोजनाबाट उपभोक्ताको घरको कम्पाउण्डसम्म लाइन पुर्‍याएको छ । त्यसपछि पानीको मिटर जडान गरिएको छ । कम्पाउण्डमा पुगेको पानीको लाइनलाई उपभोक्ताले आफ्ना आवश्यकता अनुसार धारा निर्माण गर्न सक्नेछन् ।

उपभोक्ताले न्यूनतम शुल्कमा १० हजार लिटरसम्म मासिक पानी उपभोग गर्न सक्ने छ । त्यसपछि पानी उपभोग अनुसार शुल्क थप गर्ने संस्थाको लक्ष्य रहेको अध्यक्ष केसीले बताउनुभयो । पानीको शुल्क निर्धारण नगरपालिकाको एक समितिले गर्नेछ । न्यूनतम् शुल्क २ सय ५० देखि तीन सय रुपैयाँसम्म पर्ने र त्यसपछि पानीको उपभोग अनुसार थप शुल्क लाग्ने छ ।

आयोजना दुई वर्ष अर्थात् ७ सय ३२ दिनमा पूरा गर्ने गरी २०७५ चैतमा निर्माण कम्पनी जेएनटीसीजी–एमएसएनएस जेभीसँग सम्झौता गरेको हो ।
आयोजनाको काम कोभिड–१९ को महामारीले भएको लकडाउन, मौसम र पूर्वनिर्धारित घरधुरीभन्दा संख्या वृद्धि हुँदा चार पटक ठेक्काको म्याद थप भइसकेको छ । आयोजनाको अहिलेसम्म ९४ प्रतिशत भौतिक प्रगति भएको सहरी खानेपानी तथा सरसफाइ आयोजनाका इन्जिनियर पुस्कल सुवेदीले बताउनुभयो ।

पानीको ४७ किलोमिटर मुख्य प्रसारण लाइन, १ सय ४९ किलोमिटर वितरण लाइन निर्माण भएको छ । १३ वटा रिजर्भ्वायर ट्यांकी निर्माण भएको छ । पानीको नियमित रेखदेखका लागि चरिघ्याङमा कन्ट्रोल रुम सहितको भवन निर्माण भएको छ । त्यसमा अत्याधुनिक प्रविधि जडान भएको छ । त्यसैबाट जलविद्युत आयोजनामा जस्तै पानीलाई इन्टेकमा बन्द गर्ने खोल्ने र कुनै ठाउँमा समस्या आए देखिने र त्यसैका आधारमा मर्मत संभार हुनेछ ।

कोभिडका कारण गरिएको लकडाउन, मौसम जस्ता कारणले दुई वर्ष ढिला भए तापनि अब मंसिरसम्ममा आयोजना पूरा गरी सञ्चालनमा ल्याउने निर्माण कम्पनीका प्रोजेक्ट व्यवस्थापक दिपक आचार्यले प्रतिबद्धता व्यक्त गर्नुभ्यो । सम्झौता अनुसार आयोजना पूरा भएको एक वर्ष निर्माण कम्पनी आफैंले आयोजना सञ्चालन गरेर उपभोक्तालाई पानी वितरण गर्नुपर्छ । दोस्रो वर्ष उपभोक्ता समितिले सञ्चालन गर्ने र मर्मत निर्माण व्यवसायीले गर्ने र तेस्रो वर्षदेखि पूर्णरूपमा उपभोक्ता संस्थाले सञ्चालन गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार