
काठमाडौ : बर्षा लागेसँगै बन्द भएको मेलम्चीको पानी एक महिनाभित्र उपत्यकामा ल्याउने गरी काम भइरहेको छ । मेलम्ची खानेपानी आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तका अनुसार एक महिनाभित्र मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याएर वितरणको प्रक्रिया थालिनेछ ।
गत जेठ १७ गते प्रि–मनसुन सुरु हुने बित्तिकै बाढीले आयोजनामा क्षति पुर्याउन सक्ने सम्भावनालाई दृष्टिगन गरी आयोजनाको मूल गेट नै बन्द गरिएको थियो । वर्षाको समयमा आएको पहिरो र बाढीका कारणले हेडवर्क्स पुरिएकाले त्यसको वरिपरि अस्थायी रूपले सफा गरेर पानीलाई उपत्यका ल्याइने उहाँको भनाइ छ ।
‘पुरिएको हेडवर्क्सको स्थायी रूपले उत्खनन तथा सफाइ भने पछि हुनेछ । वर्षाका कारणले पुरिएको हेडबक्सको आसपासमा भएको फोहोरलाई सफा गरेर अस्थायी रूपमा पानीलाई काठमाडौं उपत्यकामा ल्याउँछौँ’, उहाँले भन्नुभयो ‘पछि हेडवर्क्सको स्थायी रूपले उत्खनन तथा सपाई भने पछि गर्छौँ।’
हेडवर्क्सलाई ठुल्ठूला ढुङ्गाले पुरेकाले तत्काल यी ढुङ्गाहरू हटाउन नसकिने उहाँको भनाइ छ । हेडवर्क्स मात्र नभएर त्यहाँसम्म पुग्ने बाटो पनि बाढीले प्रभावित पारेको खबर गोरखापत्र अनलाइनले प्रकाशन गरेको छ ।
यस्तै, उक्त क्षेत्रमा वर्षाका कारणले भत्काएको पुल र बाटो निर्माण पनि चलिरहेको छ । सूचना अधिकारी पन्तका अनुसार बाढीले बगाएका पुल र बाटो निर्माण नै मुख्य चुनौतीका रूपमा रहेको छ । दशैँपछि बाटो र अस्थायी पुलको निर्माणको काम चलिरहेको छ । पुल र बाटो निर्माण नभएसम्म उपत्यकामा पानी ल्याउन असम्भव रहेको उहाँ बताउनुहुन्छ ।
उहाँले भन्नुभयो ‘वर्षाले बगाएको बाटो र पुल निर्माणको क्रम जारी छ । हेडवर्क्समा पुग्नका लागि नै समस्या हुने भएकाले यी नबनेसम्म पानी काठमाडौं ल्याउन असम्भव थियो ।’ दशैँ पछि बाटो र अस्थायी पुल निर्माणको काम थालनी भएको समेत उहाँले बताउनुभयो ।
छठपछि द्रुत रूपमा निर्माणको काम हुने र यो महिनामा काम सकेर मङ्सिर महिनाको १५ गतेभित्र पानी काठमाडौं ल्याउने उहाँको भनाइ छ । अहिले भइरहेको काम हेलम्बु गाउँपालिका र मेलम्ची खानेपानी आयोजनाको आर्थिक सहयोगमा भइरहेको हो ।
पन्तका अनुसार आयोजनाले काठमाडौं उपत्यकामा मेलम्चीबाट करिब १७ करोड लिटर पानी पुर्याउँदै आएको थियो । भविष्यमा याङ्ग्री र लार्केबाट पनि पानी ल्याउने भनिएको आयोजना पूर्ण रूपमा सम्पन्न हुँदा कुल ५१ करोड लिटर पानी काठमाडौं ल्याउने बताइएको छ ।
फोटो : धर्मराज देवकोटाको फेसबुकबाट ।


1510 पटक हेरिएको 

