
काठमाडौ : प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी विकास समिति ब्युँताउन सरकार तयार रहेको बताउनुभएको छ । मङ्गलबार नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, प्रदीप पौडेल लगायतका नेताहरुको मेलम्ची खानेपानीबारे ध्यानाकर्षण पत्र बुझ्नुहुँदै प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो ।
उहाँले पूर्व प्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईले मेलम्चीबाट पानी ल्याएर शहर सफा गर्ने प्रण गरेपनि अहिले आएर उहाँको सपना पूरा भएको प्रति खुशी व्यक्त गर्नुभयो । प्रधानमन्त्री देउवाले मेलम्ची खानेपानी विकास समिति खारेज गरिएको बारे कारण पत्ता लगाउन आवश्यक रहेको पनि बताउनु भयो । उहाँले मन्त्रिपरिषदको बैठकमा मुख्यसचिव सहितका विज्ञ टोलीहरु राखेर मेलम्चीको पानीलाई थप व्यवस्थापनका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘मेलम्ची काठमाडौंका लागि अत्यन्त महत्त्वपूर्ण कुरा हो । आदरणीय कृष्णप्रसाद भट्टराईले मेलम्चीबाट पानी ल्याएर शहर सफा गर्छु भन्नुभएको थियो । त्यो कुरा फुलफिल भएकोमा सम्बन्धित सबैलाई धन्यवाद दिन चाहन्छु । सबै मिलेर पूरा गरौँ । कसरी हुन्छ, विज्ञ मन्त्रिपरिषदको बैठक राखेर त्यसमा मुख्य सचिवलाई पनि राखेर विकास समिति किन खारेज भयो त्यो सम्बन्धमा पनि कुरा गरौँ । नयाँ बनाउनुपर्ने भएपनि बनाउँला, त्यो आवश्यक छ भने त्यसमा आपत्ति छैन । के भयो र ?’’
कांग्रेस नेता सिंहसहितको टोलीले केही दिनअघि मात्रै मेलम्ची खानेपानी मुहानमा पुगेर त्यहाँको अवलोकन गर्नुभएको थियो । अवलोकनपछि उहाँले त्यहाँका समस्याका बारेमा र काठमाडौंवासीलाई खानेपानी समस्याको हल गर्न प्रधानमन्त्रीसमक्ष आज ध्यानाकर्षण गराउनुभएको हो ।
ध्यानाकर्षण पत्रमा आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यमा मेलम्ची खानेपानी विकास समिति खारेज गरेको उल्लेख भएकाले आयोजनाको काम कारबाहीमा अन्योलता देखिएको भन्दै तत्काल मेलम्ची खानेपानी विकास समिति ब्युँताउनुपर्ने वा अन्य आवश्यक निर्णय लिन माग गरिएको छ ।
ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘‘प्रधानमन्त्रीज्युको म ध्यानाकर्षण गराउन चाहन्छु, ६५ अर्बभन्दा बढी राज्यको लगानी भइसकेको छ । काठमाडौंलाई खानेपानी उपलब्ध गराउने एउटा प्रमुख विकल्प श्रोत हो । यत्रो लगानी भइसकेपछि त्यसलाई व्यवस्थित रुपमा सञ्चालन गर्न त्यसको सञ्चालनका निम्ति छुट्टै मेकानिजम हुन आवश्यक छ ।
काठमाडौं आइसक्यो नियमित चल्छ भनेर त्यसलाई निगरानी नगर्ने स्थिति हुनु हुँदैछ । मेलम्ची विकास समितिलाई कायम गरिनुपर्छ । ७ महिना पानी फ्लो हुन्छ भन्नेछ । ५ महिना वर्षातको समयमा पानी बन्द हुन्छ, त्यसले यहाँको माग पूरा हुन सक्दैन । त्यसैले १२ महिना नै पानीको माग पूरा हुनेगरी उपयोग गर्नुपर्छ । महानगरपालिका भित्र मात्रै मेलम्ची खानेपानीको उपलब्धता छ अहिले महानगर बाहिर पनि यसको उपलब्धता हुनुपर्छ ।’’
उहाँले मेलम्ची खानेपानी काठमाडौंका लागि महत्त्वपूर्ण भएकाले सबै मिलेर मेलम्चीको पानी कसरी १२ महिना नै काठमाडौंमा ल्याउने भन्नेबारेमा सोच्न आवश्यक रहेको बताउनुभयो । यो खबर गोरखापत्र अनलाइनले प्रकाशन गरेको छ ।


809 पटक हेरिएको 

