
बागलुङ : बागलुङ नगरपालिका –३ र ४ उपल्लो पाखाथर वस्तीको घर–घरमा खानेपानी सुविधा पुगेपछि स्थानीय खुशी भएका छन् । खानेपानी अभाव भोग्दै आएका पाखाथरवासीलाई लक्षित गरी नगरपालिकाले लिफ्टिङ प्रविधिबाट खानेपानी सुविधा विस्तार गरेको हो ।
उपल्लो पाखाथरका ७७ घरमा ‘एक घर, एक धारा’ अभियान अन्तर्गत धारा निर्माण गरिएको छ । कुवा र मुलको पानी प्रयोग गर्दैआएकाहरुका लागि स्थानीय आयोजनाले पूर्णता पाए लगतै घरआँगनमै पानी थाप्न पाएका छन् ।
घर आँगनमै पानी आएपछि दैनिक जीवन सहज भएको स्थानीय मुरारीदत्त शर्माले बताउनुभयो । यसअघि खानेपानीको जोहो गर्न सामुदायिक धारा र कुवामा जानुपर्ने र लाइन लाग्दा घरको दैनिक काममा ढिला हुनेगरेको भए पनि अहिले सहज भएको शर्माको भनाइ छ ।
बागलुङ नगरपालिकाको २६ लाख ४० हजार र स्थानीय उपभोक्ताहरुको १५ लाख रुपियाँको लागतमा आयोजना सम्पन्न भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिनुभयो । खानेपानीको अभाव झेल्दै आएका स्थानीयवासीले उपल्लो पाँखाथर टोल विकास संस्थामा आवद्ध भएका नयाँ घरले ४१ हजार र पुराना घरले २६ हजार रुपियाँ गरी १५ लाख रुपियाँ उपभोक्ता स्तरबाट संकलन गरेका थिए ।
स्थानीयहरुले प्रयोग गर्दैआएको पाँच वडा मुलको पानीलाई केन्द्रित गरी नगरपालिकाको वडा– ३ र ४ उपल्लो पाँखाथरका ७७ घर र एक सामुदायिक विद्यालयमा लिफ्टमार्फत खानेपानी लगिएको छ । पच्चीस एम.एम.को पाइपमा जुरेढुङ्गाको मुहानबाट सोझै सङ्कलन गरी पानी ट्याङ्कीमा आउने व्यवस्था गरिएको खबर गोरखापत्र अनलाइनले प्रकाशन गरेको छ ।
पँधेराघर, रिठाबोटसहितका कुवाको पानीलाई ४० एमएमको पाइपबाट एक सय मिटरमाथि खत्रीबारीमा लिफ्ट प्रविधिमार्फत लगेर घरमा वितरण गरिएको छ । खानेपानी उपभोग गरेबापत प्रत्येक घरले विधुत महसुल र मर्मत सम्भारका लागि मासिक दुई सय रुपियाँ उपभोक्ताले खानेपानी उपभोक्ता समितिलाई तिर्नुपर्ने प्रावधान छ । लिफ्टिङ खानेपानी आयोजनामा विधुत महसुलमा सहयोग गर्ने नगर उपप्रमुख राजु खडकाले बताउनुभयो ।


503 पटक हेरिएको 

