
काठमाडौ : मेलम्चीको पानी आजदेखि काठमाडौ उपत्यकामा वितरण गर्न सुरु गरिने भएको छ । यसका लागि प्रशोधित पानी बिहीबार बेलुकी नै थोक वितरण प्रणाली मार्फत महाङ्कालको रिजर्भ्वायर ट्याङ्कमा पठाईसकेको छ । आजदेखि औपचारिक रुपमा काठमाडौ उपत्यकाबासीको धारा धारामा पठाइने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले बताउनुभयो ।
पानी सबै स्थानमा भने एकै पटक पठाइने छैन । कार्यकारी निर्देशक श्रेष्ठले एक हप्ता भित्र सबै धारामा सहज रुपमा पानी पुग्ने जानकारी गराउनुभयो । सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट थोक वितरण प्रणालीमा पठाएपछिको जिम्मेवारी भने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को हो । केयूएलले नै काठमाडौ उपत्यकाको आरुवारी, जगडोल, बासबारी, बालाजु, पानीपोखरी, कीर्तिपुर र भक्तपुरको कटुन्जे लगायतका स्थानमा रहेको रिजर्भ्वायर ट्याङ्कबाट पानी वितरण गर्नेछ ।
कहाँ, कति बेला, कति समय पानी उपलब्ध गराउने भन्ने जानकारी केयूकेएलका वितरण केन्द्रहरुले पानी वितरणको तालिका प्रकाशन गरेपछि मात्र थाहा हुनेछ ।
उपत्यकाको विभिन्न १० स्थानमा रहेको रिजर्भ्वायर ट्याङ्कीमा पानी पठाउन करिब ७७ किमि थोक वितरण प्रणाली अन्तर्गत ठूला साइजको पाइप विछ्याईएको छ । काठमाडौ उपत्यका खानेपानी लिमिटेडले उपत्यकाको काठमाडौं, भक्तपुर र कीर्तिपुरका मुख्य सहरमा पानी वितरण गर्ने भएको छ । बाढीले मुहान क्षति गर्ने सम्भावनाका कारण सिन्धुपाल्चोकको अम्बाथान स्थित हेडवर्क्समा गत जेठमा बन्द गरिएको पानी यही १२ गते पुनः सुरुङमा पठाईएको थियो । सुरुङमा पठाएको एक हप्ता पछि यही १९ गते सुन्दरीजलमा आईपुगेको पानी सुरुङ फ्लस गरी वाग्मतीमा पठाईरहेको थियो ।
२०७८ असारको बाढीले हेडवर्क्समा क्षति पुर्याएपछि मर्मत गरी २०७९ वैशाख ११ गतेदेखि जेठ तेस्रो सातासम्म वितरण गरिएको थियो । तर यसपटक भने अस्थायी रुपमै भएपनि ६ महिना राम्रो सँग उपभोग गर्न पाईने कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो । हेडवर्क्सलाई स्थायी रुपमा निर्माण गरी बाह्रै महिना मेलम्चीको पानी वितरण गर्ने बिषयमा उपल्लो निकायसँग छलफल चलिरहेको कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो । हाल मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौ ल्याएर वितरण गरिनेछ ।


886 पटक हेरिएको 

