क्रमागत खानेपानी आयोजनाको नामै कटौती हुँदा योजना अलपत्र

दाङ : तीन करोड २१ लाख ५५ हजार रुपैयाँ कुल लागतमा आर्थिक वर्ष २०७६/०७७ सम्म बनिसक्नु पर्ने लालमटिया बृहत खानेपानी आयोजनाको काम अझै पूरा भएको छैन ।

आर्थिक वर्ष २०७८/०७९ सम्म एक करोड ४७ लाख रुपैयाँमात्रै बजेट पाएको आयोजनाले आर्थिक वर्ष २०७९/०८० मा १३ लाख ५० हजार रुपैयाँ मात्रै पायो । अझै झण्डै एक करोड रुपैयाँ बजेट आवश्यक पर्ने आयोजनाका लागि गत आर्थिक वर्षमा जम्मा २५ हजार रुपैयाँ विनियोजन गरिएको थियो । यस वर्ष आयोजनाको लिस्टमा लालमटिया बृहत खानेपानी आयोजनाको नाम नै छैन ।

यस्तै आर्थिक वर्ष २०७७/०७८ मा बनिसक्नु पर्ने चिसापानी खानेपानी आयोजना पनि अहिलेसम्म बन्न सकेको छैन । २०७१/०७२ मा सुरु भएको आयोजनाको लागत ११ करोड ३९ लाख थियो । आर्थिक वर्ष २०७७/०७८ सम्म एक करोड २७ लाख रुपैयाँमात्रै बजेट पाएको आयोजनाले आर्थिक वर्ष २०७९/०८० मा दुई करोड २९ लाख रुपैयाँ पायो ।

आयोजना सम्पन्न हुन झण्डै साढे सात करोड रुपैयाँ लाग्नेमा गत आर्थिक वर्षमा जम्मा पाँच लाख रुपैयाँ विनियोजन गरियो । यस वर्ष आयोजनाको लिस्टमा चिसापानी खानेपानी आयोजना दाङको पनि नाम छैन ।

आर्थिक वर्ष २०७७/०७८ मा बनिसक्नु पर्ने स्युजा बोझपोखरी लिफ्ट खानेपानी आयोजनाको अवस्था पनि उस्तै छ । २०७१/०७२ मा सुरु भएको आयोजनाको लागत ६ करोड ७१ लाख थियो । आर्थिक वर्ष २०७७/०७८ सम्म दुई करोड २५ लाख रुपैयाँमात्रै बजेट आयोजनाले पायो । आर्थिक वर्ष २०७९/०८० मा एक करोड ४३ लाख रुपैयाँ पायो । अझै दुई करोड ७६ लाखभन्दा बढी बजेट आवश्यक भएको आयोजनाका लागि गत आर्थिक वर्षमा जम्मा २२ लाख रुपैयाँ मात्रै बजेट विनियोजन गरियो ।

यस वर्ष आयोजनाको लिस्टमा स्युजा बोझपोखरी लिफ्ट खानेपानी आयोजनाको पनि नाम छैन । दाङका अधिकांश खानेपानी आयोजनामा बजेट अभाव हुने देखिएको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङको रेकर्डमा २०७१ सालदेखि बजेट अभावको पीडा खानेपानी आयोजनाले खेप्दै आएका छन् । सघन खानेपानी विकास कार्यक्रम अन्तर्गतका १९४ आयोजना छन् । सबैमा बजेट अभाव छ । उक्त शीर्षकमा जम्मा १८ करोड १७ लाख रुपैयाँ बजेट छ ।

तराई–मधेश खानेपानी सुधार कार्यक्रम अन्तर्गतका ४९ आयोजना छन् । सबै पुराना हुन् । आयोजना सम्पन्न गर्न १० करोड हाराहारी बजेट माग भए पनि जम्मा तीन करोड ३१ लाख मात्रै बजेट विनियोजन भएको छ । जलवायु अनुकूलित बृहत् खानेपानी आयोजना अन्तर्गतका नौ आयोजनामा ९३ लाख ८८ हजार रुपैयाँमात्रै बजेट छ । खानेपानी आयोजना मर्मत सुधार तथा विस्तार तर्फ नौ आयोजनाका लागि एक करोड २५ लाख बजेट छ ।

प्रदेश स्थापना हुनुभन्दा अगाडिका आयोजनामै बजेट अभाव हुँदा थला परेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका निमित्त प्रमुख तिलक न्यौपाने बताउनुभयो । उहाँले काम भइरहेका तर आयोजना नै कटौती गरेर पठाइएका २३ योजना बजेट सुनिश्चित नगरे अलपत्र पर्ने अवस्था रहेको बताउनुहुन्छ।

उहाँका अनुसार जलवायु अनुकूलित बृहत खानेपानी आयोजना अन्तर्गतका १० वटा, खानेपानी सेवा विस्तार तथा पुनस्स्थापन कार्यक्रम (संघ सशर्त) तर्फ १३ आयोजनाको बीचमै बजेट कटौती भएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार