काठमाडौ : खानेपानी र सरसफाइ क्षेत्रमा प्रशंसनीय कार्य गरे बापत सात वटै प्रदेशबाट एक एक वटा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई सम्मान गरिएको छ। खानेपानी तथा ढल व्यवस्थापन विभागको ५३ औं स्थापना दिवसको अवसरमा हरेक प्रदेशबाट एक एक वटा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको प्रतिनिधित्व हुने गरी सम्मान गरिएको हो ।
सम्मानित हुने उपभोक्ता संस्थाहरुमा कोशी प्रदेशबाट काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था, मेचीनगर, मधेस प्रदेशबाट लालबन्दी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था, लालबन्दी सर्लाही छन् ।
यस्तै वाग्मती प्रदेशबाट शारदानगर जागृति शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, भरतपुर चितवन, गण्डकी प्रदेशबाट अग्यौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था कावासोती, बर्दघाट सुस्तापूर्व छन् ।
यस्तै लुम्बिनी प्रदेशबाट शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था बुटवल, रुपन्देहीलाई सम्मान गरिएको छ ।
कर्णाली प्रदेशबाट विजेश्वरी चौरजहारी सुख्खा खानेपानी तथा सरसफाइ उपभोक्ता र सुदुरपश्चिम प्रदेशबाट अत्तरिया साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई पनि सम्मान गरिएको छ।
सम्बन्धित खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष एवं पदाधिकारीलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खानेपानीमन्त्री प्रदीप यादव, खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य र खानेपानी तथा ढल व्यबस्थापन विभागका महानिर्देशक ई.राम कुमार श्रेष्ठले प्रशंसा पत्र र फूलमालाले सम्मान गर्नुभयो।
प्रदेशभरि सञ्चालनमा रहेका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरुले आर्थिक बर्ष २०८०/०८१ को अन्त्यसम्ममा आफ्ना उपभोक्ताको लागि प्रदान गरेको सुरक्षित खानेपानी आपूर्ति, उपभोक्ता हित एवं समिति/संस्थाको समग्र कार्य प्रगति तथा स्तरवृद्धि समेतको आधारमा प्रशंसनिय कार्य गर्ने उपभोक्ता संस्था/समितिलाई सम्मान गरिएको महानिर्देशक श्रेष्ठले बताउनुभयो।
देशभर साना ठूला गरी करिब ४५ हजार खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुले खानेपानी सेवा प्रदान गर्दै आएको बताईन्छ ।