सिमकोट : हुम्लाको सदरमुकाम सिमकोटमा वास मार्ट स्थापना गरिएको छ । सवैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता आयोजना (सुस्वा) सिमकोट गाउँपालिका वास युनिटको सहजीकरणमा वास मार्ट स्थापना गरिएको हो ।
सुस्वा लागु भएको सिमकोट गाउँपालिका भित्रका सेवाग्राहीहरुले सरसफाइका सामाग्रीहरु एउटै स्थानबाट सर्वसुलभ तरिकाले खरिद गर्न पाउन भन्ने उद्देश्यले वास मार्ट स्थापना गरिएको सिमकोट गाउँपालिका वास संयोजक धुर्ब कुमार शाहीले बताउनुभयो । वास मार्टमा नङ कटदेखि सेनिटरी प्याड, खानेपानी योजना निर्माणका सामग्री, शौचालयका सामानहरु उपलब्ध छन् ।
सिमकोटस्थित काटेचुलीमा स्थापना भएको नवनिर्माण हार्डवेयर एण्ड अर्डर सप्लायर्समा ती सामग्री पाउने ब्यवस्था गरिएको छ । सरसफाइका लागि केही समाग्रीहरु समेत आयोजनाले नमूनाका रुपमा सो मार्टमा राख्ने राखेको छ।
त्यसैगरी समुदाय स्तरमा पनि आयोजनाका कर्मचारीहरुले वास मार्टको प्रचार प्रसार गर्ने कार्य गर्नेछन् भने आयोजनाले समुदायमा सरसफाइका क्षेत्रमा काम गर्दा आवश्यक पर्ने सामग्रीहरु सो मार्टबाट खरिद गर्न समेत सिफारिस गर्नेछन् । मार्टमा सामग्रीको क्याटलक पनि सप्लायर्सलाई आयोजनाले उपलब्ध गराएको छ ।
त्यसमा सरसफाइ स्वच्छता सामग्रीको मुल्यसूची समेत राख्नु पर्नेछ । यो क्याटलक पनि आयोजनाले उपलब्ध गराएको छ । सो मार्ट स्थापना कार्यक्रममा सरसफाइ बजारीकरण अधिकृत विना बिष्ट र हुम्ला जिल्लाका वास सल्लाहकार राज कुमार डाँगी उपस्थित हुनुहुन्थ्यो। मार्टका संचालक सूर्य रावतले सरसफाइका सबै प्रकारका सामग्रीहरुमा छुटको ब्यवस्था गरिने बताउनुभयो।