हुम्ला पुगेर खानेपानीमन्त्रीले भने ‘हिमाली जिल्लाको खानेपानीको लागि नीतिमा विशेष प्रावधान राखिनेछ’

  वास खबर सम्बाददाता  156 पटक हेरिएको

हुम्ला : खानेपानीमन्त्री प्रदीप यादवले  हिमाली जिल्लाको खानेपानी, सरसफाइ र स्वच्छताको लागि नीति निर्देशिकामा विशेष सहुलियतको प्रावधान राखिने बताउनु भएको छ । खानेपानी योजनाहरुको अनुगमनका लागि हुम्ला पुग्नु भएका मन्त्री यादवले जलस्रोतहरु जोगाउन र दिगो रुपमा उपयोग गर्न समुदायसँग मिलेर काम गर्ने र यसका लागि कानुन र नीति कार्यान्वयनलाई प्रभावकारी बनाईने बताउनुभयो ।

‘खानेपानी प्रणालीहरुको दिगो सञ्चालन र व्यवस्थापका लागि स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्नेछौं’ उहाँले भन्नुभयो । उहाँले सबै नागरिकलाई स्वच्छ र सुरक्षित पानी उपलब्ध गराउने सरकारको नीति भएकाले सबै नागरिकलाई शुद्ध र सुरक्षित खानेपानीको पहुँच पु¥याउन सरकार कटिबद्ध रहेको बताउनुभयो ।


यसैका लागि हिमाली जिल्ला हुम्लाको लागि चालु आर्थिक बर्षमा सिमिकोट खानेपानी आयोजनाका लागि ५ करोड रुपैयाँ, नाम्खा गाउँपालिका ५ का लागि १० लाख रुपैयाँ, सिमकोट ढल निर्माण तथा प्रशोधन आयोजनाका लागि १० लाख रुपैयाँ र चंखेली गाउँपालिका, खार्पुनाथ, अदानचुली, सिमिकोट लगायतका गाउँहरुमा खानोपनीका लागि साना ठूला योजनाहरु सञ्चालन भैरहेको उहाँले बताउनुभयो ।

मन्त्री यादवले सिमकोट खानेपानी आयोजना सम्पन्न भएपछि सिमकोटको अधिकांश क्षेत्रलाई स्वच्छ पानी उपलब्ध हुने बताउनुभयो । यस्तै नाम्खा गाउँपालिका ५ मा निर्माणाधीन खानेपानी आयोजना सम्पन्न भएपछि त्यहाँको ग्रामीण क्षेत्रका बासिन्दालाई पानीको अभाव समाधान हुने बताउनुभयो ।


जटिल भौगोलिक संरचना, प्राविधिक जनशक्तिको अभाव, यातायातको कठिनाइ, हेलिकप्टरबाट सामग्री ढुवानी गर्नुपर्ने, बजेटको अभाव लगायत कारणले उहाँले हुम्ला जस्तो जिल्लामा खानेपानी तथा सरसफाइ आयोजनाहरु कार्यान्वयन गर्न चुनौती भैरहेको उहाँले बताउनुभयो।

विविध चुनौतीका बाबजुद पनि हुम्लाका ५ हजार भन्दा बढी घरधुरीमा सुरक्षित पानी उपलब्ध गराएको, विद्यालय र स्वास्थ्य संस्थामा आधारभूत खानेपानी र सरसफाइको व्यवस्था गरिएको र खानेपानी समस्याको दिगो समाधानका लागि खानेपानी मन्त्रालयबाट चालु आर्थिक बर्षमा १७ वटा खानेपानी आयोजनाहरु कार्यान्वयन भैरहेको उहाँले जानकारी गराउनुभयो । ‘हुम्लामा ती खानेपानी र सरसफाइ आयोजना कार्यान्वयनका लागि ८ करोड ५० लाख बजेट विनियोजन भएको छ’ उहाँले भन्नुभयो।

हुम्लाका स्थानीय बासिन्दा र सरोकारवालासँगको अन्तरक्रियामा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई.राम कुमार श्रेष्ठले हुम्ला जिल्लामा खानेपानी र ढल प्रणालीहरूको दिगो सञ्चालन र व्यवस्थापनका लागि विभागबाट प्राथमिकताका साथ समन्वय गरिने बताउनुभयो ।

अनुगमन टोलीमा खानेपानी मन्त्रालयका सचिव ई.प्रमिलादेवी शाक्या बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक रामचन्द्र काफ्ले लगायत हुनुहुन्छ ।

अनुगमनका थप फोटोहरु :


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार