
काभ्रेपलाञ्चोक : मेलम्ची खानेपानी आयोजना पछिको ठूलो खानेपानी आयोजना पाँचखाल शहरी खानेपानी तथा सरसफाइ (क्षेत्रीय) आयोजनाले सेवा प्रवाह गर्न थालेको छ । गत वैशाख महिना देखि नै आंशिक रुपमा सेवा प्रवाह गर्दै आएको आयोजनाले आइतबारदेखि आयोजना क्षेत्रका सबै घरपरिवारमा सुरक्षित खानेपानी वितरण गर्न थालेको हो ।
खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक ई.राजेन्द्र सापकोटा, पाँचखाल नगरपालिकाका मेयर महेश खरेल र निर्माण व्यवसायी तथा परामर्शदाता सहितको उपस्थितिमा पाँचखाल शहरी खानेपानी तथा सरसफाइ आयोजनाका सचिव पुष्कर ढकालको अध्यक्षतामा बसेको बैठकले निर्माण चरण अन्तर्गतका सबै संरचनाहरु सम्पन्न भइसकेको प्रमाणीकरण गरी सञ्चालन तथा मर्मत चरणमा प्रवेश गर्ने निर्णय गरेको हो।

दोलालघाटबाट पलाञ्चोक भगवतीको मन्दिरसम्म गरी ५ चरण लिफ्टिङ गरी खानेपानी वितरण गरिएको हो । खानेपानी आयोजनाबाट पाँचखाल नगरपालिकाको छ हजार ३७ घरधुरीका ३१ हजार चार सय १५ जना लाभान्वित भएका छन् ।
खानेपानी आयोजनाको सेवा प्रवाह सुरु भएसँगै निर्माण व्यवसायीले राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड अनुसारको पानी चौबीसै घण्टा उपलब्ध गराउनुपर्नेछ। निर्माण व्यवसायीले सेवा सुचारु रुपमा सञ्चालनमा ल्याउनका लागि जिम्मेवारीहरू समेत तोकिएको उपमहानिर्देशक सापकोटाले बताउनुभयो।
‘आयोजना अन्तर्गत जडान गरिएका पाइपलाइन, फिटिङ्स, पम्प, पूर्वाधारसँग सम्बन्धित संरचनाहरू, इलेक्ट्रो–मेकानिकल कार्यहरू तथा अनुगमन नियन्त्रण तथा डेटा संकलन प्रणालीको विस्तृत विवरण, सञ्चालन तथा मर्मत चरणमा निर्माण कम्पनीले गर्नुपर्ने कार्यहरूको सूची समेत तयार पारिएको छ’ उपमहानिर्देशक सापकोटाले भन्नुभयो ।
निर्माण व्यवसायीको दायित्व
√ निर्माण व्यवसायीले राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड अनुसारको पानी चौबीसै घण्टा उपलब्ध गराउनुपर्ने दायित्वका साथै अन्य निम्न दायित्वहरु बहन गर्नुपर्नेछ ।
√ दैनिक सञ्चालन तथा प्रणाली व्यवस्थापन गर्नुपर्नेछ ।
√ वातावरण संरक्षण ऐन, २०७६ का मापदण्ड, नियम, निर्देशिका तथा नीतिहरूको पालना गरी पेशागत ढंगले प्रणालीको मर्मत समेत गर्नुपर्नेछ ।
√ ठेक्का सर्त अनुसारका कार्यहरू सम्पन्न भएपछि ठेकेदारले सञ्चालन तथा मर्मत सम्बन्धी विभिन्न विवरणहरू उपलब्ध गराउनु पर्नेछ : जस्तै प्रशोधन गर्नु पूर्वको पानी, प्रशोधित पानीको मिटर रिडिङ, आपूर्ति अवधि, चुहावट विवरण, पानीको गुणस्तर विवरण र अन्य आवश्यक विवरणहरू ।
उपभोक्ता समितिको दायित्व
√ खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले सेवाका लागि निर्माण कम्पनीलाई अस्थायी कार्यालय सुविधा आफ्नो परिसरभित्र उपलब्ध गराउनुपर्नेछ ।
√ सर्वेक्षण तथा मिटर रिडिङको सम्पूर्ण कार्य खानेपानी उपभोक्ता समितिले नै गर्नुपर्नेछ ।
√ खानेपानी महसुल संकलनको काम गर्नु पर्नेछ ।
√ निर्माण कम्पनीले सम्झौता अनुसार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकाका प्राविधिक कर्मचारीहरूलाई साइटमै तालिम प्रदान गर्नुपर्नेछ ।

के हो स्काडा प्रणाली ?
पाँचखाल खानेपानी तथा सरसफाइ आयोजनामा अनुगमन नियन्त्रण तथा डेटा संकलन प्रणाली – Supervisory Control and Data Acquisition (SCADA) जडान गरिएको छ । यसले गर्दा खानेपानीका सम्पूर्ण प्रणालीहरूलाई कार्यालयबाटै निगरानी (Monitor) र नियन्त्रण (Control) गर्न सकिने विभागका उपमहानिर्देशक ई.राजेन्द्र सापकोटाले बताउनुभयो ।
यसले फिल्डमा रहेका सेन्सर तथा उपकरणहरूबाट वास्तविक समयको तथ्याङ्क हेर्न सकिन्छ । ‘यस प्रणालीले अपरेटरहरूलाई प्रणालीको कार्यक्षमता हेर्न, उपकरणहरू नियन्त्रण गर्न तथा सधैं चनाखो रहन र केही खराबी आईहाल्यो भने तत्काल मर्मत सम्भार गर्न पनि सहयोग पुर्याउँछ’ उहाँले भन्नुभयो।
कहाँ कहाँ वितरण हुँदैछ खानेपानी ?
पाँचखाल शहरी खानेपानी तथा सरसफाइ (क्षेत्रीय) आयोजना क्षेत्रका निम्न गाउँ तथा टोलहरुमा राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड अनुसारको पानी वितरण भैरहेको छ ।
पाँचखाल नगरपालिका :
√ वडा नं.- २ : तीनकुने, बग्लाडीही, द्वारेडिही, माझडिही, टाकेडिही, रातोपहिरो
√ वडा नं.- ३ : लामीडिही, जन्टाडिही, कप्लीडिही, बनियाडिही, ठुम्का, रामपुर, रामपुरडाँडा, ब्रह्मपुर, जोरपाटी, खोक
√ वडा नं.- ४ : शून्य किलो, लामीडाँडा, पाँचखाल, पुरानो बजार, तामाघाट
√ वडा नं.- ६ : दुलालथोक, बाख्रेलडिही, तीनपिप्ले बजार, एकताबस्ती, पौडेलथोक, झिंगनपुर, पीपलटार, धोतरा, ढुङ्गनाबेसी
√ वडा नं.- ७ : सिग्रामपाटी, शिखरपुर, जोरपिप्ले
√ वडा नं.- ८ : खत्तर, पडल्ला, सिम्राडी, खरानी ९माडी गाउँ०
√ वडा नं.- ९ : भीमसेनथान भेटवालथोक, डाडागाउँ, राम्चे, सातिघर, ठूलो गाउँ
√ वडा नं.- १० : नयाँगाउँ, लुइटेलगाउँ, रानीपानी, चप्कोबोट, बकुल्टार, बालुवा बजार
√ वडा नं.- ११ : लुइटेलगाउँ, देवभूमि, ओझाटार, कार्केटार, खरेलथोक, जरेटर, बकुल्टार, रानीपानी, सेराबेसी
√ वडा नं.- १२ : देवभूमि, ओझेलटार, सेराबेसी, कार्केटार, कास्कोटे, तिङघरे, नागबेली, आपघारी
छरिएर रहेका बस्तीहरुमा गाउँ नै पिच्छे खानेपानी आयोजनाहरु निर्माण गर्नु भन्दा ठूला प्रकृतिको खानेपानी आयोजना निर्माण गरी सञ्चालन गर्दा खानेपानीको गुणस्तर पनि कायम हुने र उपभोक्ता प्रति जवाफदेही हुने देखिन्छ । साना साना खानेपानी आयोजनाहरु सञ्चालन गर्दा लाग्ने लगानीलाई एकीकृत गरी ठूला प्रकृतिको खानेपानी आयोजना सञ्चालन गर्दा दिर्घकालीन पनि हुने र यसले प्रवाह गर्ने सेवाको गुणस्तर समेत राम्रो हुने पक्का छ ।
पाँचखाल शहरी खानेपानी तथा सरसफाइ आयोजना बहु लिफ्टिङ (५ चरण) प्रणालीमा सञ्चालन हुने भएकाले यसको लागत खर्च धेरै हुन्छ । बेला बखत पम्पहरु विग्रने, कुनै एक स्टेजको पम्प बिग्रिएमा पूरै खानेपानी प्रणालीको सेवा प्रभावित हुन सक्ने सम्भावना समेत हुन्छ । यसर्थ खानेपानीको दिगो सञ्चालनको चुनौतीहरु केलाएर सोही अनुरुप पूर्व तयारी गर्ने र खानेपानी उपभोक्ता समितिले व्यवसायिक योजना बनाएर सञ्चालन गर्नुपर्ने आवश्यकता देखिन्छ । खानेपानीको दिगो भविश्य यसैमा निर्भर छ ।



460 पटक हेरिएको 

