वीरगञ्जको हैजाले सिकाएको पाठ, सुरक्षित सरसफाइ कति महत्वपूर्ण छ ?

  वास खबर सम्बाददाता  282 पटक हेरिएको


काठमाडौ : वीरगञ्जमा अहिले हैजाका विरामीको संख्या एक सय नाघिसकेको छ। गएको शुक्रबार तीन जना विरामीमा देखिएको हैजा बुधबार साँझ ६ बजेसम्ममा १३२ जना पुगेको छ ।

अस्पतालका इमरजेन्सी बेडहरू बिरामीले भरिएका छन्, कतै बच्चा, कतै आमा, कतै बुबा । सबैको पीडाको मूल जरो एउटै हो, सुरक्षित खानेपानी र सरसफाइको अभाव।

वीरगञ्जको हैजाले हामीलाई एउटा ठूलो पाठ सिकाएको छ, सुरक्षित खानेपानी र सरसफाइ जीवन रक्षा गर्ने आधारभूत कुरा हो ।

वीरगञ्ज महानगरकी रमिला देवी आफ्ना दुई छोराछोरी लिएर अस्पताल धाउँदा धाउँदा थाकिसक्नु भएको छ । बिहान स्वस्थ देखिएका बच्चा दिउँसोमै पखाला र बान्ताले निस्तेज भएपछि रमिलाको बास अहिले घरमा छैन । डाक्टरको भनाइ छ “यो हैजाको लक्षण हो, परिक्षण गरेपछि मात्र थाहा हुन्छ।”
रमिला मात्र होइनन्। सयौँ परिवार अहिले उस्तै त्रासमा बाँचिरहेका छन्।

हामीले आजै बाटो बदलेनौं भने, भोलि अर्को सहर वा गाउँ पनि यस्तै विपत्तिमा फस्न सक्छ।

हिजोसम्म टोलभरिका धारा र इनारबाट पानी ल्याउने बानी सामान्य थियो। तर कसले सोचेको थियो र ? त्यही पानीले हैजाको शिकार होला भन्ने कुरा ?

सुरक्षित खानेपानी र सरसफाइ किन ?

हैजा केवल एउटा रोग मात्र होइन, यो हाम्रो चेतनाको परीक्षा हो। सुरक्षित खानेपानी र सरसफाइबिना कुनै पनि समुदाय सुरक्षित हुनै सक्दैन। स्वस्थ जीवनका लागि मानव मलमूत्रको असुरक्षित विसर्जन सबैभन्दा घातक बानी हो ।

त्यसैले शौचालयमा मात्र दिसापिसाब गर्ने, शौचालयको सेप्टिक ट्याङ्क नचुहिने वा जमिनमा नरसाउने खालको निर्माण गर्नुपर्छ । वा शौचालयको सेप्टिक ट्याङ्क र चापाकलको दुरी व्यवस्थित गरिएको हुनुपर्छ, यसका अलावा

√ पानी उमालेर वा फिल्टर प्रयोग गरेर मात्र पिउनुपर्छ।

√  शौचालय प्रयोग गर्ने संस्कार अझै पनि कतिपय स्थानमा अपूर्ण छ, जसले रोगलाई निम्त्याउँछ।

√  हात धुने सानो बानीले पनि ठूलो रोग रोक्न सक्छ।

यी कुरा सुनिँदा सामान्य लागेपनि वीरगञ्जको यो संकटले देखाइदिएको छ कि यिनै आधारभूत अभ्यासलाई बेवास्ता गर्दा जीवन नै संकटमा पर्छ।

वीरगञ्जको यो पीडादायी अनुभवले हामीलाई सम्झाइरहोस्, स्वस्थ जीवन यापनका लागि सुरक्षित खानेपानी र सरसफाइ अपरिहार्य कुरा हो ।

तथ्याङ्कले के भन्छ ?

विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वभर हैजाका प्रत्येक प्रकोप पानी र सरसफाइसँग प्रत्यक्ष जोडिएका हुन्छन्। हालै विश्व स्वास्थ्य संगठन र युनिसेफले संयुक्त रुपमा तयार पारेको Joint Monitoring Programme (JMP) को तथ्याङ्कले नेपालमा प्रत्येक ५ जनामध्ये २ जनासँग सुरक्षित सरसफाइ सुविधा नभएको देखाएको छ ।

यस्तै प्रत्येक ४ जनामध्ये १ जनासँग सुरक्षित रूपमा व्यवस्थापन गरिएको खानेपानी सेवा छैन भने प्रत्येक ३ जनामध्ये १ जनासँग आधारभूत हातधुने सुविधा छैन।

यो तथ्याङ्क केवल रिपोर्टको पानामा मात्र सीमित छैन । यसले वीरगञ्जका बासिन्दाको वर्तमान यथार्थलाई छर्लङ्ग पारेको छ ।

पानी उमालेर पिउने, साबुनले हात धुने जस्ता सानो बानी पनि सयौँ जीवन बचाउने कवच बन्न सक्छ।

कसको भूमिका के ?

संकटको बेला अस्पतालमा उपचार महत्वपूर्ण हुन्छ। तर दीर्घकालीन समाधान भने समुदायमै खोज्नुपर्छ।

√ स्थानीय तह तथा खानेपानी सेवा प्रदायकले सुरक्षित खानेपानी मात्र वितरण सुनिश्चित गर्नुपर्छ। विद्यालय र समुदायमा सरसफाइ सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ।

√ प्रत्येक घर–घरमा साबुनपानीले हात धुने बानी बसाल्नुपर्छ।

√ यी साना पहलले ठूलो परिवर्तन ल्याउन सक्छन्।

सुरक्षित पानीको कमाल

वीरगञ्जकै अर्का बासिन्दा हरीलाल यादवको परिवारले केही वर्षदेखि बायोस्यान्ड फिल्टर प्रयोग गर्दै आउनु भएको छ। उहाँका छोराछोरी अझै स्वस्थ छन्। उहाँ गर्वका साथ भन्नुहुन्छ “सुरक्षित पानी त केवल सजिलो होइन, जीवनरक्षक हुन्छ।” यसरी व्यक्तिगत स्तरमै पनि सचेत बन्दै गए, समुदायले ठूलो जोखिमलाई टार्न सक्छ।

वीरगञ्जको हैजाले हामीलाई एउटा ठूलो पाठ सिकाएको छ, सुरक्षित खानेपानी र सरसफाइ कुनै विलासिता होइन, जीवन रक्षा गर्ने आधारभूत कुरा हो । यदि हामीले आजै बाटो बदलेनौं भने, भोलि अर्को सहर वा गाउँ पनि यस्तै विपत्तिमा फस्न सक्छ।

अब आवश्यक छ, सरकार, समुदाय र प्रत्येक व्यक्तिले हातेमालो गरेर सुरक्षित खानेपानी र सरसफाइलाई पहिलो प्राथमिकता दिनुपर्छ । पानी उमालेर पिउने, साबुनले हात धुने जस्ता सानो बानी पनि सयौँ जीवन बचाउने कवच बन्न सक्छ।

वीरगञ्जको यो पीडादायी अनुभवले हामीलाई सम्झाइरहोस्, स्वस्थ जीवन यापनका लागि सुरक्षित खानेपानी र सरसफाइ अपरिहार्य कुरा हो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार