
तनहुँ : चाडपर्वलाई स्वच्छ, हरित र पर्यावरणमैत्री बनाउने उद्देश्यले व्यास नगरपालिकाले प्लास्टिकजन्य कृत्रिम फूलगुच्छा, माला तथा सजावटी सामग्रीको उत्पादन, आयात, बिक्री–वितरण, भण्डारण र प्रयोगमा पूर्ण रूपमा रोक लगाएको छ।
नेपाल सरकारको निर्णय तथा प्रचलित कानुनबमोजिम यस्ता प्लास्टिकजन्य सामग्रीमा प्रतिबन्ध लगाइएको स्मरण गराउँदै नगरपालिकाले सोमबार सूचना जारी गरी व्यास क्षेत्रभित्र यस्ता सामग्रीको कारोबार तथा प्रयोग नगर्न सर्वसाधारण र व्यवसायीलाई आग्रह गरेको हो।
नगरपालिकाले जारी गरेको सूचना पालना भए–नभएको विषयमा बजार तथा व्यावसायिक क्षेत्रमा नियमित अनुगमन गरिने जनाएको छ। अनुगमनका क्रममा कानुनविपरीत प्लास्टिकजन्य सामग्रीको कारोबार वा प्रयोग गरेको पाइएमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिनुभयो।
वातावरण संरक्षण र स्थानीय किसानलाई प्रोत्साहन
प्लास्टिकजन्य माला र सजावटी सामग्रीले वातावरण तथा सार्वजनिक स्वास्थ्यमा दीर्घकालीन असर पार्ने भएकाले नगरपालिकाले यस्तो कदम चालेको हो। प्रमुख प्रशासकीय अधिकृत लम्सालका अनुसार प्लास्टिकको माला एक दिनका लागि प्रयोग भए पनि त्यसबाट निस्कने फोहोर वर्षौँसम्म नष्ट नहुने भएकाले प्राकृतिक फूलका माला प्रयोगलाई प्रोत्साहन गर्ने निर्णय गरिएको हो।
यस अभियानअन्तर्गत नगरपालिकाले आफ्ना कार्यालय परिसर तथा औपचारिक कार्यक्रमहरूमा पनि प्राकृतिक फूलका माला र स्थानीय उत्पादनलाई प्राथमिकता दिने निर्णय गरेको छ।
यस निर्णयबाट नगरभित्रका फूल उत्पादक कृषकलाई प्रत्यक्ष लाभ पुग्नुका साथै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।
व्यास नगरपालिकाले वातावरण संरक्षण तथा ‘स्वच्छ तथा समृद्ध व्यास नगर’ बनाउने अभियानअन्तर्गत सबै नगरवासीलाई प्राकृतिक फूल तथा वातावरणमैत्री सामग्री मात्र प्रयोग गर्न अपिल गरेको छ।


129 पटक हेरिएको 

