
सुर्खेत : विश्व हात धुने दिवस २०२६ को अवसरमा कर्णाली प्रदेशमा साबुनपानीले हात धुने बानी प्रवर्द्धन गर्न सञ्चालन गरिएको पाँच दिने डिजिटल अभियानले उल्लेखनीय सहभागिता र पहुँच हासिल गरेको छ। ‘हात धुने नायक बनौँ’ भन्ने सन्देशसहित सञ्चालित अभियानका सामग्रीले पाँच दिनमै सामाजिक सञ्जालमा करिब पाँच लाख सम्म पहुँच हासिल गरेको गरेको हो।
सबैका लागि दिगो खानेपानी, सरसफाइ र स्वच्छता आयोजना (सुस्वा) को अगुवाइमा सञ्चालन गरिएको डिजिटल चुनौतीमा सयौँ सहभागीले टिकटक र फेसबुकमार्फत सिर्जनात्मक भिडियो, जनचेतनामूलक सन्देश तथा हात धुने अभ्याससम्बन्धी सामग्री प्रसार गरेका थिए। छोटो अवधिमा प्राप्त सहभागिता र पहुँचले सरसफाइसम्बन्धी जनचेतना अभिवृद्धि गर्न डिजिटल माध्यम प्रभावकारी हुन सक्ने देखाएको छ।
अभियानमा डिजिटल प्रभावकर्ता हुम्ली बुहारी र मानबहादुर कुँवर (भैरे) लगायतको सहभागिताले हात धुने सन्देशलाई थप जनमुखी बनाउन सहयोग पुगेको आयोजकले जनाएको छ।
डिजिटल चुनौतीको समापनका अवसरमा सुस्वाको आधिकारिक टिकटक च्यानलबाट प्रत्यक्ष प्रसारण (लाइभ) कार्यक्रम आयोजना गरी विजेताहरू घोषणा गरिएको थियो। कार्यक्रममा सञ्चारकर्मी, कलाकार तथा सुस्वा टोलीका प्रतिनिधिहरूले साबुनपानीले हात धुने बानीले स्वास्थ्य सुरक्षा, व्यक्तिगत मर्यादा र सम्मानजनक जीवनमा पार्ने सकारात्मक प्रभावबारे धारणा राखेका थिए।

स्थानीय तह देखि समुदायसम्म हात धुने सन्देश
डिजिटल अभियानसँगै सुस्वा कार्यरत सबै स्थानीय तहमा पनि हात धुने प्रदर्शन, सरसफाइ अभियान तथा जनचेतनामूलक गतिविधि सञ्चालन गरिएको थियो। ती कार्यक्रममा स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि र समुदायका सदस्यहरूको सहभागिता रहेको थियो।
साबुनपानीले हात धुने बानीलाई दैनिक जीवनको अभिन्न हिस्सा बनाउने उद्देश्यले सञ्चालन गरिएका यस्ता गतिविधिले व्यक्तिगत सरसफाइको महत्त्व बुझाउन र समुदायमा व्यवहार परिवर्तनका लागि प्रेरित गर्न सहयोग पुग्ने सुस्वाका सरसफाइ तथा स्वच्छता विज्ञ गोविन्दराज रोकायाले बताउनुभयो ।

अभियानमा सामाजिक विकास मन्त्रालय, संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ), सुस्वा, स्थानीय तहका खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) इकाइहरू र अन्य विकास साझेदार निकायले नेतृत्व तथा सहकार्य गरेका थिए। अभियानलाई सफल बनाउन डिजिटल प्रभावकर्ता, सञ्चारकर्मी, कलाकार, विद्यालय र समुदायले पनि योगदान दिएका थिए।
हात धुने बानी जीवनभरका लागि
विश्व हात धुने दिवसले साबुनपानीले हात धुनु सामान्य सरसफाइको अभ्यास मात्र नभई स्वास्थ्य संरक्षण र रोगको जोखिम न्यूनीकरणका लागि महत्त्वपूर्ण व्यवहार भएको सन्देश दिन्छ।
शौचालय प्रयोग गरेपछि, खाना बनाउनुअघि, खाना खानुअघि तथा हात फोहोर हुने वा संक्रमणको जोखिम रहने अन्य अवस्थामा साबुनपानीले हात धुनु आवश्यक हुन्छ।

कर्णालीमा सञ्चालन गरिएको अभियानले हात धुने सन्देशलाई डिजिटल माध्यम र समुदायस्तरका गतिविधि मार्फत एकसाथ प्रवाह गरेको छ। अभियानको मुख्य सन्देश पनि हात धुने अभ्यासलाई कुनै दिवस वा सीमित अवधिको अभियानमा मात्र नराखी दैनिक जीवनको नियमित बानीका रूपमा विकास गर्नु रहेको सुस्वाका सरसफाइ तथा स्वच्छता विज्ञ गोविन्दराज रोकायाले बताउनुभयो ।
सफा हात, स्वस्थ जीवन र सम्मानित भविष्यको लक्ष्य हासिल गर्न आफूले नियमित रूपमा हात धुने र परिवार, विद्यालय तथा समुदायका अन्य सदस्यलाई पनि त्यसका लागि प्रेरित गर्ने बानी विकास गर्न आवश्यक छ।


231 पटक हेरिएको 

