
बाँके : आधारभूत सरसफाइ र स्वच्छतालाई नागरिकको मौलिक आवश्यकता मानिएपनि बाँके जिल्लामा अझै १२ हजारभन्दा बढी घरधुरी शौचालयविहीन रहेको एक तथ्याङ्कले देखाएको छ । जिल्लाका आठवटै स्थानीय तहमा गरी १२ हजार २८८ घरधुरीमा शौचालय नभएको तथ्याङ्क सार्वजनिक भएको हो ।
२०७८ सालमा गरिएको जनगणनाको तथ्याङ्क अनुसार, बाँकेमा ९.५ प्रतिशत घरधुरीमा शौचालय नभएको देखिएको जिल्ला समन्वय समिति बाँकेले जनाएको छ । जिल्लामा कुल एक लाख २९ हजार २३४ घरधुरीको तथ्याङ्कमध्ये एक लाख १६ हजार ९४६ घरधुरीमा कुनै न कुनै प्रकारको शौचालय रहेको देखिन्छ ।
सो बमोजिम जिल्लाका करिब ९०.५ प्रतिशत घरधुरीमा शौचालयको पहुँच पुगेको छ भने ९.५ प्रतिशत घरधुरी अझै शौचालयविहीन रहेको तथ्याङ्कले देखाएको जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले बताउनुभयो ।
उहाँले तथ्याङ्कअनुसार जिल्लाका स्थानीय तहमध्ये डुडुवा गाउँपालिकाको अवस्था सबैभन्दा कमजोर देखिएको जनाउँदै डडुवामा कुल आठ हजार ५१ घरधुरीमध्ये तीन हजार २४ घरधुरीमा शौचालय नरहेको बताउनुभयो । सो पालिकामा कुल घरधुरीको ३७.६ प्रतिशतमा मात्रै शौचालय रहेको छ ।
त्यसैगरी, नरैनापुर गाउँपालिकामा आठ हजार ४८८ घरधुरीमध्ये एक हजार ६०८ घरधुरीमा शौचालय छैन । यो कुल घरधुरीको १८.९ प्रतिशत हो । जानकी गाउँपालिकामा आठ हजार ८२६ घरधुरीमध्ये एक हजार ५०१ घरधुरी अर्थात् १७ प्रतिशतमा शौचालयको पहुँच नरहेको तथ्याङ्कले देखाएको प्रमुख चौधरीले बताउनुभयो ।
सोही प्रकारले जिल्ला सदरमुकाम नेपालगन्ज उपमहानगरपालिकाका अनुसार तीन हजार ७८ घरधुरी शौचालयविहीन रहेको तथ्याङ्क छ । उपमहानगरका कुल ३४ हजार ५६५ घरधुरीमध्ये ८.९ प्रतिशत घरधुरीमा शौचालय छैन ।
जिल्ला समन्वय समितिका अनुसार बाँकेका स्थानीय तहमध्ये शौचालयको पहुँचका हिसाबले कोहलपुर नगरपालिकाको अवस्था तुलनात्मक रूपमा राम्रो देखिएको छ । कोहलपुरका कुल २४ हजार १८३ घरधुरीमध्ये ५३१ घरधुरीमा मात्रै शौचालय छैन । बैजनाथ गाउँपालिकामा १६ हजार ४६९ घरधुरीमध्ये ५०७ घरधुरी अर्थात् ३.१ प्रतिशतमा शौचालय छैन ।
खजुरा गाउँपालिकामा १३ हजार ७०६ घरधुरीमध्ये ९५९ घरधुरी अर्थात् ७ प्रतिशत शौचालयविहीन रहेका छन् । राप्ती सोनारी गाउँपालिकामा १४ हजार ९४६ घरधुरीमध्ये एक हजार ८० घरधुरीमा शौचालय छैन । यो कुल घरधुरीको ७.२ प्रतिशत हो ।
जिल्लामा शौचालयको हालको अवस्था पत्ता लगाउन नयाँ सर्वेक्षण गरेर शौचालय नभएका घरहरुमा निर्माण गराउन लगाउनुपर्ने जिल्ला समन्वय समिति बाँकेका प्रमुख चौधरीले बताउनुभयो । यो खबर गोरखापत्र अनलाइनले प्रकाशन गरेको छ।


52 पटक हेरिएको 

