
धारा टाढा हुँदा महिलाको समय मात्रै खर्च हुँदैन, असुरक्षा पनि बढ्छ। शौचालय सुरक्षित नहुँदा गोपनीयता र मर्यादा माथि प्रश्न उठ्छ। महिनावारीका बेला आवश्यक पानी र सुविधा नहुँदा महिलाले अपमान, विभेद र हिंसा समेत भोग्नुपर्छ।
बिहान उज्यालो नहुँदै पानी लिन घरबाट निस्कनुपर्ने बाध्यता, पानीको मुहान सम्म पुग्ने अप्ठ्यारो बाटो, सार्वजनिक शौचालय प्रयोग गर्दा भोग्नुपर्ने असुरक्षा र महिनावारीका बेला आवश्यक गोपनीयता नपाउँदाको पीडा। यी सबै अवस्था महिलाका दैनिक जीवनसँग जोडिएका छन्।
खानेपानी र सरसफाइको अभावलाई सामान्यतया पूर्वाधार, स्वास्थ्य र विकासको समस्याका रूपमा मात्रै हेरिन्छ। तर यसको अर्को गम्भीर पाटो पनि छ, त्यो हो महिलामाथि पर्ने असमान बोझ, असुरक्षा र हिंसाको जोखिम।

घरमा खानेपानीको सुविधा नहुँदा पानीको जोहो गर्ने जिम्मेवारी प्रायः महिला र किशोरीकै काँधमा आउँछ। घण्टौँ हिँडेर पानी ल्याउनुपर्ने, लामो समय लाइनमा बस्नुपर्ने र दिनमा पटक पटक पानी ओसार्नुपर्ने बाध्यताले उनीहरूको समय, श्रम र स्वास्थ्यमा असर पार्छ। अझ पानी लिन जाने बाटो असुरक्षित छ भने उनीहरू दुर्व्यवहार, यौन दुर्व्यवहार र हिंसाको जोखिममा समेत पर्न सक्छन्।
यो कुनै अनुमान होइन। नेपालमै गरिएको एक अध्ययनले खानेपानी, सरसफाइ तथा स्वच्छताको अवस्था र महिलाले भोग्ने घरेलु हिंसाबीचको सम्बन्धलाई उजागर गरेको छ।
सन् २०२५ नोभेम्बरमा Health & Place जर्नलमा प्रकाशित ‘From sanitation to safety: Investigating the link between water, sanitation and hygiene and intimate partner violence in Nepal’ शीर्षकको अध्ययनले नेपालका ५ हजार १७८ महिला तथा किशोरीसम्बन्धी तथ्याङ्क विश्लेषण गरेको थियो।
विश्वव्यापी रूपमा घरपरिसरमा खानेपानी सुविधा नभएका १० मध्ये ७ घरपरिवारमा पानी सङ्कलनको जिम्मेवारी महिला तथा किशोरीको हुन्छ।
अध्ययनले खानेपानी तथा सरसफाइको राम्रो पहुँचले महिनावारी स्वच्छता अभ्यासमा सकारात्मक प्रभाव पार्ने र राम्रो महिनावारी स्वच्छता अभ्यास घरेलु हिंसाको कम जोखिमसँग सम्बन्धित रहेको देखाएको छ। तर परिवारभित्रको नियन्त्रणकारी व्यवहार कायम रहेमा यस्तो सकारात्मक प्रभाव कमजोर हुन सक्ने पनि अध्ययनले औँल्याएको छ।
यसले एउटा महत्त्वपूर्ण कुरा स्पष्ट पार्छः खानेपानी र सरसफाइको सुविधा विस्तार मात्रै पर्याप्त हुँदैन, महिलामाथि हुने विभेद र नियन्त्रणकारी सामाजिक व्यवहारमा पनि परिवर्तन आवश्यक छ।
पानी लिन जाँदा जोखिम, शौचालय जाँदा असुरक्षा

खानेपानीको स्रोत घरबाट टाढा हुँदा महिलाले दैनिक रूपमा लामो दूरी हिँड्नुपर्ने हुन्छ। कतिपय ठाउँमा बिहान सबेरै वा साँझ परेपछि मात्रै पानी लिन जाने अवस्था हुन्छ। यस्तो समयमा एक्लै हिँड्नुपर्ने बाध्यताले उनीहरूको व्यक्तिगत सुरक्षामा जोखिम थप्छ।
नेपालमा आर्थिक वर्ष २०८१/८२ को तथ्याङ्कअनुसार घरपरिसरबाहिरबाट पानी सङ्कलन गर्ने १० वर्षमाथिका व्यक्तिमध्ये ७१.१ प्रतिशत महिला र १७.५ प्रतिशत पुरुष छन्।
संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सन् २०२३ को संयुक्त प्रतिवेदन अनुसार घरपरिसरमै खानेपानीको सुविधा नभएका १० मध्ये ७ घरपरिवारमा महिला तथा किशोरीले पानी सङ्कलनको जिम्मेवारी सम्हाल्छन्। पानी ल्याउनकै लागि खर्च गर्नुपर्ने समयले उनीहरूको पढाइ, रोजगारी, आराम र सामाजिक सहभागितामा समेत असर पार्छ।
त्यस्तै, घरबाहिर वा साझा शौचालय प्रयोग गर्नुपर्ने महिलाले गोपनीयता र सुरक्षाको समस्या भोग्नुपर्ने प्रतिवेदनले उल्लेख गरेको छ। रातिको समयमा शौचालय जानुपर्ने, सुरक्षित ढोका र पर्याप्त प्रकाश नहुनु तथा शौचालयसम्म पुग्ने बाटो सुनसान हुनुले महिलालाई दुर्व्यवहार र यौन हिंसाको जोखिममा पार्न सक्छ।
नेपालमा पनि सार्वजनिक तथा सामुदायिक शौचालयको अवस्था, स्थान, प्रकाश, ढोका र पानीको उपलब्धताले महिलाको सुरक्षामा प्रत्यक्ष प्रभाव पार्छ। शौचालय त छ, तर भित्रबाट चुकुल लगाउन मिल्दैन, पानी छैन वा प्रयोग गर्न सुरक्षित महसुस हुँदैन भने त्यस्तो संरचनाले महिलाको आवश्यकता पूरा गर्न सक्दैन।
महिनावारीमा सुविधा नहुँदा अपमान र विभेद

महिनावारी प्राकृतिक जैविक प्रक्रिया हो। तर यसका लागि आवश्यक पानी, साबुन, सफा शौचालय, प्याड परिवर्तन गर्ने सुरक्षित स्थान र फोहोर व्यवस्थापनको सुविधा नहुँदा महिलाले थप कठिनाइ भोग्नुपर्छ।
विद्यालय, कार्यस्थल र सार्वजनिक स्थानमा महिलामैत्री शौचालय नहुँदा किशोरी तथा महिलाले महिनावारीका बेला असहजता, अपमान र विभेद सहनुपर्ने अवस्था आउँछ। कतिपयले शौचालयको अभाव वा गोपनीयता नहुँदा विद्यालय तथा कामबाट टाढिनुपर्ने अवस्था पनि भोग्छन्।
नेपालमै ५ हजार १७८ महिला तथा किशोरीको तथ्याङ्कमा आधारित सन् २०२५ को अध्ययनले WASH सुविधा, महिनावारी स्वच्छता र घरेलु हिंसाबीच सम्बन्ध रहेको देखाएको छ।
त्यसमा पनि महिनावारीलाई अशुद्धता वा छुवाछुतसँग जोड्ने सामाजिक सोचले महिलामाथि थप मानसिक तथा सामाजिक हिंसा निम्त्याउँछ। पानी र सरसफाइको सुविधा नहुनु एउटा समस्या हो भने महिनावारीकै कारण महिलालाई घर, समुदाय र सार्वजनिक जीवनमा विभेद गर्नु अर्को गम्भीर समस्या हो।
हिंसा विरुद्धको अभियानमा WASH को सवाल
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरिन्छ। यो अभियानले महिलामाथि हुने शारीरिक, मानसिक, यौन तथा आर्थिक हिंसाविरुद्ध आवाज उठाउने अवसर प्रदान गर्छ।
तर लैङ्गिक हिंसाको सवाललाई घरभित्र हुने हिंसा वा प्रत्यक्ष दुर्व्यवहारमा मात्रै सीमित गर्नु हुँदैन। महिलालाई सुरक्षित खानेपानीको पहुँचबाट वञ्चित गर्नु, पानी ओसार्ने सम्पूर्ण जिम्मेवारी उनीहरूमाथि थोपर्नु, सुरक्षित शौचालयको व्यवस्था नगर्नु र महिनावारीका बेला आवश्यक सुविधा उपलब्ध नगराउनु पनि लैङ्गिक असमानतासँग जोडिएका सवाल हुन्।

यसको समाधानका लागि घरपरिसरमै पर्याप्त र सुरक्षित खानेपानीको व्यवस्था गर्नुपर्छ। पानीका स्रोत तथा सार्वजनिक शौचालय महिलाका लागि सुरक्षित स्थानमा निर्माण गर्नुपर्छ। शौचालयमा पर्याप्त प्रकाश, भित्रबाट बन्द गर्न मिल्ने ढोका, पानी, साबुन र महिनावारी स्वच्छता व्यवस्थापनको सुविधा हुनुपर्छ। विद्यालय, स्वास्थ्य संस्था, कार्यस्थल र सार्वजनिक स्थानका सरसफाइ संरचना पनि महिलाको आवश्यकता र सुरक्षालाई ध्यानमा राखेर निर्माण गर्नुपर्छ।
त्यसैगरी खानेपानी तथा सरसफाइ सम्बन्धी योजना निर्माण, बजेट विनियोजन, कार्यान्वयन र अनुगमनमा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न आवश्यक छ। पानीको सुविधा विस्तार गर्दा महिलाको समय, श्रम, सुरक्षा र निर्णय प्रक्रियामा उनीहरूको पहुँचलाई पनि प्राथमिकता दिनुपर्छ।
लैङ्गिक हिंसाविरुद्धको अभियानले एउटा प्रश्नको जवाफ खोज्नुपर्छ, महिला घरबाट पानी लिन निस्कँदा सुरक्षित छन् ? सार्वजनिक शौचालय प्रयोग गर्दा उनीहरूले सम्मान र गोपनीयता महसुस गर्न सक्छन् ? महिनावारी हुँदा आवश्यक सुविधा सहजै पाउँछन् ?
यी प्रश्नको सकारात्मक जवाफ दिन सक्ने अवस्था निर्माण गर्नु पनि लैङ्गिक हिंसा विरुद्धको अभियानकै महत्त्वपूर्ण उपलब्धि हुनेछ।
किन भने महिला हिंसामुक्त समाज निर्माण गर्न हिंसा भएपछि न्याय दिने व्यवस्था मात्रै पर्याप्त हुँदैन। हिंसा र असुरक्षा जन्माउने संरचना, विभेद र असमानता हटाउनु पनि उत्तिकै आवश्यक छ। सुरक्षित खानेपानी र मर्यादित सरसफाइ त्यसको एउटा आधार हो।


50 पटक हेरिएको 

