काठमाडौं : काठमाडौ उपत्यकाका नेवार समुदायले आज सिथि नखः पर्व मनाउँदैछन् । कुमार षण्ठी तिथिका दिन पर्ने यो पर्वमा कार्तिकेय कुमारको पूजा गर्ने चलन छ । काठमाडौको जैसीदेवलमा रहेको कार्तिकेय कुमारको मन्दिरमा ६ किसिमको रोटी र ६ किसिमकै तरकारी चढाएर पूजा गर्ने गरिन्छ ।
सिथि नखः पर्व मुख्य रुपमा इनार कुवा, पोखरी लगायत पानीका श्रोतहरुको सरसफाइ गर्ने गरिन्छ । उपत्यका एकताका पानीले भरिएको तलाउ थियो । भनिन्छ, महामञ्जुश्रीले चोभार डाँडा काटेर तलाउको पानी बाहिर पठाई बस्ती बसाएका थिए । उपत्यकामा अहिले पानीको अभाव छ ।
यस अभावलाई बेलैमा उचित उपायद्धारा पूरा गर्ने पहल भएन भने यस समस्याले विकराल रूप लिने खतरा छ । पन्ध्रैं शताब्दीदेखि पानीको आपूर्ति व्यवस्थित गर्न मानिसहरूले पानी जम्मा गर्ने इनार, ढुङ्गेधारा बनाउने काम गर्दै आए । पानीलाई धर्मसँग गाँसेर धार्मिक कीर्ति राख्ने ठाउँ सत्तल, पाटी मन्दिर बनाउने संस्कार बन्दै गयो । यसको साथसाथै ढुङ्गेधारा पनि बनाउने चलन बस्दै गयो ।
यसको लागि पानीको मुहानदेखि सुरक्षितरूपमा पानी ल्याउने प्रविधिको विकास भयो । सामान्य जनताले पानी उपभोग गर्न सकुन् भनेर राज्य कोषबाटनै खर्च गरेर धारा बनाउने काम भएइको इतिहास छ। राजपरिवार नै अग्रसर भएर सार्वजनिक ढुङ्गेधारा, पोखरी आदि बनाएको पनि इतिहासस छ । अनि यस्ता धारालाई सकेसम्म कलात्मक रूप दिन धारामा कलात्मक प्रस्तर मूर्ति गर्ने चलन बसेको हो ।
यसको ज्वलन्त उदाहरणको रूपमा काठमाडौं र पाटनको सुन्धारलाई लिन सकिन्छ । सन् १८९१ मा वीर शम्सेरले पाइप लाइनबाट पानी आपूर्ति गर्ने वीरधारा बनाउनुभन्दा अगाडिसम्म उपत्यकाको सम्पूर्ण पानी आपूर्ति ढुङ्गेधारा, इनार, कुवा, खोला आदिबाट हुँदैआएको थियो । ढुङ्गेधाराबाट दिनरात बग्ने पानी खेर जान नदिनको लागि ढल विकास व्यवस्था यसको दायाँ बाँया खाल्डो बनाएर पानी थुपार्ने र नजिकै इनार खनेर पानीलाई सुरक्षित गरिराख्ने प्रविधिपनि यहाँका आदिवासीले प्राचिन कालदेखिनै प्रयोगमा ल्याइसकेका थिए ।
यस प्रविधिले उपत्इकामा चाहिने पानीको सजिलै आपूर्ति भइरहेको थियो । हाम्रा पूर्वजले पानीलाई धार्मिक, सांस्कृतिक र सामाजिक आस्थासँग जोडेर यसको समुचित्त उपयोग र संरक्षण गरिआएका थिए । पानीको स्रोतको रूपमा खोलालाई पवित्र ठानेर त्यस्तो ठाउँमा फोहर नगर्ने, पानी जम्मा हुने पोखरी, कुवा सफा गर्ने र इनार लिप्ने भनेर इनार सफा गर्ने चलनलाई धार्मिक र सास्कृतिक आस्थासँग जोडिएको छ ।
यसै काममा खासगरी सिथि नख : को दिन इनार सफा गर्ने प्रचलन उपत्यकाका रैथाने समुदायमा सास्कृतिक रूपमा रहिआएको छ । अझ अधिकांश ठाउँमा इनार सफा गर्ने काम सांस्कृतिक रूपमा रहिआएको छ । अझ अधिकांश ठाउँमा इनार सफा गर्ने काम संगठितरूपमा गराउन र समुदायहरूलाई प्रतिनिधित्व गराउन गुथीको समेत व्यवस्था गरेको छ ।
सिथि नखः कै दिन पानीका मुहानहरू इनार, कुवा ढुङ्गेधारा सफा गर्नको पछाडि भौगोलिक र वैज्ञानिक कारण पनि छ । कुमार पष्ठी पनि भनिने यस दिन वर्षा शुरू हुने याममा पर्छ । यस समयमा पानीको सतह पूर्ण रूपमा घट्ने कारण इनार कुवा, पोखरी र ढुङ्गेधारा सजिलै सफा गर्न सकिन्छ । पानीमा बस्ने नाग त्यस दिन देवाली मनाउन अन्यत्रै जाने धार्मिक विश्वासको कारण पनि सो दिन पानीका मुहान सरसफाइ गर्ने चलन बसेको हो । यस्तो सांस्कृतिक एवं परम्परागत मौलिक प्रविधिको महत्व नबुझेर मानिसहरूले यस परम्परालाई बिस्तारै बिर्सदै गइरहेको छन् ।
परम्परागत पानीको स्रोत लोप हुँदै जानुको मुख्य कारण पाइपबाट पानी वितरण गर्ने चलन आएपछि परम्परागत स्रोतलाई कममात्र महत्व दिनु र विकासको नाममा अव्यवस्थित सहरीकरणलाई ठूलो गल्ली भएको छ । लोपोन्मुख प्राचीन संस्कृति र प्रविधिलाई आजको परिवेशअनुसार सिथि नखः को दिन पानीको उपयोग व्यवस्थित गर्न, यसको मुहानलाई सफा गर्न पानी सदुपयोग र सरसफाइ दिवसको रूपमा मनाउने र यसको प्रचारप्रसार गर्ने अभियान समयसापेक्ष छ ।
मानिसलाई परम्परागत पानी सम्पदा र पानीको मुहान सफा गर्नुपर्छ भन्ने चेतना जगाउन सकियो भने अहिले भइरहेको प्राकृति पानीको आपूर्तिको अनेक स्रोतको उचित प्रयोग गर्न र उपत्यकामा विद्यमान पानीको समस्या पनि समाधन गर्न सकिन्छ । यसको लागि सबैभन्दा ठूलो पाइला भनेको पानीको मुहानको सरसफाइ विषयमा जनतालाई जागृत गराउनु हो । यसलाई दिवसको रूपमा मनाउने प्रचारप्रसार गरेर नेपालीको चाड सिथि नखः लाई दायित्व दिन सके पानीको समस्याबाट अवश्य पनि मुक्ति पाउन सकिन्छ


2140 पटक हेरिएको 

