भीष्म लोध
नेपालगञ्ज– महिनावारीलाई सुरक्षित व्यवस्थापन गर्न बाँके तथा बर्दियाका किशोरीहरुलाई प्याड निर्माण सम्बन्धीको सीप प्रदान गरिएको छ । बाँके तथा बर्दियाका बिभिन्न गाउँपालिका, नगरपालिकाका समुदायबाट सहभागी किशोरीहरुलाई महिनावारीलाई सुरक्षित बनाउन उक्त सीप प्रदान गरिएको हो ।

प्लानका सरसफाइ कार्यक्रम संयोजक केशव सुबेदीले महिनावारीलाई सुरक्षित तरिकाले व्यवस्थापन गर्न नसकेकै कारण धेरैजसो किशोरीहरु बिद्यालय छाड्ने बाध्यता रहेको बताउनुभयो ।
महिनावारी सम्बन्धी अभिमुखिकरण समेत प्रदान गरिएको तालिमले भविष्यमा स्थानीयस्तरमा सस्तो मुल्यमा प्याड किन सक्ने अवस्था सृजना गर्न स्थानीय महिला तथा किशोरीलाई सीप प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको गेरुवाका टिम लिडर केशव राणाले जानकारी दिनुभयो ।

कार्यक्रमको समापन अवसरमा बोल्दै प्लानका सरसफाइ कार्यक्रम संयोजक केशव सुबेदीले महिनावारीलाई सुरक्षित तरिकाले व्यवस्थापन गर्न नसकेकै कारण धेरैजसो किशोरीहरु बिद्यालय छाड्ने बाध्यता रहेको बताउनुभयो । बिद्यालयस्तरमा समेत महिनावारी स्वच्छता व्यवस्थापनका लागि सहज वातावरण नहुँदा महिनामा करिब पाँचदेखि सात दिनसम्म किशोरीहरुले अध्ययन कार्यमा रोकावटको सामना भोग्नुपरेको सुबेदीले स्पष्ट पार्नुभयो ।
जसलाई आवश्यक छ उसैले यसको महत्व बुझ्न जरुरी रहेको भन्दै उहाँले यो सीप कुनै एक जनामा मात्र नभएर सबै किशोरीलाई प्रदान गर्न सकिए किशोरीमा आउने धेरै समस्या निराकरण हुने बिश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै गेरुवाका अध्यक्ष कृष्णजंग शाहले कार्यक्रमले स्थानीयस्तरमा आर्थिक समस्याका कारण हुने असुरक्षित महिनावारी व्यवस्थापन कार्य रोक्न यो सीपले सहयोग पु¥याउने धारणा राख्नुभयो ।
जानकी २, चौधरीपुरबाट सहभागी भएकी बिना रानाले यो सीप सबै महिला तथा किशोरीलाई एकदमै आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले कतिपय महिलाले अझै पनि पुरानो धोती वा टालोको प्रगोग गर्ने गरेकाले बताउँदै सफा कपडालाई प्याड बनाएर प्रगोग गर्न सिकाउने बताउनुभयो ।

कार्यक्रममा बर्दियाको राजापुर नगरपालिकाको वडा नं. ५, ६, बाँकेको जानकी गाउँपालिका वडा नं.२, खजुरा गाउँपालिका वडा नं. ३, ४ र डुडुवा गाउँपालिकाको वडा नं. ५ का १७ जना महिला तथा किशोरीहरुको सहभागिता रहेको थियो ।
लैंङ्गिक रुपान्तरण तथा पूर्ण सरसफाई परियोजना अन्तर्गत महिनावारी स्वच्छता व्यवस्थापनको अभावमा हुन सक्ने संक्रमण तथा रोग रोकथाम गर्ने र स्थानीयस्तरमा प्याड निर्माण गरी सस्तो मुल्यमा उपलब्ध गराउन स्थानीय निकायको सहकार्य तथा समन्वयमा प्लान इन्टरनेशनलको आर्थिक सहयोगमा गेरुवा ग्रामीण जागरण संघ बर्दियाले उक्त तालिम प्रदान गरेको हो ।


1174 पटक हेरिएको 

