चीनको सिमानामा पुग्यो, खानेपानी सुविधा

सिन्धुपाल्चोक : चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोक जिल्लाको उत्तरी भेगमा पर्ने भोटेकोशी गाउँपालिकाको वडा नं. ३, फुमाचेमा खानेपानीको सुविधा पुगेको छ । भौगोलिक दृष्टिकोणले अति दुर्गम फुमाचे गाउँमा खानेपानीको सुविधा पुगेपछि स्थानीयबासिन्दा खुसी भएका छन् ।


गाउँलेले खाइरहेको मुहान भूकम्प पछि सुकेपछि खानेपानीको समस्या भएको थियो । भौगोलिक विकटता र पानीको मुहान टाढा रहेकाले सरकारी तथा गैरसरकारी संस्थाले पनि खानेपानी सहयोग गर्न आलटाल गर्दै आएका थिए ।


भूकम्प गए देखि नै फुमाचे क्षेत्रमा सहयोग गर्दै आइरहेको संस्था अक्सफाम र ग्रामिण महिला सिर्जनशील परिवारले फुमाचे बस्तीको खानेपानीको समस्या पहिचान ग-यो । ग्लोबल अफयर्स क्यानाडाको सहयोगमा अक्सफाम र ग्रामिण महिला सिर्जनशील परिवारको साझेदारी, भोटेकोशी गाउँपालिकाको समन्वय र फुमाचे बासीको सक्रियतामा नेसिङ्ग छ्युलुङ्गखर्क खानेपानी उपभोक्ता समिति दर्ता गरी खानेपानी आयोजना सञ्चालन गरेपछि अहिले पहिले झैं गरी खानेपानी उपभोग गर्न पाएका छन् ।

जुनसुकै अयोजनाहरु सफलतापूर्वक सम्पन्न गर्नमा स्थानीय जनसमुदायहरुको सहयोग अपरिहार्य हुने साझेदार संस्थाक कार्यक्रम संयोजक ओम तामाङ्गले बताउनुभयो । “यो आयोजना सम्पन्न गर्नका लागि स्थानीय जनप्रतिनिधिहरु र स्थानीयबासीहरु एकदमै लागिपर्नु भएको छ, उहाँहरुबाट एकदम धेरै सहयोग पाएका छौँ र त हामी सफल भएका छौँ ।” उहाँले भन्नुभयो ।


३२ वटा बालमैत्री धारा


४ किलोमिटर टाढा रहेको मुहानबाट गाउँसम्म पानी ल्याइएको छ । ३२ वटा बालमैत्री धारा निर्माण भएका छन् । यसबाट ६२ घरधुरीका ४३० जना भन्दा बढी लाभान्वित भएका छन् ।


भोटेकोशी गाउँपालिका वडा नं. ३ का वडा सदस्य सार्की लामा भन्नुहुन्छ “यो खानेपानी एकदमै संघर्ष गरेर ल्याएको हो, निर्माण सामाग्रीहरु ढुवानी गर्दा खच्चडको समेत प्रयोग गरेको थियो, आयोजना सम्पन्न गर्नका लागि संस्थाको कर्मचारीहरु पनि वर्षा, झरी, पहिरो, जुका नभनी खट्नुभएको छ, यतिसम्म कि हामी कति दिन त हामी जंगलको ओडारमा बस्यौँ, ओडारमै पकाएर खायौँ, ओडारमै सुत्थ्यौँ, यसरी दुःख गरेर ल्याएको हो ।”


आयोजना सम्पन्न पश्चात संस्थाले समुदायलाई हस्तान्तरण गरिसकेको छ भने आयोजनालाई दिगो बनाउनका लागि मर्मत संभार कोषको व्यवस्थापन गरिएको छ, ३ जना मर्मत संभारकर्ताहरुलाई तालिम दिई दक्ष बनाइएको छ ।


मर्मत सम्भारका लागि मासिक ६० रुपैयाँ


मर्मत सम्भार कोषको लागि मासिक ६० रुपैँयाका दरले रकम संकलन गर्ने गरिएको छ । सहयोगी संस्थाले ३ दिनको तालिम आयोजना गरी खानेपानीको सुरक्षा योजना समेत तयार पारिएको भोटेकोशी गाउँपालिका ३ नं. वडाका वडा सदस्य सार्की लामाले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार