विनोद धौलागिरि
भद्रपुर (झापा) : झापा जिल्लाका सबै स्थानीय तह खुल्ला दिसामुक्त भएसँगै जिल्ला खुल्ला दिसामुक्त घोषणा गर्ने बाटो खुल्ला भएको छ । १५ स्थानीय तहमध्ये १३ स्थानीय तह यसअघि नै खुल्ला दिसामुक्त घोषणा भएका थिए । बाँकी दुई स्थानीय तह मेचीनगर नगरपालिका र हल्दिबारी गाउँपालिका बिहीबार खुल्ला दिसामुक्त घोषणा भए ।
सरसफाइ गुरुयोजना सार्वजनिक भएपछि २०७३ सम्म खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको समन्वयमा विभिन्न संस्थाहरुले खुल्ला दिसामुक्त अभियानमा सहयोग गरेका थिए । त्यस क्रममा साविकका पाँच गाविस खुल्ला दिसामुक्त घोषणा भएका थिए ।
२०७४ बैशाखदेखि ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको सहयोगमा साविकका २१ गाविस र ६ नगरपालिकामा विभिन्न संस्थाहरुले खुल्ला दिसामुक्त अभियान सहजीकरण गरेका थिए भने साविकका ३ गाविसमा फण्ड बोर्डको सहयोगमा अभियान अघि बढाइएको थियो ।
यस क्रममा झापा जिल्लामा ३९ हजार २ सय ८७ चर्पी निर्माण भएको जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले बिहीबार जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
स्थानीय तह पुनःसंरचनाको क्रममा बुद्धशान्ति गाउँपालिका खुल्ला दिसामुक्त घोषणा भैसकेको थियो । बाँकी सबै स्थानीय तह पछिल्लो १६ महिनाको अवधिमा खुल्ला दिसामुक्त घोषणा भएको र जिल्ला नै खुल्ला दिसामुक्त घोषणाको तयारीमा रहेको छ ।
सहयोगीहरुप्रति आभार व्यक्त
जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाले प्रेस नोट जारी गरी सम्पूर्ण सहयोगी संघसंस्था, निकाय र समुदायप्रति आभार व्यक्त गरेको छ । “हामी निर्वाचित भएर आउँदा झापा जिल्लामा ३६ हजारभन्दा बढी घरधुरीमा चर्पी निर्माण गर्न बाँकी थिए”,
जिल्ला समन्वय समिति झापाका प्रमुख एवम् जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलद्वारा जारी नोटमा उल्लेख छ, “तत्कालको बाढी र डुबान, चाडपर्व र संघीय तथा प्रदेश सभा निर्वाचन हुँदैगर्दा समेत चर्पी निर्माण र सरसफाइ प्रवद्र्धनको गति कम हुन नदिई स्थानीय तहले सार्थक नेतृत्व लिएका कारण झापा जिल्ला आज खुल्ला दिसामुक्त अवस्थामा पुग्न सफल भएको ।”
अभियानको नेतृत्व गर्ने जनप्रतिनिधि, कुशलतापूर्वक प्राविधिक एवम् प्रक्रियागत सहजीकरण गर्ने साझेदार संस्थाहरु, अभियानलाई स्थानीयकरण गर्न सघाउने सम्पूर्ण सामाजिक अगुवाहरु, सरसफाइ सवाललाई स्थापित गर्न अहम् भूमिका खेल्ने सञ्चार क्षेत्र, कर्मचारीहरु, महिला स्वास्थ्य स्वयंसेविका, विकास साझेदार, सुरक्षा निकाय, शिक्षा क्षेत्र लगायत सबै सहयोगीहरुप्रति आभार व्यक्त गरिएको छ ।
निरन्तर सहजीकरण हुन सकेमा कठिन मानिएका ठाउँ समेत छिटो खुल्ला दिसामुक्त हुन सकेको दृष्टान्त प्रस्तुत गर्दै, खुल्ला दिसामुक्त अभियानमाजस्तै पूर्ण सरसफाइ अभियानमा समेत सहयोग र सहजीकरण जारी राख्न सम्पूर्ण विकास साझेदारहरुमा अनुरोध समेत गरिएको छ ।
बदलिएको पहिचान गुणात्मक वृद्धि गर्न जोड
विकासका धेरै सूचकहरुमा अगाडि हुँदाहुँदै पनि खुल्ला दिसामुक्त घोषणा हुन नसक्दा लागेको दाग मेटिएको भए पनि पूर्ण सरसफाइका साथै अन्य सामाजिक सवालहरुमा जिल्लालाई अघि बढाउनु उत्तिकै चुनौतिपूर्ण भएको प्रेस नोटमा उल्लेख छ ।
“पूर्ण खोप र पूर्ण साक्षर जिल्ला घोषणा भएका छन्, तर निरन्तर सिकाइ कक्षाहरु सञ्चालन गरिरहनुपर्ने छ”, प्रेस नोटमा उल्लेख छ, “वातावरणमैत्री जिल्ला, बालमैत्री जिल्ला, पूर्ण सरसफाइउन्मुख जिल्ला, किशोरीमैत्री विद्यालय, खाद्यान्नमा आत्मनिर्भर, महिला हिंसा शून्य जिल्ला लगायतका परिवर्तनका अभियानमा समेत यस्तै सफलता आवश्यक छ ।”
खुल्ला दिसामुक्त घोषणापछि बदलिने झापा जिल्लाको पहिचानलाई कायम राख्नका लागि तत्काल पूर्ण सरसफाइ अभियान थालनी गरिने र स्थानीय तहहरुले समेत पूर्ण सरसफाइ अभियानको मूलप्रवाहीकरण गर्नुपर्नेमा जोड दिइएको छ ।
अभियानका क्रममा धेरै नयाँ, नौला र सृजनशील अभ्यास भएको उल्लेख गर्दै प्रेस नोटमा ती अभ्यासलाई कायम राख्नुपर्नेमा जोड दिइएको छ । “धेरै विद्यालयमा छात्राहरुको महिनावारी सरोकार समूह गठन भएको छ, बालबालिकाले सरसफाइमा अगुवाइ र नेतृत्व गरेका छन्, महिला सञ्जालले सरसफाइ प्रवद्र्धनमा योगदान गरेका छन्, राजनीतिक क्षेत्र सरसफाइ प्रवद्र्धनमा प्रतिवद्ध बनेको छ, स्थानीय तहहरु र वडाअध्यक्षहरुले सरसफाइलाई आफ्नो पहिलो सवाल बनाउनुभएको छ”, विज्ञप्तिमा भनिएको छ, “सरसफाइको एउटा पद्धति स्थापित भएको छ, यसलाई निरन्तरता दिंदै अझै बढाउनुपर्ने छ।”
जिल्ला खुल्ला दिसामुक्त घोषणा छिट्टै
सम्पूर्ण स्थानीय तहहरु खुल्ला दिसामुक्त घोषणा भएसँगै जिल्ला खुल्ला दिसामुक्त भएको प्रेस नोटमा उल्लेख छ ।
“विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने भएकोले हामीले तयारी गरेअनुसार मंसीर २८ गते जिल्लालाई नै खुल्ला दिसामुक्त घोषणा गर्न सकेनौं”, प्रेस नोटमा उल्लेख छ, “प्रदेशस्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिबाट जिल्लाको अन्तिम गुणस्तर अनुगमन र स्वीकृतिपश्चात् छिट्टै जिल्लाई खुल्ला दिसामुक्त घोषणा गर्ने तयारी गरिएको छ ।”