मैले देखेको झापाको सरसफाइ अभियान

 1566 पटक हेरिएको

पी.टी. लोप्चन


‘टोकला चिया बगानमा चर्पी नहुँदा पोथ्रामा लुकेर दिसा गर्नुपर्ने वाध्यता’ यही खबर हुनुपर्छ, मैले प्रकाशन गरेको झापाको सबैभन्दा पहिलो खबर । त्यसयता झापाका अनगिन्ती खबर छापिए, खुला दिसामुक्त घोषणा भएका खबर, खुला दिसामुक्त घोषणा गर्ने लक्षित समयमा चर्पी बनाउन आवश्यक स्रोत साधनको उपलब्धता, झापाको सरसफाइमा सञ्चारमाध्यमले खेलेको भूमिका र अन्य दिवस तथा चाडबाडलाई समेत सरसफाइसँग जोडेर मनाएका विभिन्न सिर्जनात्मक कार्यक्रमहरु ।

यी सबै खबरसँग म कुनै न कुनै रुपमा नजिक रहें, नियालें । मैले सम्पादन गर्ने वास खवर डट कम अनलाइन कहिलेकाहीं त झापाकै सरसफाइका खवरले भरिएको हुन्थ्यो । धेरैले पढ्ने समाचारहरुमा मुख्य १० मध्ये ८ वटासम्म झापाकै हुन्थे । कहिलेकाहीं सम्पादकीय टिममा हाँसोमजाक गथ्र्यौं, ‘झापा जिल्ला खुल्ला दिसामुक्त अभियानलाई निस्कर्षमा पु-याउन सघाउने एउटा मुख्य साझेदार वास खवर डट कम पनि हुनेछ ।’


झापा जिल्ला देशका होनहार व्यक्तिहरु जन्माउने जिल्ला हो भनेर थाहा छ मलाई । प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री डा.युवराज खतिवडा लगायत सिंङ्गो राष्ट्रको मार्गचित्र कोर्ने व्यक्तिहरु जन्माएको जिल्ला झापा अन्य जिल्लाका नागरिकको प्राण धान्ने जिल्ला पनि हो । किनकि झापा धान उत्पादनको हिसाबले मुलुककै उर्वराभूमिमा चिनिन्छ ।


मैले झापालाई जत्ति चिनेको छु, बाहिरी दृष्टिबाट मात्र चिनेको छु । झापाको माटोमा टेकेर त्यहीका बासिन्दासँग साक्षात्कार गर्ने, चर्पी बनाउनका लागि अभियान सञ्चालन गर्ने, त्यहाँको समुदायसँग होस्टेमा हैंसे गर्दै चर्पी बनाउन रिङ गाड्ने काममा सरिक हुन पाएको छैन । यद्यपि सरसफाइसँग सम्बन्धित झापामा जति क्रियाकलापहरु भएका छन्, ती सबै क्रियाकलापहरुसँग म कुनै न कुनै तरिकाले नजिक छु ।


झापामा सबैभन्दा धेरै चर्पी बनाउँदै कचनकवल गाउँपालिका खुला दिसामुक्त घोषणा भएको थाहा छ मलाई, अर्थमन्त्रीको गृहनगर झापाको दशौं खुल्ला दिसामुक्त क्षेत्रमा दरिएको, गौरादहको गौचरनले झापालाई नै सरसफाइको पाठ सिकाउँदै गरेको, झापाका जनप्रतिनिधी सूचना टाँस गरेरै खुल्ला दिसामुक्त अभियानमा तल्लीन भएको, शौचालय प्रयोग गराउन झापामा प्रहरी परिचालन गरिएको, झापाका स्थानीय तह, खुल्ला दिसामुक्त अभियानमा आक्रामक बन्दै गरेको लगायत थुप्रै गतिविधिसँग अद्यावधिक छु । किनकि झापामा चलिरहेको सरसफाइ अभियानले हासिल गरेको नतिजा वास खबर मार्फत प्रकाशन गरिरहेको हुन्छु ।


म विर्तामोड, अर्जुनधारा, मेचीनगर, हल्दिबारी, बाह्रदशी, कचनकवल, गौरीगञ्ज लगायत थुप्रै स्थानीय तहसँग परिचित छु, समाचारकै माध्यमबाट । जिल्ला समन्वय समिति झापाका प्रमुख एवम् जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलसँग औपचारिक चिनजान गरेको छैन । तर सरसफाइप्रति उहाँको लगावसँग पूर्ण परिचित छु । किनकि वास खबरको माध्यमबाट झापाको सरसफाइको हरेक गतिविधि प्रकाशन गर्ने सुअवसर प्राप्त गरेको छु ।


प्रतिनिधिविनाको झापाको रिपोर्टिङ


वास खवर डट कमको टिम त्यति ठूलो त छैन, तर पनि हामी सिन्धुलीदेखि सिराहा, धनुषा र सोलुखुम्बुसम्म आफै पुगेका छौं । यति हुँदा पनि, झापासम्म हाम्रो टिम पुग्न पाएको छैन । हामी नपुगे पनि, र हामीसँग अनुवन्धित सहकर्मीहरु झापा जिल्लामा नरहे पनि ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमका झापा जिल्ला संयोजक, सरसफाइ प्रवद्र्धन मिडिया मिसन टिम र सहृदयी सञ्चारकर्मीहरुका कारण खुल्ला दिसामुक्त अभियानका विभिन्न आयामहरुलाई मिडियामा स्थान दिन सफल भयौं ।


काठमाण्डौमा बसेर पनि झापा जिल्लालाई नजिकबाट नियाल्ने अवसर सञ्चार समन्वयको माध्यमबाट विनोद धौलागिरिले दिनुभयो । राम्रा अभ्यास र मिसनका विभिन्न आयाहरुसँग सञ्चारकर्मी मित्रहरु हिमाल खरेल र रेजिना रोदनले जोड्नुभयो ।


साँच्चै भन्ने हो भने, अभियानअन्तर्गतका कुनै पनि क्रियाकलापको रिपोर्टिङ हामीले छुटाएनौं । यही रिपोर्टिङकै माध्यमबाट हामीले झापा जिल्लामा भैरहेका नयाँ, नौला र सृजनशील अभ्यासहरुलाई नजिकबाट नियाल्ने मौका पायौं ।


बाहिरबाट हेर्दा साना देखिने क्रियाकलाप र प्रयासहरु अभियानलाई स्थापित गर्नका लागि निकै महत्पूर्ण हुन सक्छन् भन्ने उदाहरण झापामा देखिन्छ । झापामा के भएन ? सरसफाइ प्रवद्र्धनका लागि हुन सक्नेजति सबै क्रियाकलाप भए । चर्पी बनाउनका लागि बालिकाले बालुवा बोकेको घटना समाचार बन्यो, त्यसले वयस्कहरुलाई समेत जिम्मेवार बन्न सघायो ।

अझै, उनलाई वडाले पुरस्कृत ग¥यो, एक अग्रज वृद्धले आफ्नो जन्मदिनमा खर्च गर्ने रकम उनै चर्पी बनाउने बालिका आशिका राजवंशीलाई पढाइमा लगाउनका लागि सहयोग गरे । यी सबै क्रियाकलाप झापाका खुल्ला दिसामुक्त अभियानकर्मीहरुले पछ्याइरहनुभयो, र हामीलाई पनि समाचारबाट अद्यावधिक गरिरहनुभयो ।


वडा अध्यक्षले छोराको जन्मदिनमा दृष्टिविहिनलाई चर्पी उपहार दिएको अनुकरणीय कार्य होस्, या निजी गाढीमा चढ्दै झाडीमा दिसा गर्न जाने अगुवाको समाचार होस, आफ्नै घरमा चर्पी नबनाउने हेडमास्टरदेखि विद्यालयलाई कवाडी घरजस्तो बनाउने विद्यालय प्रशासन, सञ्चारकर्मी नै अभियानकर्मी बनेर गाउँ गाउँमा पुगेका खवरदेखि विद्यार्थीले प्रधानाध्यापकलाई नै चर्पी बनाउन अनुरोधपत्र थमाएका घटना, सबै समाचार बनेर आए ।

समाचार बन्नुअघि यी सबै क्रियाकलाप गाउँमा भए, टोलमा भए र बस्ती तहमा भए । ‘खुल्ला दिसामुक्त अभियान बुझेका सञ्चारकर्मी र सञ्चार बुझेका अभियानकर्मी’ भएकै कारण जे जति नौला र सृजनशील क्रियाकलाप भए, ती सबैले मिडियामा स्थान पाए । त्यसैले पनि, न त हामीलाई झापामा रिपोर्टिङका लागि प्रतिनिधि राख्न आवश्यक भयो, न त हामी नै झापासम्म पुग्नुप¥यो रिपोर्टिङका लागि ।


अनुकरणीय अभ्यास र मिडिया कनेक्सन


प्रहरी प्रशासनबाट गाउँमा खुल्ला दिसामुक्त अभियानको अनुगमनमात्र भएन, अभियानकर्ताहरुले सोही सममया बाल क्लबको समेत परिचालन गरेर खुल्ला दिसामुक्त अभियानमा ‘भ्याल्यू’ सृजना भए । सिडियोलाई साक्षी राखेर बालकले बाबुसँग चर्पीको भीक्षा मागे । यी र यस्ता सृजनशील त्रियाकलापलाई सञ्चार माध्यमबाट रणनीतिक हिसावले बाहिर ल्याउँदा त्यसको प्रभाव अन्य स्थानमा समेत गुणात्मक रुपमा पार्न झापाको खुल्ला दिसामुक्त अभियान सफल भयो ।


ल्होसारमा खुल्ला दिसामुक्तको कामना गर्दै दीप प्रज्वलन गर्नेदेखि महापुराणमा सरसफाइ प्रवद्र्धनको भिडियो प्रदर्शन गरेका समाचार आए । अभियानकर्ताले चर्पी भत्काउनेमात्र काम गरेनन्, जनप्रतिनिधिले चर्पी बनाउनका लागि खाडल खनेका र रिङ बोकेका क्रियाकलापलाई फोटो फिचरको रुपमा वास खवरले प्रकाशन गर्ने मौका पायो । खुल्ला दिसामुक्त घोषणाको पूर्वसन्ध्यामा गरिने दीपावलीले फरक माहौल सृजना गरेको अनुभूति हामीले प्राप्त गरेका समाचार र तस्वीरबाट भयो ।


हामीले नै प्रकाशन गरेका र अन्य सञ्चार माध्यमबाट प्रकाशन प्रसारण भएका झापा जिल्ला सरसफाइ अभियानका समाचार विश्लेषण गर्दा, यहाँका सरसफाइ अभियानकर्ताले चर्पी बनाउने अभियानमात्र सञ्चालन गरेनन्, त्यसभित्र सृजनशीलता खोजे, नयाँपन खोजे र उपलब्धीको दिगोपन खोजे । दिगो सरसफाइको यात्रामा लम्किरहेका कनकाई नगरपालिका वा गौरादहको गौचरनमात्र होइन, अन्य पालिकाहरु खुल्ला दिसामुक्त घोषणा हुँदा व्यक्त गरिने पूर्ण सरसफाइ प्रतिवद्धताले पनि दिगोपनको खोजी गर्दछ ।


एक सम्पादकको आँखाले हेर्दा, कतिपय समाचार केही समय प्रकाशन नगरौं कि भन्ने पनि लाग्थ्यो । आफ्नो घरमा चर्पी नबनाउने सामाजिक अगुवाहरुका समाचार निजी मामिला हुन् कि भन्ने पनि देखिन्थ्यो । तर, पनि ती समाचार हामीले रोकेनौं, प्रकाशनमा ल्यायौं । शिक्षक र विद्यार्थी दिसा पिसाव गर्न सँगसँगै झाडीमा गएका समाचार सञ्चार माध्यममा प्राथमिकतासाथ प्रकाशन भए ।


संस्थागत सरसफाइ प्रवद्र्धन मिडिया मिसन अर्को लोभलाग्दो अभ्यास हो झापाको । झापाली सञ्चारकर्मीहरु अभियानकर्मीको रुपमा प्रस्तुत भएर देशकै लागि उदाहरणीय बन्नुभएको छ । प्रत्येक अवसरहरु पक्रिन सक्नु, त्यसको उपयुक्त दस्तावेजीकरण गर्नु र त्यसलाई उपयुक्त माध्मबाट सार्वजनिक गर्नु झापा जिल्ला खुल्ला दिसामुक्त अभियानको अर्को सफलता हो ।

महिनावारी सरसफाइ व्यवस्थापन दिवसका सन्दर्भमा लेखिएको समाचार र त्यसमा समावेश गरिएको तस्वीर म अहिले पनि झल्झली सम्झन्छु । सानोजस्तो लाग्ने विषयलाई पनि गहन महत्वको विषय बनाएर सबैको सरोकारको विषय बनाउन खुल्ला दिसामुक्त अभियानकर्ताहरु सफल भएको देखिन्छ ।


… र जाँदाजाँदै


थालनीका समाचार हेर्दा लाग्थ्यो, झापामा खुल्ला दिसामुक्त अभियान सफल बनाउन समस्या नै समस्या छन् । कहिलेकाहीं लाग्थ्यो, कहिले होला झापा खुल्ला दिसामुक्त ? कहिले झापालाई खुल्ला दिसामुक्त बनाउन दैनिक पाँच सय चर्पी बनाउनुपर्ने समाचार आउँथे, भने कहिले चर्पी निर्माणमा प्राविधिक समस्या भएका समाचार प्रकाशन हुन्थे ।

मेनुका काफ्ले सरसफाइ च्याम्पियन भएको समाचार हामीले प्रकाशन ग-यौं भने अभियानकर्तालाई महान् फुटबलर मेस्सीसँग तुलना गर्दै उहाँहरुले गरेका योगदानका समाचार पनि बनायौं । हेर्दाहेर्दै झापाले खुल्ला दिसामुक्तको ताज पहिरिएको छ । आउँदा दिनमा अझै परिष्कृत रणनीति र मेहनतका साथ अघि बढ्नुपर्ने छ ।

साझेदारहरुमा अहिले देखिएको उत्कण्ठा र इच्छाशक्तिमा कमी आउन दिनु हुँदैन भने अभियान व्यवस्थापन रणनीति र सञ्चार रणनीतिलाई कत्ति पनि कमी हुन नदिई गुणात्मक बनाउने प्रयास गर्नुपर्छ । अघि बढ्ने बाटो भेटिएन भने समुदाय पछि फर्किन्छ । त्यसैले, खानेपानी सरसफाइ क्षेत्रमामात्र कलम चलाउने एक सम्पादकको तर्फबाट यत्ति कामना गर्छु : पूर्ण सरसफाइ अभियान अझै सशक्त रुपमा अघि बढोस्, समुदाय दिसा गर्न झाडी र खोल्सीहरुमा गएको समाचार प्रकाशन गर्नु नपरोस्, विद्यालयमा शौचालय नहुँदा किशोरीहरुले स्कूल छोड्नुपरेको पीडादायी खवर सुन्नु नपरोस् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार