१ प्रतिशत नेपालीको घरमा मात्र चर्पी बनाउन बाँकी, कहाँ कति छन् चर्पी बनाउन बाँकी घर ?

 1315 पटक हेरिएको

काठमाडौ : राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका अनुसार अब १ प्रतिशत नेपालीको घरमा मात्र चर्पी बनाउन बाँकी छ ।

९९ प्रतिशत नेपालीको घरमा चर्पी निर्माण भइसकेको र अब १ प्रतिशत नेपालको घरमा मात्र चर्पी बनाउन बाँकी रहेको समितिका सदस्य सचिव देबेन्द्र कुमार झाले जानकारी दिनुभयो । उहाँका अनुसार १ प्रतिशत भनेको ५१ हजार ८३१ घर हो । ‘कुल ५३ लाख ८२ हजार ७४२ घरपरिवार मध्ये ५३ लाख ३० हजार ९११ घरमा चर्पी बनिसकेको छ, अब ५१ हजार ८३१ घरमा चर्पी बनाउने क्रम जारी छ’ उहाँले भन्नुभयो ।


ती मध्ये सबैभन्दा बढी प्रदेश नं.२ मा ३७ हजार ३ सय ४६ घरमा बनाउन बाँकी छ । प्रदेश २ को पर्सामा ९४ प्रतिशत, बारामा ८८ प्रतिशत, सर्लाहीमा ९७ प्रतिशत, महोत्तरीमा ९४ र धनुषामा ९४ प्रतिशत घरमा चर्पी निर्माण भइसकेको सदस्य सचिव झाले जानकारी दिनुभयो ।


प्रदेश १ को भोजपुर र सोलुखुम्बुको १०० प्रतिशत घरमै चर्पी बनेपनि घोषणा हुन बाँकी छ । मोरङको ९९ प्रतिशत घरमा चर्पी बनेपनि २ हजार १३८ घरमा अझै चर्पी बन्न बाँकी छ ।


यस्तै राजधानी काठमाडौ रहेको प्रदेश ३ मा १२ लाख ७५ हजार ७ सय ५ घर मध्ये ५ हजार ९७७ घरमा चर्पी बन्न बाँकी छ । सदस्य सचिव झाका अनुसार ती मध्ये सिन्धुपाल्चोकमा सबैभन्दा बढी चर्पी बनाउनुपर्ने छ । सिन्धुपाल्चोकको ९३ प्रतिशत घरमा मात्र चर्पी बनेका छन् भने काठमाडौमा ९९ प्रतिशत घरमा चर्पी बनेका छन् ।


यस्तै प्रदेश ५ मा ६ हजार ३७० घरमा चर्पी बनाउन बाँकी छ । यी सबै चर्पी प्रदेश ५ को कपिलबस्तुमा मात्र बनाउन बाँकी छ । अन्य सबै जिल्ला खुला दिसामुक्त घोषणा भइसकेको कपिलबस्तुको ९३ प्रतिशत घरमा मात्र चर्पी बनेका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार