काठमाडौ, दिक्पाल गिरी : धनकुटामा फोहोर नै उत्पादन हुँदैन वा फोहोरलाई लुकाउँछन् धनकुटाका बासिन्दा । पहिलो पटक धनकुटा पुग्ने चकित हुन्छन् । किनकि धनकुटा शुन्य फोहोरको अवस्थामा पुगिसकेको छ ।
धनकुटाले फोहोरमैला व्यवस्थापन सम्बन्धी योजना बनाएर फोहोरमैला उत्सर्जनमै कमी ल्याउने, फोहोरको स्रोतमै वर्गीकरण गरेर घरदैलोबाटै छुट्टाछुट्टै संकलन तथा ढुवानी गर्ने गरेको छ । धनकुटाले जैविक फोहोरबाट अर्गानिक मल उत्पादन गरिरहेको छ भने पुनःप्रयोग हुने फोहोरलाई विक्री वितरण गरेर आयआर्जन गर्दै आएको छ ।
नगरपालिका प्रमुख चिन्तन तामाङ भन्नुहुन्छ ‘हामीले फोहोरलाई मोहोर बनाउँन कुनै उपाय बाँकी राखेका छैनौं, नीजि क्षेत्र सँग मिलेर हामीले फोहोरलाई स्रोतमै वर्गीकरण गर्न थालेको लामो समय भइसक्यो, फोहोरलाई व्यवस्थित गर्न नै राम्रो उपाय हो ।’ यी बाहेक धनकुटा नगरपालिकाले घरायसी स्तरमै फोहोरबाट मल बनाउन लगाई कौशी खेती, करेसाबारी तथा प्राङ्गरिक कृषि खेतीलाई प्रोत्साहन गर्दै आएको छ ।
ल्याण्डफिल साइट पिकनिक स्थल
नगर प्रमुख तामाङका अनुसार धनकुटाको ल्याण्डफिल साईट यस्तो नमुना छ, जहाँ मानिसहरु पिकनिक आयोजना गर्छन् । डम्पिङ साइटको वरिपरि फूलको बगैंचा बनाएको छ । पिकनिकमा आएका मानिसहरु त्यही फोटो खिच्छन् । पर्यटकहरु पनि डम्पिङ साइटमा पुग्छन् । अचम्म त यो छ कि डम्पिङ साइटमै पुग्ने मानिसहरुले पनि त्यहाँको फोहोर देख्न पाउँदैनन् ।
‘तपाईले धनकुटाको फोहोर हेर्नका लागि विहानै पुग्नु पर्छ, हामीले बिहानै डम्पिङ साइटमा पु-याएर पुरिसकेका हुन्छौं, अनि कसरी देख्न पाइन्छ फोहोर ?’ नगरपालिका प्रमुख तामाङले भन्नुभयो ।
प्लाष्टिक झोलाको प्रयोगमा प्रतिबन्ध
धनकुटामा प्लाष्टिक झोला तथा तथा अन्य प्लाष्टिकको प्रयोगमा प्रतिबन्ध छ । प्लाष्टिक झोला प्रयोगमा प्रतिबन्ध लगाएपछि पनि फोहोर व्यवस्थापनमा धेरै सजिलो भएको त्यहाँ फोहोर व्यवस्थापनमा खटिएका संघसंस्थाको अनुभव छ । प्लाष्टिक झोला प्रयोगमा आउने बेलासम्म फोहोरलाई स्रोतमै वर्गीकरण गर्ने काम एकदमै चुनौतीपूर्ण थियो ।
तर अहिले हरेक घरले बेग्लाबेग्लै भाँडाको प्रयोग गरी फोहोर छुट्याउने गरिएको छ । यसले फोहोर व्यवस्थापन गर्न धेरै सजिलो भएको छ । धनकुटामा प्लाष्टिक झोला प्रयोग गर्ने व्यक्तिलार्य एक हजार रुपैयाँ जरीबाना तोकेको छ ।
सार्वजनिक स्थलको नियमित सरसफाइ
धनकुटाका हरेक टोल तथा वडामा टोल सुधार समितिहरु छन् । ती समितिले निश्चित समयको फरकमा सार्वजनिक स्थलहरुको नियमित सरसफाइ गर्दै आएको छ । टोल सरसफाइ कार्यक्रम नियमित रुपमा भरहेको छ ।
नगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई फोहोरमैला व्यवस्थापन ऐन २०६८ अनुसार दण्ड जरिवाना गर्दै आएको छ । फोहोरमैला गरेपछि त्यसको व्यवस्थापनका लागि फोहोरमैला सेवा शुल्क तिर्नुपर्छ, मेरो टोल मैले सरसफाइ गर्नुपर्छ भन्ने कर्तव्यको बोध त्यहाँका नागरिकले गरिसकेका छन् ।
हरियाली विकास
धनकुटा नगरपालिकालाई शहरलाई हरियाली बनाउने विभिन्न योजना अगाडि बढाइसकेको छ । यसअघि पनि शहरमा रुख रोप्ने काम भइरहेको भएपनि अब झनै व्यवस्थित तरिकाले यो कामको थालनी भइसकेको नगरप्रमुख चिन्तन तामाङले बताउनुभयो । नगरपालिकाले शहरमा हरियाली कायम राख्न नयाँ घर बनाउनेले अनिवार्य घर वरिपरि हरियाली राख्ने विषयलाई अगाडि बढाएको छ ।
यसका साथै शहरमा हुने प्रदुषण नियन्त्रण गर्न व्यवस्थित ढल प्रणालीको विकास गरिरहेको छ । पशु बधशाला शहर भन्दा निक्कै टाढा सञ्चालन गरिएको छ भने त्यसको नियमित सरसफाइको प्रबन्ध पनि मिलाएको छ ।
ध्वनि प्रदुषण तथा वायु प्रदुषण नियन्त्रण र व्यवस्थापन गर्न साना तथा मझौला उद्योगलाई समेत मानव वस्तीभित्र निर्माण तथा सञ्चालनमा रोक लगाएको नगर प्रमुख तामाङले बताउनुभयो ।
यसरी धनकुटाले बर्ष २०७३ को उत्कृष्ट सफा शहरको सम्मान प्राप्त गर्न सफल भएको छ ।