प्रसन्न तामाङ – गाडीको चक्काले एक फन्का नलाउदै पछिल्लो सीटमा बसेका एक जनाले सोधिहाले ‘गुरु जी प्लाष्टिक झोला होला ?’ गाडी चालकले केही नभनी दुईवटा प्लाष्टिक झोला निकालेर दिनुभयो । ‘मलाई पनि चाहिन्छ है गुरु जी, चालककै लाइनमा बसेका महिलाले पनि प्लाष्टिक झोला मागिन् । गाडीमा यात्रा गर्दा वान्ता हुने भएपछि वामन थैलीका रुपमा प्रयोग गर्न उनीहरुले गाडी चालकसँग प्लाष्टिक झोला माग्दै थिए ।
दशैं मनाउन आ— आफ्नो गाउँ फर्केकाहरु पुनः कर्मथलो काठमाडौ फर्कदै थिए । हामी सोलुखुम्बुबाट काठमाडौ आउँदै थियौं ।
नयाँ बजारको जेरो प्वाइन्टबाट मूल सडक निस्कन नपाउँदै पछिल्लो सीटमा बसेका दुई जनाले वाक वाक गर्न थालिहाले । कालोपत्रे सडकमा निस्कनसाथ गाडीले गति बढाइहाले । शुरुमै प्लाष्टिक मागेकाहरुले त्यत्तिबेलासम्म प्लाष्टिक भराउन थालिसकेका थिए ।
गार्मामा पुगेपछि थपिए एक जोडी यात्रु । अरुले वाक वाक गर्न थालेपछि ती जोडीलाई पनि वाक वाक लागिहाल्ने रहेछ । ती दुई जनाले पनि शुरुमा प्लाष्टिक झोला नै मागे । यसपटक सुमोको अन्तिम सीटमा बसेका दुई जनाले चार/पाँच वटा झोला नै मागे ।
गाडी चालकले पनि मागेजत्ति नै दिनुभयो । अन्तिम सीटमा जत्ति नै वाकवाक गरेपनि चालकलाई कुनै वास्ता थिएन । या त पहाडी क्षेत्रमा चल्ने गाडीमा मात लागेर वान्ता गर्नु उहाँका लागि सामान्य जस्तै भइसकेको थियो ।
हामीलाई भने कहिले टाउको तिरै वान्ता गरिदिने हो कि भनेर बेला बेलामा झस्किन्थ्यौं ।
वान्ता गर्न साथ गाडी नै दुर्गन्धित हुने हुनाले होला वान्ता गरेको प्लाष्टिक झोला झ्यालबाट फ्यात्त मिल्काइहाल्थ्यो । झ्यालबाट यसो बाहिर तिर नियालें, वान्ता गर्दै मिल्काइएका प्लाष्टिक झोलाले सडकको दायाँबायाँ ढाक्न थालिसकेको रहेछ । कतै कतै दुई चार वटा मात्र भएपनि कतै भने सडक किनारामा पानीको निकासका लागि बनाएका डे«नेज समेत भरिएको देखें ।
‘यो समस्या एउटै गाडीले उब्जाएको होइन, न त यो काठमाडौ – सोलुखुम्बु गाडी चल्ने सडकको मात्र समस्या हो । भर्खर भर्खर गाडी गुड्न थालेका जिल्लाहरु र त्यसमा पनि नयाँ यात्रु, जो गाडीमा यात्रा गर्न बानी परेका हुँदैनन्, उनीहरुका कारण उब्जिएको समस्या हो ।’
गाडीमा यात्रा गर्नेहरुले प्लाष्टिकमा बान्ता गरेर बाहिर फ्याँक्दा पर्ने वातावरणीय असरका विषयमा सोचिरहेकै बेला मोबाइलको घण्टी बज्यो, घरबाट फोन आएको रहेछ । घरपरिवारले पनि सबैभन्दा पहिले त्यही कुरा सोधे ‘नजिकै गाडी लाग्ने मान्छे त बसेको छैन नि ?’
‘म भन्दा पछाडि मात्र छन् मेरा लाइनमा त कोही छैनन्’ मैले जवाफ दिएँ ।
‘देखे जस्तै गरी पो सोध्नुभयो त ?’ मेरो दायाँ पट्टिको सीटमा बसेका जीवन राजभण्डारीको चासो बढ्यो ।
‘पहाडी जिल्लामा चल्ने गाडीमा हुने साझा समस्या भएकाले जो कसैको अनुमानले पनि मेल खान्छ र परिवारको अनुमान पनि मिलेको हो’ मैले जीवनलाई उत्तर दिएँ ।
…………………………………………………………………………………………………………………………………………….
मेरो बायाँ पट्टि बसेका एक जोडी घरी कुरमुरे त घरी चाउचाउ खान्थ्यो । चालकको सीटको लाइनमा बसेका अधवैंसे महिला पनि ती जोडीका आफन्त रहेछन् । उनीहरु घरी घरी ती महिलालाई पनि कुरमुरे र चाउचाउ बाँडेर दिन्थे । ‘खानुपर्छ अनि पो वान्ता गर्न पनि सजिलो हुन्छ’ ती महिलालाई धेरै खान प्रेरित गरिरहन्थ्यो । पानी खान्थ्यो, पानीको बोतल सडकमै मिल्काउथे, चाउचाउ, कुरमुरे सबै चीजको खोल पनि सडकमै फ्याँक्थे उनीहरु । यो देखेर जीवनले प्रश्न गर्नुभयो ‘पछि पछि यो सडक कति फोहोर हुँदो हो है ?’
‘कसरी ?’ मैले नजाने झैं गरें ।
त्यत्तिबेला हामी मध्यपहाडी राजमार्गको खुर्कोट— नेपालथोक सडक खण्डमा आईपुगेका थियौं ।
‘दैनिक हजारौं गाडी गुड्छन् यही सडक भएर । मुग्लिन – नारायणगढ सडक सधैंजसो अवरुद्ध हुन थालेपछि बर्दिबास पूर्वका सबैजसो गाडी यही सडक भएर गुड्छन्, हरेक गाडीका यात्रुले वान्ता गरेका प्लाष्टिक झोला र ड्राइ फुडका खोला सर्वत्र फ्याँक्ने हो भने यत्ति सुन्दर सडकको बेहाल कस्तो होला ?’ जीवनले भन्नुभयो ।
‘हो नि ? सही कुरा गर्नुभयो तर खै कस्ले नियन्त्रण गर्ने त ?’ जथाभावी प्लाष्टिकजन्य पदार्थ विसर्जन गर्दा वातावरणमा पर्ने हानिका विषयमा कुराकानी गरिरहँदा ती जोडीले भने ध्यान दिएर सुनिरहेका थिए । पछिल्लो सीटमा बसेकाहरु भने वाक वाक गर्दा गर्दा थकित भएर होला मस्त निदाइरहेका थिए ।
……………………………………………………………………………………………………………………………………………..
हरेक सार्वजनिक गाडीमा एउटा डस्टविन अनिवार्य राख्नुपर्ने र गाडीभित्र यात्रुले उत्पादन गर्ने फोहोर डस्टविनमा संकलन गरी गन्तव्यमा पुगेपछि सम्बन्धित नगरपालिका वा गाउँपालिकासँग सहकार्य गरी व्यवस्थापन गर्नुपर्ने, गाडीबाट जथाभावी फोहोर फ्याँकेमा वा थुकेमा जरीवाना गर्ने नियम बनाएपनि यसको कार्यान्वयन नहुँदाको परिणाम स्वरुप देशभरका सडकको दायाँबायाँ प्लाष्टिक झोला, ड्राइफुडका खोल र पानीका बोतलले भरिन थालेका छन् ।
त्यसैले सडकको स्वच्छतालाई कायम राख्न र वातावरण प्रदुषण हुन नदिन सरकारले यसअघि नै घोषणा गरिसकेको, हरेक सार्वजनिक गाडीमा डस्ट विन राख्नुपर्ने र गाडीबाट फोहोर फाल्नेलाई जरीवाना गराउने व्यवस्थालाई कडाइका साथ लागु गरिनुपर्छ । बेला वितिसकेपछि पछुताउनु भन्दा अहिले यसको कार्यान्वयनमा जोड दिने हो भने तपाई हाम्रो सुन्दर राजमार्ग थप प्रदुषण हुन बाट बचाउन सकिन्थ्यो कि ?
यसका लागि सम्बन्धित निकायले गाडी चालकलाई प्रशिक्षण दिने, हरेक गाडी गन्तव्यमा प्रस्थान गर्नु अघि गाडीमा यात्रा गर्दा पालना गर्नुपर्ने नियमहरुको बारेमा (जसरी काठमाडौबाट विराटनगर, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढी उड्ने ठूलो विमानमा बताइन्छ) जानकारी गराउने र अनुगमन टोली बनाएर खटाउने हो भने समस्या सुल्झिदै जानेछ । आफूले उत्पादन गर्ने फोहोर डस्टविनमा मात्र हाल्ने, झ्यालबाट फोहोर नफ्याँक्ने बानी बसाउन सके गाडीमा यात्रा गर्ने नव पिढीं पनि जिम्मेवार बन्दै जाने थिए कि ?