काठमाडौ : हिमाल आरोहणका लागि गएका पर्यटकले जथाभावी फोहोर फ्याँक्दा वातावरणीय हिसाबले अति संवेदनशील मानिने हिमाली क्षेत्रमा फोहोर थुप्रिन थालेको छ । मनाङको पिसाङ पिक, काङ्ला पास, थोराङ्ला पास, थोराङपिक, जुलुपिक र तिलिचो पास लगायत क्षेत्रमा जाने पर्यटकले आफूले गरेको फोहोर व्यवस्थापन नगरी जथाभावी फ्याँक्ने गरेका छन् । पदमार्गमा फ्याँकिएका फोहोर होटल सञ्चालकले व्यवस्थापन गर्ने गरेतापनि हिमालको फेदीमा फ्याँकिएका फोहोरमा कसैको ध्यान नजाँदा फोहोर दिनप्रतिदिन बढ्दै गएको हो ।
उनीहरुले विभिन्न पेयपदार्थको क्यान, चकलेट, बिस्कुट र चाउचाउका खोल, बोतल, गिलास, चप्पल, फाटेका कपडा, औषधिका डिब्बा र कार्टुन जथाभावी फाल्ने गरेका छन् ।
विभिन्न कम्पनी मार्फत ट्रेकिङ तथा हिमाल आरोहणमा जाने पर्यटकले गरेको फोहोर सम्बन्धित कम्पनीले फिर्ता ल्याउनुपर्ने र हिमालमा फोहोर गर्न नपाइने नियम भएपनि टे«किङ कम्पनीले बेवास्ता गर्ने गरेका छन् ।
पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङ भन्नुहुन्छ ‘विदेशी पर्यटकलाई फर्किंदा पनि फोहोर ल्याएर आउन र तोकिएको ठाउँमा फाल्न त भनेका छौं, तर फोहोर ल्यायो कि ल्याएन भन्ने अनुगमन खै कसले गर्ने ?’
हिमाली क्षेत्रमा बर्षको एक पटक सफाइ
पर्यटन व्यवसायी समिति र संरक्षण क्षेत्र व्यवस्थापन समितिले पर्यटकले फालेका फोहोरलाई वर्षको एक पटक सफाइ गर्ने गरिएको छ । हिमाल चढ्न जाने पर्यटकले हिमाल र आधारशिविरमा फोहोर फ्याँक्न नपाउने नियम नमुनाका लागि केही फोहोर मात्रै फिर्ता ल्याउने गरेको ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख बाबुलाल तिरुवाले बताउनुभयो । हिमाल आरोहण गर्न समूहमै जाने हुनाले ती आरोहण दलले गरेको फोहोर हिमाल आधारशिवीरमै रहने भएकाले हिमाली क्षेत्रमा फोहोर थुप्रिदै गएको उहाँले बताउनुभयो । पर्यटन व्यवसायी समिति र संरक्षण क्षेत्र व्यवस्थापन समितिले बर्षको एक पटक गरिदै आएको सफाइ अभियान पर्याप्त नभएको उहाँले बताउनुभयो ।
फोहर व्यवस्थापन नगरे जरिवाना तिर्नेगरी ५ सय डलर धरौटी पनि राखेर हुन्छन् आरोहण दलले । तर हिमाल चढेर आएपछि मात्रै एक्यापको सम्पर्कमा आउने भएकाले उनीहरुले कति फोहोर लिएर गए र फर्किदा कति ल्याउनुपर्ने हो सो एकिन नभएको तिरुवाले बताउनुभयो ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार ठाउँ ठाउँमा राखिएको फोहोर संकलन केन्द्र पनि भरिन थालेका छन् । सडक यातायातको राम्ररी विकास नभइसकेको र भएका सडक पनि कच्ची भएकाले मनाङको फोहोर संकलन गरेर पुनः प्रयोग गर्ने तर्फ कसैको ध्यान जान नसकेको पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङले बताउनुभयो ।
कुहिने फोहोरलाई कुहाउने र जल्नेलाई जलाउने गरिए पनि सिसाजन्य र प्लास्टिकजन्य फोहोरको व्यवस्थापन चुनौती बन्दै गएको छ ।