दिसाजन्य लेदो व्यवस्थापन यसरी गरौं – बिपीन डंगोल, कार्यकारी निर्देशक, एन्फो

काठमाडौ :  देशभर चर्पी बनाउने लहर चलिरहेको छ । चर्पी बनाएर वा चर्पी प्रयोग गर्दैमा मात्र खुलादिसामुक्त क्षेत्र कायम राख्न गाह्रो छ । किनकि चर्पीको सेफ्टी ट्याङ्क कुनै न कुनै दिन भरिन्छ । सेफ्टी ट्याङ्क दिसापिसाब र पानी (दिसाजन्य लेदो) ले भरिएपछि त्यसको राम्रो सँग व्यवस्थापन नगरिए त्यसले वातावरणमा मात्र होइन, मानव स्वास्थ्य र भूमिगत पानीको स्रोत आदिमा नराम्रो असर पार्छ । त्यसैले यसको सही व्यवस्थापन गर्न जरुरी छ ।

वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले गरेको एक अध्ययन अनुसाुर काठमाडौ उपत्यकामा बर्षेनी १ लाख ७० हजार मिटर क्यूब र पनौतीमा ४ हजार मिटर क्यूव दिसाजन्य लेदो उत्पादन हुन्छ । जुन प्रशोधन केन्द्र नभएकाले जहाँ पायो त्यही फ्याँक्ने गरिएको छ । यदि सेफ्टी ट्याङ्कको डिजाइन राम्रो सँग गरिएको छ भने पाँच वा ६ जनाको परिवारको दिसाजन्य लेदो तीन चार बर्षमा एकचोटी निकाल्नुपर्छ ।

सेफ्टी ट्याङ्कको आयतन झण्डै ४ देखि ५ हजार लिटरको हुन्छ । त्यसैले प्रत्येक तीन चार बर्षमा प्रत्येक घरबाट ४ हजार देखि ५ हजार लिटर दिसाजन्य लेदो विसर्जन गर्नुपर्ने हुन्छ ।
दिसाजन्य लेदो व्यवस्थापनका विषयमा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) का कार्यकारी निर्देशक  बिपीन डंगोल यसो भन्नुहुन्छ ।

दिसाजन्य लेदो व्यवस्थापन चुनौतीपूर्ण

हामीले गरेको दिसापिसाब कि खाल्डे चर्पीमा जान्छ, कि सेफ्टि ट्याङ्कमा गएर भरिन्छ । कि त ढल मार्फत कही कतैको पानीको स्रोतमा गएर मिसिन्छ । सेफ्टि ट्यांक वा खाल्डे चर्पीमा थुप्रिएको दिसापिसाब र पानी मिश्रित पदार्थलाई दिसाजन्य लेदो भनिन्छ ।

यो समस्या गाउँ तथा शहरमा बढिरहेको छ । पहिले बनाएका चर्पीको खाल्डो भरिन थालेका छन् , सेफ्टी ट्याङ्क पनि भरिन्छ । त्यसबाट निस्केको दिसाजन्य लेदोलाई कसरी व्यवस्थापन गर्ने भन्ने ठूलो चुनौतीको विषय बनेको छ ।

किनकि दिसाजन्य लेदो जहाँ पायो त्यही फाल्नु हुँदैन । यो एकदमै हानिकारक हुन्छ र यसको व्यवस्थापन अपरिहार्य छ ।

यसरी गरौं दिसाजन्य लेदोको व्यवस्थापन

दिसाजन्य लेदोको व्यवस्थापन नेपालका लागि मात्र नभई संसारकै लागि नयाँ समस्या र चुनौतीका रुपमा आइरहेको छ । त्यसैले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा यसको अध्ययन अनुसन्धानहरु पनि भइरहेका छन् । यसको समाधान भनेर एउटा मात्र विकल्प छैन । तर पनि हामीले धेरै अध्ययन अनुसन्धानबाट के पाएका छौं भने यसको उत्तम उपाय दिसाजन्य लेदोको प्रशोधन नै हो । त्यसपछि प्रशोधित लेदोलाई मलको रुपमा प्रयोग गर्ने र प्रशोधित फोहोर पानीलाई पनि सिचाईको रुपमा प्रयोग गर्ने ।

दिसाजन्य लेदो व्यवस्थापन भन्नाले यसको मुख्य चार चरणलाई अबलम्बन गर्नु उपयुक्त हुन्छ ।

पहिलो चरण : पहिलो चरणमा चर्पीको सेफ्टी ट्याङ्क कस्तो बनाउने भन्ने कुरा आउँछ ।  हाम्रो अध्ययनले के देखाएको छ भने सेफ्टी ट्याङ्क नाम मात्रको बनाएको हुन्छ । स्टान्डर्ड डिजाइनमा सेफ्टी ट्याङ्क नबनाउँदा दिसाजन्य लेदो चुहिएर जाने र भूमिगत पानीहरु प्रदुषण हुने समस्या देखिएको छ । त्यसैले सेफ्टी ट्याङ्कलाई कसरी स्टान्डर्ड डिजाइनमा बनाउने भन्ने हो । यो पानी नचुहिने खालको हुनुपर्छ तर धेरैजसो घरमा वाटर सील बनाएको हुँदैन ।

दोस्रो चरण : दिसाजन्य लेदोले चर्पीको सेफ्टी ट्याङ्क भरिएपछि त्यसलाई कसरी निकाल्ने भन्ने कुरा आउँछ । यसमा प्राइभेट सेक्टरको धेरै संलग्नता छ । जस्तो काठमाडौको हकमा १२ देखि १५ वटा ट्याङ्करले सेफ्टी ट्याङ्क सफा गर्ने सेवाहरु प्रदान गरिरहेको छ । उहाँहरुले सेवा त दिनुहुन्छ तर त्यसलाई सेफ्टी ट्याङक्बाट निकाल्दा पनि सुरक्षित तरिकाले दुर्गन्ध नफैलिने तरिकाले निकाल्नुपर्छ ।

तेस्रो चरण : दिसाजन्य लेदो कुनै मेसिनको सहायताले वा प्राइभेट सेक्टरले निकाल्यो, अब त्यसलाई कहाँ कसरी विसर्जन गर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ । । वातावरणीय दृष्टिकोणले प्रदुषण नहुने तरिकाले राम्रो सँग प्रशोधन गरेपछि मात्र फ्याँकनुपर्ने हुन्छ । तर काठमाडौ अथवा नेपालमै भन्ने हो भने प्रशोधन केन्द्रहरु धेरै छैनन्, त्यसैले अहिलेको अभ्यास भनेको सीधै लगेर खोलामा फ्याँक्ने वा खुला जंगलमा फाल्ने वा ढलको मुख्य ठाउँबाट मिसाउने काम भइरहेको छ । जसका कारण वातावरणीय प्रदुषण भईरहेको छ ।

चौथो चरण भनेको सुरक्षित विसर्जन र पुनः प्रयोगको विकल्प हो । दिसाजन्य लेदोलाई प्रशोधन गरेपछि कम्पोष्टको रुपमा प्रयोग गर्न सकिन्छ । यसबाट उत्पादित ग्यासबाट उर्जा पनि निकाल्न सकिन्छ । यसरी दिसाजन्य लेदोको व्यवस्थापन गर्न सकिन्छ ।  

दिसाजन्य लेदोले पु-याउने हानी

दिसाजन्य लेदोको राम्रो सँग व्यवस्थापन नगरिए भूमिगत पानीमा दिसाजन्य लेदो मिसिन सक्छ । त्यसबाट पानीजन्य रोगहरु फैलिन सक्ने जोखिम हुन्छ ।  
तराईमा खाल्डे चर्पीको प्रयोग अलि बढी हुन्छ, तराईमा नै बढीजसो पानीको स्रोत भूमिगत हुने भएकाले दिसाजन्य लेदो पानीमा मिसिने सम्भावना धेरै हुन्छ । यसलाई खुला रुपमा विसर्जन गर्दा वातावरणलाई कति प्रदुषित बनाउँ भन्ने लेखाजोखा गरिसाध्य छैन ।

दिसाजन्य लेदो व्यवस्थापनको अवधारणाले मूर्त रुप लिदै

दिसाजन्य लेदो व्यवस्थापनको सवालमा सरकारले पनि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । हामीले विभिन्न फोरमहरुमा सरकारको पहलमा दिसाजन्य लेदो व्यवस्थापन गर्नुपर्छ भन्ने कुराहरु उठायौं । अहिले साना शहरी खानेपानी आयोजना जुन खानेपानी तथा ढल निकास विभागले सन्चालन गरिरहेको छ । अहिले चार पाँच वटा ठाउँमा यस्ता आयोजनाहरु बन्दैछन् । अहिले बर्दियाको गुलरियामा पनि प्राक्टिल एक्सनको सहयोग र गुलरिया नगरपालिकाको सक्रियतामा दिसाजन्य लेदो व्यवस्थापन प्रशोधन केन्द्र बनेको छ । नगरपालिकाले पनि नेतृत्वदायी भूमिका खेलिरहेको छ ।
यो सहकार्य राम्रो भयो भने अबको ५÷६ बर्षमा दिसाजन्य लेदो व्यवस्थापनमा नेपालले नमुना पेश गर्न सक्छ ।  

अब यसरी बुझौं, गरौं

दिसाजन्य लेदो व्यवस्थापनको काम घरबाटै शुरु हुन्छ । घर बनाउनु अघि नक्सा पास गर्दा तयार पारेको डिजाइन अनुसार नै सेफ्टी ट्याङ्क बनाऔं ।

सरकारले आवश्यक नीति निर्माण गर्नुप-यो । सबैले यो बुझिदिनुप-यो कि सेफ्टी ट्याङ्क बनायो भने दिसाजन्य लेदो व्यवस्थापनमा सहयोग पुग्छ । वातावरणीय प्रदुषण हुन बाट जोगाउने दायित्व हाम्रो पनि हो भन्ने कुराको हेक्का राख्नुप-यो ।

अनि निजी क्षेत्र, ट्याङ्कर व्यवसायी, दिसाजन्य लेदो तान्ने ट्याङकरहरु, उहाँहरुको भूमिका अझ ठूलो हुुन्छ । उहाँहरुले राम्रो सेवा प्रदान गरिरहनुभएको छ । तर उहाँहरुको समस्या के हो भने यो व्यवसायलाई व्यवस्थित गरिएको छैन, व्यवस्थित नगर्ने वित्तिकै उहाँहरुले सामाजिक अपहेलना, लज्जा बोध गरिरहनुभएको छ । यो सरसफाइको व्यवसाय हो, यो कुनै छिछी दुरदुर गर्नुपर्ने व्यवसाय होइन भन्ने सम्मानभाव प्रकट गराउन सक्नुपर्छ । ताकि उहाँहरु पनि आफ्नो व्यवसायमा स्थापित हुन सकोस् ।

कार्यकारी निर्देशक डंगोलसँग दिसाजन्य लेदोको व्यवस्थापन, चुनौती र दायित्वका विषयमा वास खबरका प्रसन्न तामाङले गरेको कुराकानीमा आधारित ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार