विनोद धौलागिरि, दोमुखा, शिवसताक्षी (झापा)
शिवसताक्षी नगरपालिका, वडा नं. १० निवासी नरबहादुर सेञ्चुरी उमेरले पचास काटिसक्नुभएको छ । इलामको निदखुबाट २०१० सालमा पेट पाल्नकै लागि झापा झरेका नरबहादुरको परिवार विभिन्न ठाउँ सर्दै अहिले दोमुखामा बसोबास गरिरहेको छ । बाँसको मान्द्रोले बारबेर बनाइएको एक तले टहरोको पिंढीमा आरन थापिएको छ । यही आरनमा फलामका सामान बनाउनु नै नरबहादुरको मुख्य पेशा हो ।
“राम्रो घर पनि बनाउन सकेको छैन”, नरबहादुरले भन्नुभयो, “आरनको कमाइले कसरी पक्की घर बनाउन सकिएला र ?” बलियो घर बनाउने आशा मारिसकेका नरबहादुरले सुरक्षित र बलियो शौचालय भने बनाउनुभएको छ । “बाह्र हजार रुपैयाँ लाग्यो”, उहाँले सुनाउनुभयो, “आरनको पैसा र ज्यालादारीको कमाइको पैसाले बनाएको ।”

दोमुखामा बसाइ सरेपछि उहाँले अस्थायी चर्पी बनाएर दिसा गर्न थाल्नुभयो । तर, त्यसबाट निस्कने गन्ध उहाँलाई मन परेन । “खाल्डे चर्पीमा झिंगा बसेको देखें, त्यहाँ बस्ने झिंगा खानामा पनि बस्छ”, नरबहादुरले सुनाउनुभयो, “खाल्डे चर्पीमा दिसा गर्दा आफ्नो दिसा झिंगाले आफैलाई खुवाउने रहेछ भन्ने लाग्यो, त्यसैले पक्की चर्पी बनाएँ ।”
तातो आरनको छेउमा अर्जाउँदै गरेको गाउँले खुकुरीमा धार लगाउँदै नरबहादुरले गुनासो गर्नुभयो, “खाएको थान्को पार्न नसक्नेहरुले गर्दा हाम्रो नगरपालिकाको बेइज्जत भयो । चर्पी बनाउन पनि नचाहने, गतिछाडाहरु …।”
इलामबाट ७ जनाको परिवारसहित दोमुखा झरेका दिलकुमारी लिम्बूको परिवारले पनि बस्नका लागि मुस्किलले काठे घर बनाए । किनेका पुराना काठ जोडेर घर तयार भयो, तर काठको घरमा खाना पकाउन राम्रो लागेन । घरको तल्लो तला तयार भैसकेको थिएन । माथिल्लो तलामा रात काट्नसम्म मिल्ने भएको थियो । “जेमा पकाएर खाए पनि दिसा गर्ने ठाउँ त चाहियो”, दिलकुमारीले सुनाउनुभयो, “त्यसैले भान्सा बनाउनुभन्दा अगाडि चर्पी बनाएँ ।”

दिलकुमारीले चर्पीमात्र बनाउनुभएको छैन, बाथरुम बनाउने ठाउँ पनि छुट्याउनुभएको छ । जस्तापाता ठड्याएर अस्थायी भान्सा तयार गरिएको छ । आफ्नै जग्गामा पानीका लागि कल गाड्न सक्नुभएको छैन, सार्वजनिक कलबाट पानी ल्याउनुहुन्छ । तर आउँदो महिना बाथरुम पनि बनाइसक्ने संकल्प छ । “लुकेर दिसा पिसाव गर्नेले कसरी खुल्लामा नुहाउनु ?”, उहाँको प्रतिप्रश्न छ, “नुहाउँदा गोप्यता चाहिंदैन र ?”
दोमुखाकै विन्द्र राई पनि जस्ताले छाएको एक तल्ले घर बनाउने तरखरमा हुनुहुन्छ । तर उहाँले चर्पी पहिल्यै बनाइसक्नुभयो । “आफ्ना लागि पनि चाहियो, कामदारका लागि पनि चाहियो”, विन्द्रले सुनाउनुभयो, “त्यसैले पहिले चर्पी बनाउन लगाएँ ।”
सरसफाइलाई साझा सवाल बनाउने जनप्रतिनिधिको धोको
झापा जिल्लाको पूर्वपश्चिम सडक खण्डमा पर्ने शिवसताक्षी नगरपालिका अझैसम्म खुल्ला दिसामुक्त घोषणा हुन सकेको छैन । स्थानीय तह पुनरसंरचना भै स्थानीय निकाय बन्ने क्रममा साविक शिवसताक्षी नगरपालिकामा पाँचगाछी र धरमपुर गाविस गाभिएका थिए । वडा नं. १, २ र ३ रहेको धरमपुर गाभिने क्रममा खुल्ला दिसामुक्त भयो भने वडा नं. ४ र ५ रहेको पाँचगाछी समेत हालै खुल्ला दिसामुक्त घोषणा भयो ।
साविक नगरपालिका क्षेत्रभित्रका वडा नं. ६ देखि ११ सम्म खुल्ला दिसामुक्त हुन बाँकी छन् । १४ हजार ८ सय ७३ घरधुरी रहेको शिवसताक्षी नगरपालिका खुल्ला दिसामुक्त हुन अझै १ हजारभन्दा बढी चर्पी बन्न बाँकी रहे पनि जनप्रतिनिधिको सक्रियता र अगुवाइका कारण सरसफाइ प्रवद्र्धनलाई जनताको साझा सवाल बनाउने अभियानमा आफूहरु रहेको बताउनुहुन्छ नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा ।
“हामीले सरसफाइलाई जीवनशैलीको रुपमा विकास गर्नुपरेको छ”, शेर्माको भनाइ छ, “चर्पी बनाउने विषयलाई जवर्जस्तीको विषय भन्दा पनि समुदायको साझा सवालको रुपमा स्थापित गर्ने गरी जनप्रतिनिधिको अगुवाइमा अहिले अभियान सञ्चालन गरिरहेका छौं ।”
दिगो सरसफाइ प्रवद्र्धनका लागि प्रत्येक वडामा विहान ७ बजेदेखि जनप्रतिनिधि र स्थानीय अगुवाको सहभागितामा घरदैलो कार्यक्रम सञ्चालन गर्ने निर्णय नगरपालिकाले गरेको छ । “हाम्रो वडालाई अबको एक हप्ताभित्र खुल्ला दिसामुक्त अवस्थामा पु¥याउछौं”, घरदैलोमा भेटिएका शिवसताक्षी–१० का वडाध्यक्ष कर्णबहादुर थापाले सुनाउनुभयो, “हामी जनप्रतिनिधिले सरसफाइ व्यक्तिको आवश्यकता र राज्यको अभियान हो भन्ने कुरा बुझाउँछौं, सरसफाइ अभियानकर्ताहरुले सरसफाइको प्राविधिक विषयमा बुझाउनुहुन्छ ।”
शिवसताक्षी–७ का वडाध्यक्ष नवीन इजम समेत वडामा घरदैलो अभियानमा भेटिनुभयो । “अहिलेसम्म हामीले पनि जनतालाई बुझाउन सकेनौं, जनताले पनि बुझ्न खोजेनन् । त्यसैले चर्पी नगरपालिकाका लागि र संस्थाका लागि बनाइदिनेजस्तै गरे”, अध्यक्ष इजमले भन्नुभयो, “सरसफाइलाई प्रत्येक व्यक्तिको दैनिकी बनाउन सकियो र स्थानीय अगुवाहरुलाई जिम्मेवार बनाउन सकियो भने हामी फेरि फेरि दौडिरहनु नै पर्दैन जस्तो लागेको छ ।”
नगर प्रमुख चन्द्रकुमार शेर्मा शिवसताक्षी नगरपालिकालाई यही फागुन महिनाभित्रै खुल्ला दिसामुक्त घोषणा गरी पूर्ण सरसफाइ अभियान अगाडि बढाउने दबावमा हुनुहुन्छ, किनकि सँगै जोडिएको कनकाई नगरपालिका झापा जिल्लाको पहिलो खुल्ला दिसामुक्त नगरपालिका घोषणा भैसकेको छ भने वातावरण तथा सरसफाइ कार्यविधि जारी गरिसकेको छ । “हामीले पनि पूर्ण सरसफाइको यात्रा तय गर्नैपर्छ”, उपप्रमुख भोजकुमारी नेपाल भन्नुहुन्छ, “सामाजिक समुन्नतिका लागि पनि सरसफाइ अनिवार्य आवश्यकता भैसक्यो ।”


777 पटक हेरिएको 

