सुनसरी : सुनसरी जिल्लाको कोशी गाउँपालिका अन्तर्गतको श्रीपुर गाउँ खुला दिसामुक्त भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले श्रीपुरलाई खुला दिसामुक्त घोषणा गर्नुभयो । घोषणा सभामा उहाँले गाउँघर टोल र बस्ती मात्र नभई प्रत्येक परिवारले स्वस्थ रहन शौचालय प्रयोगमा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।
कोशी गाउँपालिका वडा नं ४, ५ र ६ का दुई हजार २६४ घरमा शौचालय बनाई पूर्ण रुपमा प्रयोगमा आएपछि श्रीपुरलाई खुला दिसामुक्त गाउँ घोषणा गरिएको हो । श्रीपुरका विद्यालय तथा सार्वजनिक स्थान र सरकारी तथा गैरसरकारी कार्यालयमा समेत शौचालय निर्माण भई प्रयोगमा आइसकेको खुला दिसामुक्त अभियानकी ललिता लम्सालले बताउनुभयो ।
जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय इटहरी तथा जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति, नारी विकास संघ, प्रयास नेपाल सुनसरी र कोशी गाउँपालिकाको सक्रियतामा श्रीपुर गाउँलाई खुला दिसामुक्त घोषणा गरिएको अभियानकर्मी लम्सालले बताउनुभयो ।


974 पटक हेरिएको 

