नेपालकै होचो भाग कचनकवल सरसफाइमा समेत सबैभन्दा पछाडि

विनोद धौलागिरि, कचनकवल (झापा)

नेपालकै सबैभन्दा होचो भूभाग हो झापाको कचनकवल । जिल्ला संयोजन समितिले कचनकवललाई पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागि रणनीतिक योजना बनाउने तयारी गरिरहेको छ । तर, यो होचो भूभाग सरसफाइमा समेत सबैभन्दा कमजोर छ ।

 

साविकका ६ वटा गाउँ विकास समिति मिलेर बनेको कचनकवलका ५६ प्रतिशत घरधुरीमा मात्र शौचालय छन् । साविक बनियानी गाविस खुल्ला दिसामुक्त घोषणा भैसकेको छ । खुल्ला दिसामुक्त घोषणा हुन बाँकी वडाहरुलाई हेर्ने हो भने वडा नं. १ मा रहेका १ हजार ५ सय ६८ घरधुरीमध्ये ९ सय ५२ घरधुरीमा सुरक्षित चर्पी बन्न बाँकी छ ।

जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको अद्यावधिक तथ्यांक अनुसार वडा नं. २ र ३ मा पर्ने साविक पथरिया गाविसमा अझै १ हजार ९८ घरधुरीमा चर्पी बन्न बाँकी छ । वडा नं. ४ मा रहेको साविक केचना गाविसमा ४६ प्रतिशत घरधुरीमा मात्र शौचालय छन् भने वडा नं. ५ रहेको साविक पाठामारी गाविसमा ३३ प्रतिशतमात्र घरधुरीमा सुरक्षित शौचालय छन् ।

सबैभन्दा धेरै सरसफाइ कभरेज भएको वडा नं. ७ रहेको साविक बालुवाडी गाविसका ६३ प्रतिशत घरधुरीमा मात्र शौचालय रहेका छन् ।

समग्र तराई मधेशमै होचा भूभाग पछाडि

झापामा मात्र होइन, नेपालकै दोस्रो होचो भूभाग धनुषाको मुखियापट्टी मुसरनिया गाउँपालिकाको सरसफाइ कभरेज ६५ प्रतिशतमात्र रहेको छ, जुन धनुषा जिल्लाको सबैभन्दा कम कभरेज हो ।

 

महोत्तरी जिल्लाको सदरमुकाम रहेको जलेश्वर नगरपालिकाको सरसफाइ कभरेज ७७ प्रतिशतमात्र रहेको छ । यसैगरी सर्लाहीको चक्रघट्टा गाउँपालिका सबैभन्दा कम कभरेज भएको स्थानीय तह हो, जहाँ ४४ प्रतिशत घरधुरीमा मात्र सरसफाइको पहुँच रहेको छ ।

बारा जिल्लाको पचरौटा नगरपालिकाको सरसफाइ कभरेज ४५ प्रतिशतको हाराहारीमा रहेको छ भने पर्साको विन्धवासिनी गाउँपालिकाको कभरेज ५४ प्रतिशतमात्र रहेको छ । यस्तै, रौतहटको राजदेवी नगरपालिकाको कभरेज ८० प्रतिशत रहेको छ । यी सबै स्थानीय तहको कभरेज जिल्लाको औसत कभरेजभन्दा धेरै कम छ ।

सजिलो ठाउमा दौडियो जिल्ला

तराई मधेशका दूर्गम, भारतसँग सीमाना जोडिएका र कम सरसफाइ कभरेज भएका स्थानीय तहहरु जिल्लाको नजरमा समेत पर्न नसकेको बताउनुहुन्छ जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेल ।

“यसअघि दूर्गम ठाउँमा जिल्ला नै दौडिएन । राजमार्ग वरिपरी न जिल्ला दौडिन सजिलो हुन्छ”, पोर्तेलले भन्नुभयो, “दूर्गम ठाउँलाई पहिले हेर्न सकेको भए अहिले यो अवस्था आउने थिएन ।”

 

सरसफाइमा ‘नेपाल भारत कनेक्सन’ को बारेमा भएको आम बुझाइ र समुदायलाई बुझ्ने र विश्लेषण गर्ने ‘फरक बुझाइ’का कारण जिल्लाबाट दूर्गम क्षेत्रमा कम ध्यान पुगेको बताउनुहुन्छ बिराट सामुदायिक अध्ययन केन्द्रका खुल्ला दिसामुक्त अभियान संयोजक महेन्द्र कार्की ।

“सजिलोबाट काम थाल्ने र लक्ष्य निर्धारण गरी काम गर्न नसक्दा पछाडि परेका भूभागहरु सरसफाइ कभरेजमा अझै पनि पछाडि नै रहेका छन्”, कार्कीको भनाइ छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार