खानेपानीले दैनिकीमै फेरबदल

पर्वत : तीन वर्ष अघि सम्म पर्वत जिल्लाभर एउटा कहानी थियो, नाम रानीपानी, छैन खानेपानी  । तर अहिले त्यो कहानी फेरिएको छ ।

२०६९ सालतिर चलेको खुला दिसामुक्त अभियानले गाउँमा नयाँ सोच जन्मायो । खुला दिसामुक्त हुनलाई घरघरमा चर्पी चाहियो । चर्पीलाई पानी । नजिक पानीको स्रोत नभएपछि स्थानीयले चर्पी बनाउनै मानेनन् । तर, गाउँ पुगेका प्राविधिकले जुक्ति सिकाए ।

तत्कालीन पश्चिम नेपाल खानेपानी तथा सरसफाइ परियोजनाले गाउँदेखि करिब ३ सय ५० मिटर तलको ढावगैरा मूलबाट पानी ल्याउने योजना हुन सक्छ । सुरुमा गाउँलेले पत्याएनन् । ‘पानी माथिबाट तल पो जान्छ, तलबाट माथि कसरी आउँछ ? धेरैले पत्याएकै थिएनन् । ढावगैरा खानेपानी आयोजनाको उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद पराजुलीले भन्नुभयो, ‘यहाँ बिजुली आइसकेको थियो । सरहरूले बिजुलीबाट तानेर ल्याउन सकिन्छ भनेपछि हामी कस्सियौं । काम सुरु गरेको एक वर्षमै घरघरै खानेपानी आयो ।

घरघरै पानी आएपछि स्थानीयलाई खानेपानीमा सहज मात्रै भएको छैन बारीमा सिँचाइ गरी तरकारी बेचेर आम्दानी गर्न पनि पुगेको छ । स्थानीय ज्ञानप्रसाद ढकालले अहिले चारवटा टनेलमा तरकारी हराभरा बनाएका छन् । तीन वर्षअघि कुँणादीका तेजबहादुर दर्जीको घरबारी साढे ३ लाखमा किनेका ढकालले सो लगानी तरकारीकै आम्दानीबाट एक वर्षमै जुटाए ।

‘उतिबेला पानीको समस्याकै कारण तेजबहादुरको परिवार मलाई घरजग्गा बेचेर बुटवल सर्नुभयो,’ उहाँले भन्नुभयो, ‘मैले किनेकै वर्ष खानेपानी आयो । धारा आएपछि पानी सदुपयोग गर्न तरकारी खेती गरें ।’ ढकालले दर्जीको १२ रोपनी बारी र तीनतले घर किनेका थिए ।

उहाँले अहिले त्यो बारीमा टनेलभित्र गोलभेंडा, काउलीका साथै प्याज र बन्दा फलाउँछन् । बिरुवा पनि बेच्छन् । ढकाल मात्रै होइन पानी आएपछि गाउँकै नुमराज शर्मा र भवानीप्रसाद शर्मा लगायतले पनि व्यावसायिक तरकारी खेतीबाट राम्रै आम्दानी गरिरहेका छन् ।

अहिले रानीपानीका कुँणादी, केवरेटोल, बुढाघरेटोल, टारीपुछारेटोल, सिरानटोल, खडेटोल र आचार्य टोल लगायतमा दुईवटा लिफ्ट खानेपानी आयोजना सञ्चालनमा छन् ।

पानी बोक्न टाढाको आउजाउले समय नमिलेर कतिपय बालिकाको पढाइ पनि छुट्थ्यो । स्थानीय नेपालतारा माविको कक्षा ११ मा पढ्ने तिर्सना पराजुलीलाई अब पहिले जस्तै सखारै गाग्रो बोकेर पानी लिन टाढा पुग्नुपर्ने चिन्ता छैन । कक्षा १२ का विमल र सिजनले पनि हिजोआज बिहान ९ बजेसम्मै ढुक्कले पढ्न पाएका छन् ।

करिब ८० लाखको लागतमा सम्पन्न आयोजनाले यी गाउँका सय हाराहारी घर परिवारमा पानी पुगेको छ । घरघरै जोडिएका धारा प्रयोग गरेको आधारमा महसुल बुझाउनुपर्छ । एक परिवारले न्यूनतम सयदेखि हजार रुपैयाँ सम्मको पानी खर्चन्छन् ।

पानी तानेको विद्युत् खर्च नौ सयदेखि हजार रुपैयाँ हाराहारी विद्युत् प्राधिकरणलाई बुझाउनुपर्छ । पानी खोल्ने र बन्द गर्ने कर्मचारीलाई मासिक तीन हजार । ‘सबै खर्च गरेर हाम्रो कोषमा तीन लाख जम्मा भएको छ,’ अध्यक्ष पराजुलीले भन्नुभयो, ‘त्यसैको ब्याजले मर्मत सम्भार गर्दै आएका छौं ।’

धारा भएपछि सबैका घरमा पक्की चर्पी छन् । पानीको समस्याकै कारण घर वरपर देखिने फोहोरमैला पनि अहिले हटेको छ । पारिवारिक, सामाजिक र व्यक्तिगत सरसफाइकै कारण मौसमी बिरामीको संख्या कम हुँदै गएको स्वास्थ्यकर्मी ज्ञानप्रसादले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार