काठमाडौं : सरकारले नुवाकोटको बञ्चरेडाँडामा ल्याण्डफिल साइट बनाउने जिम्मा शहरी विकास मन्त्रालयलाई दिएको छ । यसअघि बञ्चरे डाँडामा ल्याण्डफिल साइट कसले बनाउने भन्ने अन्यौल थियो ।
काठमाडौं महानगरपालिका सहित उपत्यकाका १८ वटा नगरपालिकाले केन्द्र सरकारको मुख ताकेर बसेका थिए । १७ वर्षअघि विस २०५८ सालमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि बञ्चरेडाँडामा ल्याण्डफिल साइट बनाउने भनिएको थियो । तर, हालसम्म सामान्य पूर्वाधारको काम समेत अघि बढेको छैन ।
उपत्यकाको फोहोर व्यवस्थापनका लागि सरकारले सन् २००९ मा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर नेपवेस्ट सहितका कम्पनीलाई छनोट गरेको थियो । त्यसपछि २०११ मा स्थानीय विकास मन्त्रालयले नेपवेस्टसँग द्विपक्षिय सम्झौता गरेको थियो । सन् २०१३ पछि यो परियोजना लगानी बोर्ड मातहत गएको थियो ।
नेपवेस्टसँग गत ०७४ फागुनमै लगानी बोर्डले प्रारम्भिक सम्झौता गरेको थियो । त्यसअनुसार बोर्डले १ असार २०७५ मा परियोजना विकास सम्झौता स्वीकृत पनि गरिसकेको छ ।
तर, काठमाडौं महानगरपालिकाको असहयोगका कारण यो परियोजनाको हालसम्म पिडिए हुन सकेको छैन । २ वर्षका लागि भनेर २०५८ सालमा नुवाकोटको ओखरपौवास्थित सिसडोलमा बनाइएको ल्याण्डफिल साइटमा अहिले पनि फोहोर विसर्जन गर्दै आइरहेको छ ।