विनोद धौलागिरि, भद्रपुर (झापा)
नेपालकै पुरानो नगरपालिका भद्रपुर खुल्ला दिसामुक्त घोषणा भएको छ । शुक्रबार आयोजना गरिएको घोषणा समारोहमा प्रदेश सभा सदस्य बसन्त बानियाँ र जिल्ला समन्वय समिति झापाका कार्यवाहक अध्यक्ष एवम् जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका कार्यवाहक अध्यक्ष मीना पराजुलीले समितिको तर्फबाट नगरपालिकालाई खुल्ला दिसामुक्त घोषणाको प्रमाणपत्र प्रदान गर्नुभयो ।

भद्रपुर, झापामा खुल्ला दिसामुक्त घोषणा हुने १३ औं स्थानीय तह हो । १५ स्थानीय तह रहेको झापामा मेचीनगर र हल्दिबारी खुल्ला दिसामुक्त घोषणा हुन बाँकी छन् । यी दुबै स्थानीय तह मंसीर २४ र २५ मा खुल्ला दिसामुक्त घोषणा गर्ने तयारी गरिरहेका छन् ।
१५ हजार २ सय ७० घरधुरी रहेको भद्रपुर नगरपालिकामा खुल्ला दिसामुक्त अभियानअघि १२ हजार ६४ घरधुरीमा सुरक्षित शौचालयको पहुँच रहेको थियो ।
बाँकी ३ हजार २ सय ६ घरधुरीमा अभियानका क्रममा शौचालय बनाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसी बहादुर श्रेष्ठले जानकारी दिनुभयो । भद्रपुर नगरपालिकाको वडा नं. १ र २ रहेको साविक पृथ्वीनगरमा ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको सहयोगमा विराट सामुदायिक केन्द्रले र बाँकी वडाहरुले नगरपालिकाले आफैले खुल्ला दिसामुक्त अभियान सहजीकरण गरेको हो ।
सम्मान नै सम्मान
खुल्ला दिसामुक्त घोषणाका अवसरमा अभियान थालनी भएपछि आफ्नै लागतमा चर्पी बनाउने विपन्न घरधुरीलाई सम्मान गरिएको थियो । वडा नं. १ देखि १० सम्मका क्रमशः चन्द्रबहादुर लिम्बू, चक्र भुजेल, महनलाल गणेश, विनय माझी, जात्रु राजवंशी, रामु कामती, गीता राजवंशी, देवीलाल विश्वकर्मा, विश्वेश्वरी राजवंशी र अशोक रकलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।
यसैगरी खुल्ला दिसामुक्त अभियानमा सहयोग गर्ने सामाजिक अगुवाहरु आइतबहादुर लिम्बू, आसबहादुर तामाङ, रमादेवी घिमिरे, रोहितसिंह राजवंशी, विरजू सहनी, गोपाल मण्डल, अरुण पोखरेल, उर्मिला सापकोटा, सरु सुब्बा र मुक्ति दाहाललाई समेत नगद पुरस्कार सहित सम्मान गरिएको थियो । यसैगरी सम्मानित हुनेमा खुल्ला दिसामुक्त अभियानका कार्यक्रम अधिकृत फणिन्द्र दाहाल, क्षेत्र संंयोजकहरु सीताराम नेपाल र विकास राजवंशी तथा प्रज्वलकहरु रमला अधिकारी, निशु कर्ण, गायत्रा श्रेष्ठ, विष्णु राई र हेमकुमारी राजवंशी रहनुभएको छ ।
दिगोपनमा जोड
घोषणा समारोहका वक्ताहरुले प्राप्त उपलब्धीहरुको दिगोपन र पूर्ण सरसफाइ अभियानको निरन्तरतामा जोड दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य बसन्त बानियाले भौतिक विकासले मानव जीवनलाई सहज बनाउने भए पनि सामाजिक समृद्धिका लागि सरसफाइ अभियानले महत्वपूर्ण भमिका खेल्ने बताउनुभयो ।

“खुल्ला दिसामुक्त, पूर्ण खोप, पूर्ण साक्षर, विभेदमुक्त लगायतका सामाजिक अभियान हामीले परम्परागत रुपमा देखिरहनेभन्दा फरक, तर सामाजिक समृद्धिका अभियान हुन्”, उहाँको भनाइ थियो, “भौतिक र आर्थिक विकाससँगै सामाजिक साँस्कृतिक र मानवीय विकास हुन सकेमामात्र विकासले सन्तुलित रुपमा फड्को मार्छ ।”
अर्का प्रदेश सभा सदस्य पूर्णसिंह राजवंशीले नेपालकै पहिलो नगरपालिका भद्रपुर धेरै पहिले नै खुल्ला दिसामुक्त भैसक्नुपर्ने बताउँदै सरसफाइ अभियानको निरन्तरतामा जोड दिनुभयो ।
जिल्ला समन्वय समिति झापाका कार्यवाहक प्रमुख मीना पराजुलीले राज्यले तोकेको अवधिमा झापा जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्न नसकिए पनि अब दुईवटामात्र स्थानीय तह खुल्ला दिसामुक्त घोषणा हुन बाँकी रहेको र त्यहाँ पनि घरायसी चर्पी निर्माणको कार्य सकिइसकेको बताउनुभयो ।
नगर प्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका असारु राजवंशी, नेपाली काँग्रेसका गणेश पोखरेल, वडा नं. ५ का अध्यक्ष बन्धु कार्की, टोल विकास संस्थाका उत्तम सुवेदी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठ, शाखा अधिकृत राजन न्यौपाने लगायतले सरसफाइ अभियानको निरन्तरतामा जोड दिनुभएको थियो ।


1710 पटक हेरिएको 

