वास क्षेत्रमा अक्सफाम र साझेदार संस्थाको सहयोग : १२ हजार जनसंख्या लाभान्वित

सिन्धुपाल्चोक : स्वस्थानी सापकोटा, चौतारा साँगाचोकगढी नगरपालिका स्थित सेतीदेवी पञ्चकन्या माविको कक्षा १० मा अध्ययनरत छिन् । महिनावारी भएको समयमा हाजिर नहुने सापकोटा अहिले कहिल्यै गयल हुँदिनन्, उनी मात्रै होईन महिनावारी सुरु भएका अन्य छात्राहरु कसैले पनि गयल हुनु परेको छैन ।


विद्यालयमा छात्रामैत्री शौचालय निर्माण भएपछि छात्रा नियमितता बढेको हो । ग्लोबल अफेयर्स क्यानडाको सहयोगमा अक्सफाम नेपाल र जनहित ग्रामिण सेवा समितिको साझेदारीमा बनेको शौचालयमा महिनावारी हुने उमेरका छात्राहरुका लागि प्याड फाल्ने व्यबस्थित कठप्वाल र त्यहाँबाट फालिएका प्याड जलाउने इन्सिनेटर निर्माण गरिएको छ ।


शौचालयको मात्र सुधार भएको छैन कि, भूकम्पले भवन र शौचालय भत्किएको विद्यालयमा भवन पनि पक्की बनिसकेका छन् ।


१६ पक्की शौचालय निर्माण


साझेदार संस्थाहरु जनहित ग्रामिण सेवा समिति, ग्रामिण महिला सृजनशील परिवार र महिला आत्मनिर्भरता केन्द्रसँग सहकार्य गरेर बनाईएका शौचालय मध्ये सबै माध्यमिक विद्यालयमा इन्सिनेटर सहित लैंगिकमैत्री, बालमैत्री र अपाङ्गमैत्री शौचालय बनाईएको अक्सफामका जनस्वास्थ्य इन्जिनियर राजन श्रेष्ठले जानकारी दिनुभयो ।


उहाँका अनुसार सिन्धुपाल्चोकका जुगल गाउँपालिका, चौतारासाँगाचोकगढी नगरपालिका, बाह्रबिसे नगरपालिका, भोटेकोशी गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, मेलम्ची नगरपालिका र हेलम्बु गाउँलिकामा क्षेत्रका विद्यालयमा बनाईएका १६ पक्की शौचालय बालमैत्री, अपाङ्गमैत्री र लैंगिकमैत्री बनाईएका छन् ।

२३ खानेपानी योजनाबाट १२ हजार लाभान्वित


गत २ बर्षमा अक्सफामले तीनवटै साझेदार संस्था मार्फत निर्माण सम्पन्न गरिएका २३ वटा खानेपानी योजना मार्फत २ हजार २ सय ८७ घरधुरीका १२ हजार ४ सय ४१ जना प्रत्यक्ष लाभान्वित भएको जनस्वास्थ्य इन्जिनियर श्रेष्ठले बताउनुभयो । जसमा जनहित ग्रामिण सेवा समिति मार्फत २ करोड ७४ लाखको लगानीमा १२ वटा खानेपानी आयोजना निर्माण भएका छन् ।

संस्थाका कार्यकारी निर्देशक राजेन्द्र शर्माका अनुसार योजनाबाट १ हजार ४ सय ६५ घरधुरीका ७ हजार ५ सय ९७ जना प्रत्यक्ष लाभान्वित भएका छन् । गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य समेत रहेका शर्माले भूकम्पले भत्किएका र नयाँ ठाउँमा खानेपानी योजना सम्पन्न गरिएको बताउनुभयो ।


७ वटा खानेपानी आयोजना मार्फत झण्डै ३ हजार लाभान्वित


ग्रामिण महिला सृजनशील परिवारले ७ वटा खानेपानी आयोजना निर्माण पुरा गर्दा ४ सय ५७ घरका २ हजार ९ सय ७७ जना लाभान्वित भएका छन् । यी योजना निर्माण गर्न १ करोड ८२ लाख खर्च भएको कार्यक्रम संयोजक ओम तामाङले जानकारी दिनुभयो ।


अक्सफामको अर्को साझेदार संस्था महिला आत्मनिर्भरता केन्द्रले यो अबधिमा ४ वटा खानेपानी योजना निर्माण सम्पन्न गर्दा ३ सय ६५ घरधुरीका १ हजार ८ सय ३७ जना लाभान्वित भएका छन् । संस्थाका कार्यक्रम संयोजक उमेश नकर्मीका अनुसार खानेपानी निर्माणका लागि १ करोड ५४ लाख ७२ हजार रुपैंया खर्च भएको छ ।


ग्लोबल अफेयर्स क्यानडाको ६ करोड लगानी


ग्लोबल अफेयर्स क्यानडाको सहयोगमा अक्सफामले सिन्धुपाल्चोकमा खानेपानी र सरसफाइका क्षेत्रमा ६ करोड ८ लाख ३३ हजार खर्च भएको जनाएको छ । जसबाट २३ वटा खानेपानी योजना र १६ वटा विद्यालयमा पक्की शौचालय निर्माण भएका छन् ।


शौचालय विद्यार्थीको चाप अनुसार दुईकोठे, चार कोठे र ६ कोठे निर्माण गरिएको जनहितका जनस्वास्थ्य इन्जिनियर मदन सुवेदीले बताउनुभयो ।


जनहितका कार्यक्रम संयोजक श्रीधर न्यौपानेका अनुसार विद्यालयमा शौचालय निर्माणका लागि जनहित मार्फत मात्रै ८३ लाख ९२ हजार ९ सय ९१ रुपैंया खर्च भएको छ । निर्माण गरिएका सबै विद्यालयका शौचालयमा पानीको समेत व्यबस्था गरिएको न्यौपानेले बताउनुभयो ।

अक्सफामले साझेदारसंस्थाहरुमार्फत जनस्वास्थ्य प्रवद्र्धनका कार्यक्रम पनि संचालन गरेको छ । जसमा सरसफाई, स्वच्छता र चेतनामुलक कार्यक्रम सञ्चालन गरेको जनस्वास्थ्य प्रवद्धन अधिकृत राजिव अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीका अनुसार कार्यक्षेत्रका विद्यालय र समुदायमा महिनावारी स्वास्थ्य व्यबस्थापन, पानी सुद्धिकरण, समुदायको सरसफाई जस्ता कार्यक्रम गरिएका छन् । यस्ता कार्यक्रम स्थानिय तहका महिला स्वास्थ्य स्वयंमसेविकाहरुको सहयोगमा समेत सम्पन्न गरिएको जनहितकी जनस्वास्थ्य प्रवद्धन अधिकृत सुरुचि पाण्डेले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार