हरिसुन्दर छुकां
भक्तपुर : चाँगुनारायण नगरपालिका वडा नंं. ९ का वडाध्यक्ष गणेश त्यातले जथाभावी फोहोर गर्नेलाई कानूनी दायरामा ल्याउने बताउनुभएको छ ।
पूर्ण सरसफाइ उन्मुख वडाको रुपमा रहेको वडा नं. ९ का विभिन्न ठाउँमा सरसफाइ अभियान चलिरहेको जानकारी दिँदै सफाइमा अटेर गरे स्वयम्लाई घाटा हुने बताउनुभयो ।
ताथलीको ब्रम्हायणी मन्दिरदेखि इथाचा, दुमला ढोकालगायतका स्थानमा भएको सफाइ कार्यक्रममा वडाध्यक्ष त्यातले वडालाई नमूना वडा बनाउनका लागि सबै वडावासीको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, सरसफाइ गर्नु हामी सबैको दायित्व हो, यो दायित्व सबैले पूरा गर्नुपर्छ, आफ्नो घर आँगन मात्र नभएर टोललाई पनि सफा गर्नुपर्छ, आफ्नो घरबाट निस्केका फोहोर जथाभावी फाल्ने, सेफ्टी ट्यांकी सिधै ढलमा मिसाउने गर्नुहुन्न, त्यस्तो गर्नेलाई स्थानीय सरकार सञ्चालन ऐन अनुसार कारबाही हुन्छ ।’
उहाँले बायोग्यास प्लान्टको निर्माण फोहोर कम गर्ने राम्रो उपाय भएकाले सो प्रविधि उपयोग गर्न पनि वडावासीलाई सोही अवसरमा अनुरोध गर्नुभयो ।
वडाको समन्वय, इथाचाको चोलिंचा कृषि सहकारी संस्था लिमिटेड र नेपाल स्वच्छ वातावरण सिर्जना केन्द्रको प्राविधिक सहयोगमा भएको सो सरसफाइमा स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
सहभागीहरुले ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्वको ब्रम्हायणी मन्दिर परिसरदेखि इथाचा जाने सडक, इथाचादेखि चुनदेवी जाने सडक र त्यहाँबाट दुमला ढोकाको सडक तथा वस्तीमा सफाइ गरेका थिए ।
कार्यक्रममा वडा सदस्यहरुसँगै विभिन्न समाज, टीम, समूहका प्रतिनिधीको सहभागिता रहेको थियो । कार्यक्रममा आयोजक सहकारी संस्थाका अध्यक्ष नकूल प्रजापतिले सरसफाइ सभ्यताको सूचक भएको बताउँदै सफाइको काम व्यक्तिबाटै हुनु जरुरी रहेको बताउनुभयो ।
स्थानीय टंक कट्टेलले सरसफाइमा बहाना गर्न नहुने, सबै एकजुट भएर सफाइ अभियानमा सरिक हुनुपर्ने बताउनुभयो ।