वास मिडिया फोरमको सार्वजनिकीकरण, वासका मुद्दा अब मिडियामा स्थापित हुन्छ : सहभागी

 1442 पटक हेरिएको

काठमाडौ : खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा क्रियाशील पत्रकारहरुको संस्था वास मिडिया फोरमको विधिवत सार्वजनिकररण गरिएको छ । ‘संघीयतामा खानेपानी तथा सरसफाइ र गन्तव्यः दिगो विकास लक्ष्य ६’ र फोरमको सार्वजनिकीकरण कार्यक्रम एकै साथ आयोजना गरिएको हो ।


सोमबार काठमाडौमा गरिएको कार्यक्रममा खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रका मुद्दाहरु अब मूलधारको सञ्चारमाध्यममा समेत स्थान पाउने सहभागीले बताए । कार्यक्रममा सरसफाइ विज्ञ नमस्तेलाल श्रेष्ठले वास मिडिया फोरम गठन भएकोमा खुसी व्यक्त गर्दै यसले अरुको सहयोगमा भन्दा पनि स्वतः स्फूर्त रुपमा आफैले कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताउनु भयो ।

‘फोरमको औचित्य र भावी कार्यदिशा’ शीर्षकमा वास मिडिया फोरमले गरेको प्रस्तुतीकरण पछिको खुला सत्रमा भाग लिदै एसएनभी नेपालकी बिसीसी एडभाइजर हरिशोभा गुरुङले सञ्चारमाध्यम मार्फत वासको पहुँच नपुगेको समुदायलाई कसरी पु-याउने भन्नेमा मन्थन गर्नुपर्ने बताउनुभयो ।


यस्तै पूर्व विज्ञान प्रविधि तथा वातावरणमन्त्री गणेश शाहले वास मिडिया फोरम पहिले नै गठन हुनुपर्ने र ढिलै भएपनि गठन भएकोमा शुभकामना व्यक्त गर्दै भावी दिनमा वास क्षेत्रमा कार्यरत संघसंस्थासँग सहकार्य गरेर काम गर्न सक्नुपर्ने बताउनुभयो ।


कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक रमाकान्त दुवाडीले मिडिया, सरकार र विकास साझेदार एवं दातृ निकायको हातेमालोबाट राष्ट्रले सरसफाइमा राखेको लक्ष्य पूरा गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।


यस्तै खानेपानी मन्त्रालयका सहसचिव मनोज घिमिरेले खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा मिडियाले खेल्दै आएको भूमिकाको प्रसंसा गर्दै भावी दिनमा सँगसँगै लैजान सकेमा सरकारले राखेको दिगो विकास ६ को लक्ष्य हासिल गर्न सहायक सिद्ध हुने बताउनुभयो ।

यस्तै वाटर एड नेपालका Senior Policy and Advocacy Officer  गोबिन्द श्रेष्ठले दिगो विकास लक्ष्य ६ ले राखेका लक्ष्यहरु हासिल गर्न आर्थिक चुनौती रहेको बताउनुभयो । उहाँले कार्यक्रम र बजेटको बीचमा ठूलो खाडल रहेको भन्दै यदि सरकारको खानेपानी, सरसफाइ र स्वच्छतामा राखेको दिगो विकास लक्ष्य समयमा हासिल गर्नु छ भने बजेट बृद्धि गर्नुपर्ने र स्रोतको खोजी गर्नुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा खानेपानी मन्त्री बीना मगरले वास मिडिया फोरमको विधिवत दर्ता भएको खबरले आफू हर्षित भएको र आफू भावी दिनमा सहकार्य गर्न तयार रहेकोब बताउनुभयो । ‘म वास मिडिया फोरमलाई शुभकामना दिन चाहन्छु कि मन्त्रालय फोरम सँग पूर्ण रुपमा सहकार्य गर्न तयार छु । मैले मन्त्रालयको एउटा अभिन्न अंगको रुपमा लिएको छु ।’ उहाँले भन्नुभयो ।


कार्यक्रममा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) का अध्यक्ष राजेन्द्र अर्यालले खानेपानी मन्त्रालयले बनाईने नीति नियम, निर्देशिका, कार्यविधि आदिमा फेडवासनको तर्फबाट रचनात्मक सुझाव प्रदान गरेपनि खासै महत्व नदिएको बताउनुभयो ।


कार्यक्रममा खानपानी तथा ढल व्यवस्थापन विभागको तर्फबाट सिनियर डिभिज्नल इञ्जिनियर पूर्ण प्रसाद उपाध्यायले ‘संघीयतामा खानेपानी र सरसफाइ तथा दिगो विकास लक्ष्य’ शीर्षकको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने वास मिडिया फोरमको तर्फबाट उपाध्यक्ष नवीन पल्लवले ‘वास मिडिया फोरमको औचित्य र भावी कार्यदिशा’ शीर्षकको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।


कार्यक्रमको समापन गर्दै फोरमकी अध्यक्ष मनिषाकुमारी अवस्थीले वास मिडिया फोरम वास सँग सरोकार राख्ने सरकारी, गैरसरकारी तथा नीजिक्षेत्रसँग सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो ।
उहाँले खानेपानी तथा सरसफाइ सम्बन्धी राष्ट्रले लिएको लक्ष्य पूरा गर्न वास मिडिया फोरमले सहयोगी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार