बालकुमारी माविमा महिनावारीको झण्डा सबैभन्दा उच्च

 2452 पटक हेरिएको

ललितपुर : ललितपुरको बालकुमारी माध्यमिक विद्यालयले प्रथम सरसफाइ सम्मेलन गरेको छ । ललितपुर महानगरपालिकाको वडा नं. – २७ सुनकोठीमा रहेको विद्यालयले सरसफाइ सम्बन्धी विभिन्न कार्यक्रमको आयोजना गरी पहिलो पटक सात झण्डे पूर्ण सरसफाइ सम्मेलन गरेको हो ।


सम्मेलनमा विद्यालयले प्रस्तुत गरेको सात झण्डे पूर्ण सरसफाइ कार्यक्रमको प्रगति अनुसार महिनावारीको झण्डा सबैभन्दा उच्च देखिएको छ । बालकुमार माध्यमिक विद्यालयले शिक्षक शिक्षिकालाई फोकल पर्सन तथा हरेक झण्डाको क्याप्टेन तथा उप क्याप्टेन चयन गरी सात झण्डे पूर्ण सरसफाइ कार्यक्रम कार्यान्वयन गर्दै आएको छ ।


विद्यालय मार्फत खानेपानी, सरसफाइ तथा स्वच्छता अभियानलाई अझ प्रभावकारी तरिकाले अघि बढाउन पूर्ण सरसफाइ अभियानको प्रवद्र्वनका लागि सात झण्डे पद्धति तर्जुमा गरिएको हो ।


महिनावारीको झण्डा सबैभन्दा उच्च


सात झण्डा मध्ये तेस्रो झण्डा अर्थात रातो झण्डाले महिनावारी र स्वच्छता सम्बन्धी धारणाको प्रतिनिधित्व गर्दछ । विद्यालयको सात झण्डा मध्ये महिनावारीको झण्डाले ७७ प्रतिशत अंक प्राप्त गरेको छ । यो सात झण्डामध्ये सबैभन्दा उत्कृष्ट रहेको छ ।


महिनावारीको झण्डा सबैभन्दा उच्च हुनुभएको अर्थ महिनावारी स्वच्छतामा ध्यान दिएको, सुरक्षित प्याडको प्रयोग गर्ने गरेको र महिनावारी भएको समयमा पनि किशोरीहरु विद्यालयमा नियमित उपस्थित भएको तथा स्यानिटरी प्याडको प्रयोग गर्ने र प्रयोग गरेपछि विसर्जन गर्ने विधिका विषयमा समेत छात्राहरुलाई थाहा भएको भन्ने बुझाउँछ ।


यस्तै दोस्रो झण्डाले हात धुने र व्यक्तिगत सरसफाइको प्रतिनिधित्व गर्दछ भने चौथो झण्डाले खानेपानी तथा सरसफाइमा समानतालाई जनाउँछ । बालकुमारी माध्यमिक विद्यालयको यी दुवै स्थिति समान ५२/५२ रहेको छ ।


पहिलो झण्डाले चर्पीको प्रयोगलाई जनाउँदछ । जसको प्रगति ३० प्रतिशत मात्र छ, यसले चर्पी पर्याप्त नरहेको, छात्रछात्राका लागि छुट्टाछ्ट्टै चर्पी नभएको वा छात्रामैत्री शौचालय नभएको भन्ने देखाउँछ ।


यस्तै पाँचौं झण्डाले सुरक्षित पानी र छैटौंले सुरक्षित खानालाई संकेत गर्दछ । बालकुमारी माध्यमिक विद्यालयमो ती दुवै झण्डाको प्रगति क्रमशः ६७ प्रतिशत र ३१ प्रतिशत देखाएको छ ।


सात झण्डा मध्ये सातौं झण्डाले सफा वातावरणलाई जनाउँछ । यो झण्डाको प्रगति ५१ प्रतिशत रहेको छ । यसको तथ्याङ्कले विद्यालयको वातावरण अझ सफा बनाउनुपर्ने, विद्यालय वरपरको वातावरण हरियाली हुनुपर्ने र सातौ झण्डाका फोकल शिक्षक तथा क्याप्टेन र उपक्याप्टेन लगायत विद्यार्थीहरुले पर्याप्त डस्टबिनको व्यवस्था, जैविक र अजैविक फोहोर फाल्नका लागि छुट्टाछुट्टै भाँडाको व्यवस्था गर्नुपर्ने आवश्यक बोध गराउँछ ।

के हो सात झण्डे पूर्ण सरसफाइ कार्यक्रम ?


विद्यालय मार्फत स्वच्छता अभियानलाई अझ प्रभावकारी रूपले अघि बढाउन पूर्ण सरसफाइ अभियानको प्रवद्र्वनका लागि सात झण्डे पूर्ण सरसफाइ पद्धति तर्जुमा गरिएको हो । विश्व स्वास्थ्य संगठन नेपाल च्याप्टरद्वारा तयार पारिएको यो अवधारणाले खानेपानी तथा सरसफाइ सम्बन्धी दिगो विकासको लक्ष्य प्राप्तिका लागि बढी ध्यान केन्द्रित गरेको छ ।

यस अवधारणा अन्तर्गत सात वटा मुख्य सूचक र प्रत्येक सूचकका पाँच—पाँच वटा सहायक सूचक रहेका छन् । यी सबै सूचकहरू पूरा गर्ने विद्यालयलाई पूर्ण सरसफाइ सम्बन्धी सात झण्डे पद्धति अपनाएको विद्यालय घोषणा गरिन्छ ।


यस पद्धति अन्तर्गत निम्न सूचकहरूको निर्धारण गरिएको छ ।


– प्रत्येक बालबालिकाले चर्पी प्रयोग गरिसकेपछि र खाना खानु अघि दुवै हात साबुन पानीले उचित तरिकाले धोएको हुनुपर्ने ।


– प्रत्येक बालबालिकाले सफा चर्पी प्रयोग गरेको हुनुपर्ने ।


– प्रत्येक बालबालिका विद्यालयद्वारा आपूर्ति गरिएको सुरक्षित पानी पिउन सक्षम भएको हुनुपर्ने ।


– विद्यालयमा महिनावारी भएको समयमा स्वच्छता र सरसफाइ सम्बन्धी सुविधा उपलब्ध भएको हुनुपर्ने ।


– प्रत्येक विद्यालयमा सम्पूर्ण छात्रछात्राका लागि, उनीहरूको शारीरिक र सामाजिक अवस्था जे जस्तो भए पनि समान रूपमा खानेपानी तथा सरसफाइ सम्बन्धी सुविधा उपलब्ध भएको हुनुपर्ने ।


– प्रत्येक बालबालिकाले स्वच्छ र सुरक्षित खानेकुरा पाएको हुनुपर्ने ।


– विद्यालयको समग्र वातावरण स्वच्छ भएको हुनु पर्ने ।


सम्मेलन आयोजनाका लागि रोटरी क्लवले आर्थिक सहयोग, स्प्लस नेपालले प्राविधिक सहयोग तथा ललितपुर महानगरपालिकाको २७ नं. वडा कार्यालय र बालकुमारी माध्यमिक विद्यालयले समन्वय गरेको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार